‘प्रदेशमाथि संघीय सरकारको हस्तक्षेप’

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अहिलेको संघीय सरकारले प्रदेश सरकारमाथि नै आक्रमण गरेको आरोप लगाएको छ । कर्णाली प्रदेशसभाको आठौँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले केन्द्रको हस्तक्षेपका कारण प्रदेशसभा र प्रदेश सरकारले बनाएका कानुनहरू प्रयोगविहीन बनाउने प्रयास भएको बताए ।
जेन–जी आन्दोलनका नाममा भदौ २३ गते अघि सारिएका माग बाहिर देखाउने आवरण मात्र भएको पुष्टि भएको कँडेलको भनाइ छ । उनले भदौ २४ गतेको आन्दोलन संविधान, प्रदेशसभा र संघीय व्यवस्थामाथि नै आक्रमण गर्ने उद्देश्यसहित गरिएको दाबी गर्दै अहिले संविधान र लोकतन्त्र गम्भीर रूपमा घायल अवस्थामा पुगेको बताए । उनले भने, ‘संघीय, प्रदेश र स्थानीय तहले कर्णालीमा सकारात्मक सन्देश दिने गरी काम गरिरहेको अवस्थामा केन्द्रबाट प्रदेश सरकारलाई कमजोर बनाउने नियत देखिएको छ ।’ यद्यपि, संविधान रहुञ्जेल संघीयता कसैले खारेज गर्न नसक्ने जिकिर कँडेलको छ । ‘नागरिक सरकारले पहिलो आक्रमण प्रदेशसभाको विधायिकामाथि ग¥यो,’ उनले भने ।
अब राजनीतिक दलहरू दुई कित्तामा विभाजन हुनुपर्ने अवस्था आएको समेत उनले बताए । ‘एक कित्ता देश बनाउने हो, अर्को देश समाप्त गर्ने हो’ उनले भने, ‘नयाँ भन्ने दलहरू विकासका होइन, विध्वंसका प्रतिक बनेका छन् ।’ उनले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै लोकतन्त्र बचाउन दलहरूबीच सहकार्यको विकल्प नरहेको बताए । नयाँ दल भनिँदै आएका शक्तिहरूप्रति पनि प्रश्न उठाए । ‘पुराना दललाई नयाँ भन्दैमा नयाँ हुँदैन’ उनले भने, ‘जनताले पत्याउने आधार कार्य र नीतिले निर्धारण गर्छ ।’
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनको विषयमा बोल्दै मुख्यमन्त्री कँडेलले निर्वाचन हुने कुरामा आशंका व्यक्त गरे । कर्णालीमा मौसमी प्रतिकूलता रहेको उल्लेख गर्दै उनले थोरै मानिस जम्मा भएर होहल्ला गरेमा निर्वाचन अधिकृतले कसरी काम गर्छन् भन्ने प्रश्न उठाए । उनले कार्यान्वयन गर्ने संरचना पुरानै भएकाले त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । देश र संविधान जोगाउने यो गम्भीर समय भएको भन्दै मुख्यमन्त्री कँडेलले देशको अवस्था सोचेजस्तो सहज नरहेको बताए । उनले अन्त्यमा सबै पक्षले कार्यक्षमता र योग्यता बढाउँदै जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः २२ माघ २०८२, बिहीबार ०५:०१
साझा बिसौनी ।