उम्मेदवारका ५ एजेन्डा

सुर्खेतको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले विष्णुबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । कांग्रेसको जिल्ला कार्यसमितिका उपसभापति खड्का पहिलो पटक संसदीय चुनाव लड्दैछन् । २०४८ देखि २०७९ सम्म पाँच पटक यही क्षेत्रबाट उनका दाजु पूर्णबहादुर खड्काले चुनाव जितेका थिए । विष्णुलाई दाजुको यो विरासत जोगाउनुपर्ने चुनौती छ ।

पूर्वी सुर्खेतमा मतदाता भेट्न व्यस्त खड्कालाई ‘उम्मेदवारका पाँच एजेन्डा’ श्रृंखलाअन्तर्गत हामीले विभिन्न पाँचवटा विषयमा केन्द्रित योजना र प्राथमिकता के छन् भनेर सोधेका छौँ । प्रस्तुत छ, उनको जवाफ जस्ताको त्यस्तैः


 

 

 पूर्वाधार विकासमा तपाईंको एजेन्डा र प्राथमिकता के–के हुन् ?

मैले सडक निर्माणलाई प्राथमिकतामा राखेको छु । जनताको आवश्यकता बुझेर सडक निर्माणको योजना अघि बढाउनेछु । गंगटे–आरनटुँडा–ढाँडखेत–मटेला–थल जाजरकोट सडक कालोपत्रे प्रक्रियालाई अघि बढाउने योजना बनाएको छु । अवलचिङ–भर्जेनी–पाम्का–मेहेली–टिमुरकोट–भुतचोक–झुप्रा सडक स्तरोन्नति गर्नुपर्नेछ ।

मदन भण्डारी राजमार्ग वरपरका सहायक सडकलाई क्रमशः कालोपत्रे गर्ने योजना बनाएको छु । निर्माणाधीन दशरथपुर–डाँडागाँउ–जितेजुवा–ढाडखेत तथा जहरे–शिवनगर–गुमी–पातिहाल्ना–चोल्पा–राकम सडक कालोपत्रेसहित सम्पन्न गर्ने योजना बनाएको छु । छिञ्चु–घारीवन–वडाखोला –काल्चे सडकलाई कालोपत्रेसहित सम्पन्न गर्ने योजना कार्यान्वयन गर्नेछु । अन्य निर्माण भइरहेका सडक सम्पन्न गर्ने तथा केही सडकको स्तरोन्नतिको काम पनि अघि बढाउने छु ।

आवश्यकताका आधारमा अन्य पूर्वाधारहरू निर्माण गरिनेछ । मोटरेवल पुल निर्माणको काम अघि बढाइनेछ । भेरी करिडोर सिँचाइ तथा नदी नियन्त्रण आयोजनालाई सम्पन्न गर्नेगरी योजना निर्माण गरेको छु । खानेपानी आयोजनाहरूको निर्माणको काम थालनी गर्नेछु । विद्युतीकरणको कामसमेत प्राथमिकतामा राखेको छु । ती कामहरूलाई समेत अघि बढाइनेछ ।

 

 शिक्षा र स्वास्थ्यको क्षेत्रमा के–के गर्नुहुन्छ ?

प्रारम्भिक बालविकास एवम् विद्यालय शिक्षामा विपन्न, दलित, निम्न क्षमता भएका र सिमान्तकृत समुदायका बालबालिकाको पहुँचलाई सहज र सुनिश्चित गर्नेगरी योजना निर्माण गरेको छु । निर्वाचान क्षेत्रभित्रका विद्यालयहरूमा प्राविधिक एवम् सीपयुक्त विषयको विस्तार गरिने, आवश्यकता अनुसार नयाँ विद्यालयहरूको स्थापना, सञ्चालनमा रहेका विद्यालयहरूमा विषय, तह र कार्यक्रमहरू विस्तार गरिनेछ । विद्यालयहरूलाई जनशक्ति व्यवस्थापन, शिक्षण सामग्रीहरूको उपलब्धता, शिक्षणविधिहरूमा नवप्रवर्तन, शिक्षण सिकाइ क्रियाकलापको प्रभावकारिता आदीका दृष्टीले समृद्ध पार्नेगरी योजना निर्माण गरेको छु ।

