कहिलेसम्म मिति सार्ने ?
पूर्वनिर्धारित कार्यतालिकाअनुसार भएको भए १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ को मंसिरमा भइसकेको हुनेथियो । तर त्यसको एक वर्ष बितिसक्दासम्म पनि हुन सकेको छैन । पहिलोपटक तोकिएको समयमा प्रतियोगिता हुन नसकेपछि नयाँ मिति तोकियो । त्यसमा पनि हुन सकेन । फेरि तोकियो र पनि भएन । चौथो पटक फागुन पहिलो साताको लागि मिति निर्धारण गरिएको खेलकुद प्रतियोगिता पनि स्थगित भएको छ । मन्त्रिपरिषद्को बैठकले अब प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि प्रतियोगिता आयोजना गर्नेगरी स्थगितको निर्णय गरेको हो । निर्वाचनपछि भनिए पनि अब कहिले हुन्छ भन्ने टुँगो पनि छैन । नयाँ मितिबारे सरकारले कुनै निर्णय पनि गरेको छैन ।
जेन–जी आन्दोलनपछि बनेको सरकारका खेलकुदमन्त्री बनेका बब्लु गुप्ताले गत कार्तिकमा हतारहतारमा १०औं राष्ट्रिय खेलकुदको मिति तोकेका थिए । चौथोपटक तोकिएको मिति मन्त्रिपरिषद्बाट स्वीकृत पनि भयो । समिति, उपसमिति पनि बने । तर, खेलकुदमन्त्री नै राजीनामा दिएर हिँडेपछि १०औं खेलकुद झनै अन्योलमा पुग्यो । निर्वाचन गराउन मन्त्री बनेका गुप्ता राजीनामा दिएर निर्वाचनमा होमिएका छन् । गुप्ताले राजीनामा दिएपछि युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीकै मातहत छ । राष्ट्रिय खेलकुद परिषद्को अध्यक्ष खेलकुद मन्त्री र संरक्षक प्रधानमन्त्री हुन्छन् । अहिले दुवै जिम्मेवारीमा प्रधानमन्त्री कार्की छिन् । बैठक लाइभ गरेर मिति तोकेको सरकारले तोकिएको समयमा गर्न नसकेको जानकारी दिन पनि मिति गुज्रिएपछिको एक साता लगायो । खेलकुद स्थगित भएको विषयमा अनौपचारिक रूपमा प्रदेशमार्फत खेलाडीलाई भने जानकारी गराइएको थियो । तर वर्षौंदेखि दशौँ राष्ट्रिय खेलकुदको प्रतिक्षामा रहेका खेलाडीहरू निराश बनेका छन् । यही प्रतियोगिताका लागि भनेर तयारीमा लागेका कैयौ खेलाडीहरू अहिले खेल नै छोडेर विदेशीएका पनि छन् । नेपाली खेलकुद क्षेत्रका लागि यो ठूलो विडम्बना हो ।
नवौं राष्ट्रिय खेलकुदको समापनमा १०औं खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैत स¥यो । आर्थिक अभाव देखाउँदै त्यस मितिमा पनि भएन । फेरि जेठमा गर्ने निर्णय गरेको परिषद्ले त्यसमा पनि गर्न सकेन । त्यसपछि यही फागुन पहिलो साताको मिति तोके पनि प्रतियोगिता हुन सकेन । एकातिर समयमै तयारीमा ध्यान नदिनु र त्यसमाथि राजनीतिक स्वार्थका कारण पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन । कतिसम्म भने १०औं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक समिति गठन, सचिवालय उद्घाटन, लोगो र मस्कट सार्वजनिक भइसक्दा पनि प्रतियोगिता सञ्चालन हुन नसक्नुले खेलकुद क्षेत्रप्रति राज्यको लापरबाही पनि देखाउँछ ।
प्रकाशित मितिः १४ फाल्गुन २०८२, बिहीबार १४:५१
सम्पादकीय ।