गाउँ–गाउँमा चुनावी अभियान

 

सुर्खेत: आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक वृत्त तातिएको छ । दलहरू चुनाव केन्द्रित भएका छन् । निर्वाचन लक्षित गतिविधिमा सक्रियता बढ्न थालेको छ । दलहरू गाउँ–टोलमा केन्द्रित भएका छन् । राजनीतिक दलहरू संगठन विस्तार, पार्टी प्रवेश तथा विभिन्न प्रशिक्षणमूलक गतिविधिमा होमिएका हुन् ।

सुर्खेतमा पनि राजनीतिक दलहरू चुनावी अभियान सुरु गरेका छन् । आफ्ना पार्टीका उम्मेदवार जिताउन दलहरूले गाउँ केन्द्रित अभियान सुरु गरेका हुन् । सुर्खेतमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले भने चुनावी अभियानलाई तीव्रता दिएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर यी दुई दलका उम्मेदवारहरू पार्टीका अगुवा कार्यकर्ता र जनतासँग भेटघाट कार्यक्रम लिएर गाउँ–गाउँमा पुगिरहेका छन् । नेकपाले पुस १३ गते नै दुवै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गरेको थियो । जसअन्तर्गत क्षेत्र नम्बर १ मा जीतबहादुर राना र क्षेत्र नम्बर २ मा झकबहादुर मल्ल ‘सुदीप’ उम्मेदवार छन् ।

यसैगरी नेकपा एमालेले पुस १९ गते दुवै क्षेत्रको उम्मेदवार टुँगो लगाएको थियो । एमालेबाट क्षेत्र नम्बर १ मा ध्रुव शाही र क्षेत्र नम्बर २ मा कुलमणि देवकोटा उम्मेदवार छन् । यी दुई दलहरूले एकल उम्मेदवार छानेसँगै चुनावी अभियानमा सरिक हुन सहज भएको हो । एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले निर्वाचन केन्द्रित अभियान सञ्चालन भइरहेको बताए । उनका अनुसार बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा बैठक सम्पन्न भइसकेका छन् । बैठकहरूले वडा तथा गाउँबस्तीहरूमा पार्टी तथा निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने र एमालेलाई विस्तार र सुदृढ गर्दै आम मतदातालाई विकास र समृद्धिको लागि एमालेलाई जिताउनका लागि मतदान गर्न आह्वान गर्ने निर्णय गरेको उनले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकवेशी नगरपालिकामा बैठकको तयारी भइरहेको छ । माघ ४ गतेसम्म जिल्लाका सबै पालिकाको बैठक बसिसक्ने उनले जानकारी दिए ।

नेपाली कांग्रेस भने आन्तरिक विवादमा फसेको छ । कांग्रेसले मंसिर २३ मा नै उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको थियो । क्षेत्र नम्बर १ बाट कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाममा एकल टुँगो लागे पनि क्षेत्र नम्बर २ बाट ६ जनाको नाम केन्द्रमा सिफारिस गरिएको थियो ।

उम्मेदवार सिफारिसको काम सबैभन्दा अगाडि गरे पनि कांग्रेसले अहिलेसम्म उम्मेदवारको टुँगो लगाउन सकेको छैन । क्षेत्र नम्बर १ मा एकल सिफारिस भएपनि खड्का भने यतिबेला कांग्रेसको आन्तरिक झमेलाका कारण काठमाडौंमै व्यस्त छन् ।

पार्टी विभाजन भएसँगै कांग्रेस थप समस्यामा परेको छ । त्यसैले चुनावी तयारीमा पनि पछि परेको छ । कांग्रेसले अहिलेसम्म चुनाव लक्षित गतिविधि सञ्चालन गर्न सकेको छैन । सुर्खेतमा एमाले, नेकपाजस्तै अन्य राजनीतिक दलहरू पनि चुनावमा केन्द्रित भएका छन् ।

 

 

थानी चुनाव नलड्ने

नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनी सुर्खेतको क्षेत्र नम्बर–२ बाट उम्मेदवार सिफारिस भएका थिए । तर बिहीवार एक प्रेस विज्ञप्तिमार्फत थानीले उम्मेदवार नहुने घोषणा गरेका हुन् ।

उनले स्वास्थ्यको कारण देखाउँदै चुनाव नलड्ने घोषणा गरेका छन् । करिब दुई महिनादेखि खुट्टामा नसासम्बन्धी समस्याका कारण सहज रूपमा हिँड्डूल गर्न समेत नसकेको थानीको विज्ञप्तिमा उल्लेख छ ।

साथै उनले भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि देश अप्रत्याशित राजनीतिक घटनाक्रम र अन्योलताबाट गुज्रिरहेको टिप्पणी पनि गरेका छन् । ‘यो अवस्थामा फागुनमा निर्वाचन सम्पन्न गर्नु नै मुलुकको स्थायित्व र संविधानलाई लिगमा ल्याउन ठूलो निकास हुन्छ,’ उनले भनेका छन् । गत चुनावमा थानी सुर्खेत–२ बाटै निर्वाचित भएका थिए ।

प्रकाशित मितिः   २ माघ २०८२, शुक्रबार ०९:१३