उम्मेदवारका ५ एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेतको क्षेत्र नं. १ बाट टेकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । ५४ वर्षीय सिंह २०४८ सालदेखि राजनीतिमा सक्रिय छन् ।

लामो समय नेपाली कांग्रेसको राजनीति गरेका उनी केही समयअघि मात्रै परित्याग गरेर रास्वपा प्रवेश गरेका हुन् । ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले विभिन्न पाँचवटा विषयमा केन्द्रित योजना र प्राथमिकता के छन् भनेर सोधका छौँ । प्रस्तुत छ, सिंहको जवाफ जस्ताको त्यस्तैः


 पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

पहिलो कुरा त सडक र यातायात नै हो । सडक र यातायात सबै ठाउँमा पुगेको खण्डमा नागरिकले आफ्ना दैनिक काम सहज रूपमा गर्न सक्छन् । त्यसैले मैले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको छु । राजमार्गका सडक निर्माण, राजमार्गसँग जोडिएका सहायक सडक निर्माण, ग्रामीण सडक निर्माण, कृषि सडक निर्माणलाई मैले प्राथमिकतामा राखेको छु ।

अझैपनि शैक्षिक पूर्वाधार तथा स्वास्थ्य पूर्वाधार पर्याप्त मात्रामा छैनन् । मेरो योजनामा स्वास्थ्य र शैक्षिक पूर्वाधारलाई पनि प्राथमिकतामा राखेको छु । प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापनाको योजना मैले निर्माण गरेको छु । स्वास्थ्य पूर्वाधारअन्तर्गत भवन निर्माणको कामलाई प्राथमिकतामा राखेको छु । ठूलो उद्योग निर्माणका कामलाई पनि अघि बढाउनेछु । सम्भावित रूपमा अध्ययन गर्न सकिने बहूवर्षीय आयोजनालाई अघि बढाउनेछु । जनताको आवश्यकताका आधारमा अन्य पूर्वाधार निर्माणका काम पनि गर्नेछु । पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानहरूमा पनि पूर्वाधार निर्माणका काम गर्नेछु ।

 

 शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

पहिलो कुरा त शिक्षा नीति बन्नु पर्छ । २०२८ सालमा निर्माण भएको शिक्षा नीतिअनुरूप अघि बढ्दा शिक्षा क्षेत्र गुणस्तरीय हुन सकेको छैन । शिक्षामा हुने राजनीतिकरण बन्द गर्नेछु । क्षमताको भन्दा राजनीतिक पहुँचको आधारमा विद्यालय सञ्चालन गर्दा शिक्षा क्षेत्र नै धरासायी बनिरहेको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक तालिमको व्यवस्था पनि गर्नेछु । प्राविधिक शिक्षामा जोड, सिक्दै कमाउँदै कार्यक्रमलाई थप प्रभावकारी बनाउनेछु ।

स्वास्थ्य क्षेत्रमा ठूलो समस्या छ । औषधी उपलब्धतादेखि जनशक्ति व्यवस्थापनमा देखिएको समस्याको समाधान गर्नेछु । संघीयता आइसके पनि स्वास्थ्य क्षेत्र थप ओझेलमा परेको छ । जनशक्ति व्यवस्थापन गरेर यो क्षेत्रलाई प्रभावकारी बनाउने योजना रहेको छ । गाउँ–गाउँमा विशेषज्ञ सेवा सञ्चालन गर्ने, दिर्घ रोगीलाई सेवामा सहुलियत लगायतका कार्यक्रम कार्यान्वयन गर्नेछु ।

 

 रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

कृषि नै रोजगारीको पहिलो आधार हुनेछ । सिँचाइ सुविधा पु¥याउने, कृषक पाठशाला सञ्चालन गर्ने, अर्गानिक उत्पादनमा जोड दिएर कृषिबाट रोजगारी सिर्जना गर्नेगरी योजना बनाएको छु । युवालाई स्वरोजगार बनाउने तालिम सहितको अनुदानका कार्यक्रममा जोड दिने योजना रहेको छ । उद्योग स्थापना गरेर रोजगारी र आर्थिक अवसर सिर्जना गर्नेगरी योजना अघि बढाएको छु । महिला उद्यमशीलताका कार्यक्रम, युवा उद्यमशीलताका कार्यक्रमलाई प्राथमिकतामा राखेको छु । जडिबुटी प्रशोधन केन्द्रको स्थापना गरेर रोजगारी सिर्जना गर्नेतर्फ जोड दिनेछु ।

 

 सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

प्रशासनिक क्षेत्रबाट भष्ट्राचार न्यूनिकरणको योजना बनाएको छु । भष्ट्राचार न्यूनिकरण गर्न शून्य सहनशीलताको नीति अबलम्वन गरेको छु । निष्पक्ष रूपमा जनताका मुद्दामा रहेर काम गर्नेछु । सेवा प्रवाहमा सहजता ल्याउनेछु । नागरिकमूखि नीति, कार्यक्रम र बजेटमा जोड दिनेछु । जनताको जीवनस्तर वृद्धिका लागि विविध खालका सुशासनमैत्री काम गर्नेछु ।

 

 नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

स्वास्थ्य, स्वास्थ्य र रोजगारीको सरकारले ग्यारेन्टी गर्नुपर्दछ । नागरिकको सहजताका लागि सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ । राज्यले विपन्न लक्षित कार्यक्रमलाई छुट्टै प्याकेजको रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मितिः   १६ फाल्गुन २०८२, शनिबार १२:०४