निर्वाचन भयरहित बनाउन सुझाव

सुर्खेत: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई भयरहित बनाउन सरोकारवालाहरूले सुझाव दिएका छन् । इन्सेक कर्णाली प्रदेशले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक कार्यक्रमका सहभागीहरूले भयरहित निर्वाचनले नै लोकतन्त्रलाई स्थायित्व दिनसक्ने बताएका हुन् ।

निर्वाचनको समयमा उम्मेदवारदेखि पर्यवेक्षकसम्मका गतिविधिलाई पनि निगरानी गर्नुपर्नेमा सहभागीहरूको जोड थियो । नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले यसपटक पर्यवेक्षकहरूलाई पनि निगरानी गर्न आवश्यक रहेको बताए । उनले पर्यवेक्षकका नाममा कार्यकर्ता ओसार्ने विगतमा भएको हुँदा यसपटक उनीहरूलाई पनि निगरानी गर्नुपर्ने उल्लेख गरे । नेपाली कम्युनिष्ट पार्टीका केदार कँडेलले मतदाता र उम्मेदवारहरूको सुरक्षामा ख्याल गर्न आग्रह गरे । उनले अझैपनि मतदातालाई दवाव र प्रभाव पार्ने गतिविधि भइरहने हुँदा त्यस्ता गतिविधिहरू रोक्नुपर्नेमा जोड दिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक बेदप्रसाद ढकालले भदौ २४ पछि कैदीवन्दीहरू फरार भएका र हतियारहरू पनि गायव भएको हुँदा निर्वाचनमा असुरक्षा हुने हो कि भन्ने चिन्ता व्यक्त गरे । यस्तै भ्रमपूर्ण सूचना राखेर सामाजिक सञ्जालको दुरूपयोग बढ्ने क्रम पनि भएको हुँदा त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने उनको माग छ ।

सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले सबैले आचारसंहिता पालना गरेमा निर्वाचन सफल हुने बताए । उनले सुर्खेतमा एक हजार आठ सय ४० निर्वाचन प्रहरी भर्ना गरी प्रशिक्षण दिन थालिएको जानकारी दिँदै मौन अवधिमा संवेदनशील बन्न र आचारसंहिता पालनाको कामलाई प्रभावकारी बनाउन प्रहरी क्रियाशील रहेको उल्लेख गरे ।

राष्ट्रिय मानवअधिकार आयोग सुर्खेतका मानवअधिकार अधिकृत राजेन्द्र न्यौपानेले यसपटक निर्वाचन पर्यवेक्षकहरूलाई पनि निगरानी गर्ने तयारी गरिएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन समितिका सहसंयोजक डिलबहादुर कार्कीले अहिलेसम्म सुर्खेतमा आचारसंहिता उल्लंघन भएको लिखित उजुरी नपरेको बताए । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला अदालत सुर्खेतका न्यायाधिश दिपक ढकाललगायतले निर्वाचन अवधिभर आचारसंहिता पूर्ण पालना गर्न सुझाव दिए ।

प्रकाशित मितिः   २१ माघ २०८२, बुधबार ०९:०४