सिम्ता गाउँपालिकाको आधारभूत अस्पताललाई साधनस्रोत सम्पन्न गर्नेगरी योजना बनाएको छु । चिङ्गाड गाउँपालिकामा एक आधाभूत अस्पताल निर्माण गरिनेछ । लेकवेशी नगरपालिकाको निर्माणाधीन नगरअस्पताल सम्पन्न तथा सञ्चालन गर्नेगरी योजना निर्माण गरेको छु । भेरीगंगा नगरपालिकामा निर्माणाधीन प्रदेश सरुवा रोग अस्पताल भवन निर्माण सम्पन्न गरी अस्पताललाई सञ्चालनमा ल्याइनेछ । गुर्भाकोट नगरपालिकाको सञ्चालनमा रहेको ५० शैड्ढयाको अस्पताललाई एक सय शैड्ढयामा विस्तार गरिनेछ । सबै पालिकाअन्तर्गतका अस्पताल र स्वास्थ्य चौकीहरूलाई पूर्वाधार, जनशक्ति, प्रयोगशाला र औषधिहरूको उपलब्धताका दृष्टीले सम्पन्न बनाउने योजना निर्माण गरेको छु ।

 

 रोजगारी र आर्थिक अवसर सिर्जनाका लागि कस्ता योजना बनाउनुभएको छ ?

कृषि तथा पशुपालनको विकास तथा विस्तारको योजना बनाएको छु, जसले रोजगारीका अवसर सिर्जना गर्नेछ । पर्यटन व्यवसायको विकास र प्रवद्र्धन, उद्योग व्यवसायको स्थापना, उद्यमशीलताको विकास, वाणिज्य तथा बैंकिङ् क्षेत्रको विकास, सहकारीको विकास, ऊर्जा क्षेत्रको विकास तथा विस्तारका माध्यमबाट आर्थिक समृद्धिको योजना बनाएको छु । कृषि तथा पशुपालन, पर्यटन, ऊर्जा, उद्योग वाणिज्य तथा बैंकिङ् उद्यमशीलता आदि क्षेत्रको विकास र विस्तारका माध्यमबाट रोजगारीको अवसरको सिर्जना गरिनेछ । यसको माध्यमबाट युवाहरूको विदेश पलायनलाई रोक्ने पर्यत्न गर्न लागिएको छ । ठूला आयोजनाहरूको अध्ययन गरी सञ्चालनका लागि वातावरण निर्माण गर्नेगरी योजना बनाएको छु ।

 

 सार्वजनिक सेवा सुधार र सुशासनका लागि तपाईंको भूमिका के रहन्छ ?

भष्ट्राचार निमूल पार्ने अभियानको थालनी गर्नेछु । शून्य सहनशीलताको नीति लिएको छु । ‘म भष्ट्राचार गर्दिन, कसैलाई पनि भष्ट्राचार गर्न दिँदैन’ भन्ने नीति अबलम्वन गर्नेछु । सुशासन कायम गर्न सूचनाको हकलाई बढीभन्दा बढी कार्यान्वयन गर्नेछु । संविधानमा उल्लेख भएको मौलिक हक कार्यान्वयन गर्नमा मेरो ध्यान केन्द्रित हुनेछ ।

 

 नागरिक जीवनस्तर सुधारका लागि राज्यले गर्नैपर्ने मुख्य कामहरू के–के हुन् ?

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यमशीलता तथा रोजगारीका क्षेत्रमा काम गर्नुपर्छ । उद्यमशीलताको विकास गरेर स्थानीयस्तरमै रोजगारीको ग्यारेन्टी दिनुपर्छ । नागरिकको हितमा काम गर्नेगरी नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुप¥यो । अनि मात्र समृद्ध देशको कल्पना गर्न सकिन्छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०८२, बिहीबार १४:५३