बहुप्रतिक्षित आयोजना

बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन आयोजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सकिएसँगै परीक्षण पनि सफल भइसकेको छ । बाँकेको कोहलपुरस्थित सबस्टेशनदेखि वीरेन्द्रनगरको सुब्बाकुनामा निर्माण गरिएको सबस्टेशनमा डबल सर्किट प्रसारण लाइनबाट १३२ किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरेर परीक्षण गरिएको हो । अब यसलाई नियमित प्रसारणमा ल्याइनेछ । यो आयोजनालाई कर्णाली प्रदेशमा विद्युत पहुँच विस्तारका लागि अर्को महङ्खवपूर्ण खुड्किलो मानिएको छ । वर्षौंदेखि ३३ केभी प्रसारण लाइनले सुर्खेत–दैलेखलगायत क्षेत्रको विद्युत मागलाई धान्न सकिरहेको थिएन । जसका कारण अनियमित लोडसेडिङको मार खेप्नुपर्ने बाध्यता थियो । अब भने यो समस्या समाधान हुने अपेक्षा आम उपभोक्ताको छ ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका हुँदै प्रसारण लाइन विस्तार गरिएको छ । सुर्खेतमा भेरीगंगा नगरपालिकाको विभिन्न क्षेत्र हुँदै वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ११ सुब्बाकुनामा यो आयोजनाको सबस्टेशन निर्माण गरिएको छ । आयोजना निर्माणको सुरुवात २०७७ देखि गरिएको थियो । भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टले ७० करोड रूपैयाँमा आयोजनाको ठेक्का पाएको थियो । निर्माण सुरु गरिए पनि विवादका कारण लामो समय आयोजना अवरुद्ध हुन पुग्यो । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रुख कटानदेखि बाँकेको बाँनियाभार र वीरेन्द्रनगरको सुब्बाकुना क्षेत्रमा जग्गा विवाद निम्तिएको थियो । विवाद समाधान गर्न समय लाग्यो । जसका कारण आयोजना निर्माणमा पनि ढिला हुन पुग्यो । पटक–पटक म्याद थप गरेर भएपनि आयोजना निर्माण कार्य सकिएको छ । २०८० चैतमा सकिएको आयोजनाको पहिलो म्याद २०८१ पुस १६ सम्म थपिएको थियो । तर त्यो अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि दोस्रो थप गरेर २०८२ माघ मसान्तसम्म पु¥याइएको हो । माघको दोस्रो सातासम्ममा निर्माण कार्य सकिएको छ । अब प्रसारण लाइन सञ्चालनमा आउन मात्रै बाँकी छ ।

आयोजनाले सुर्खेतसहित कर्णाली प्रदेशमा देखिएको विद्युत समस्या समाधानमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । अहिले सञ्चालनमा रहेको ३३ केभी प्रसारण लाइनले यहाँको मागअनुसार विद्युत आपूर्ति हुन सकिरहेको थिएन । जसले गर्दा नागरिकले अनियमित लोडसेडिङको मार खेप्नु परिरहेको थियो । १३२ केभी सञ्चालनमा आएपछि त्यो समस्या समाधान हुने अपेक्षा नागरिकको छ । नागरिकहरूले दैनिक उपयोगका लागि मात्रै नभएर यहाँको औद्योगिक तथा व्यावसायिक विकासका लागि समेत विस्तारित विद्युत लाइनले योगदान दिन सक्नेछ ।

प्रकाशित मितिः   २१ माघ २०८२, बुधबार ०९:०४