कर्णालीमा प्रहरी अस्पताल

नागरिकलाई सुरक्षा दिने प्रहरीले स्वास्थ्य सेवा पनि उपलब्ध गराउने भएको छ । कर्णाली प्रदेश प्रहरी अस्पतालले सर्वसाधारणको उपचार गर्नेगरी सेवा सञ्चालनमा ल्याएको हो । १५ शै®याबाट सेवा सुरु गरिएको छ । आगामी दिनमा यसलाई अझ विस्तार गरिनेछ । सामान्यताया प्रहरी अस्पतालबाट बहालवाला प्रहरी कर्मचारी, आश्रित प्रहरी परिवार, भूपू प्रहरी, अमर तथा असक्त प्रहरी परिवारलाई सेवा दिने गरिन्छ । तर त्यसका साथसाथै नियमानुसार सरकारी अस्पतालहरू सरहका न्यूनतम् शुल्कमा आम सर्वसाधारण नागरिकले पनि प्रहरी अस्पतालबाट सेवा लिन पाउनेछन् । यसले कर्णाली प्रदेशमा स्वास्थ्य सेवालाई थप विस्तार गरेको छ ।

२०७४ सालमा स्वास्थ्य उपचार केन्द्रको रूपमा स्थापना भएको अस्पतालले अब आम नागरिकलाई पनि समेट्ने गरेर सेवा विस्तार गरेको छ । २०७८ सालमा नै ५१ जना प्राविधिक कर्मचारीहरूको दरबन्दी कायम गरिएको थियो । दरबन्दी कायम गरिएको भएपनि आवश्यक बजेट नहुँदा अस्पतालले सेवा दिन सकिरहेको थिएन । चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन भएसँगै अस्पतालले सेवा सञ्चालन गरेको हो । कर्णाली प्रदेश प्रहरी अस्पतालले बुधवारबाट सेवा सुरु गरेको छ । अन्तरंग सेवा, प्रयोगशाला ल्याब, फार्मेसी, माइनर अपरेसन, जनरल ओपिडी, हाडजोर्नी तथा नशारोग ओपिडी, आँखा रोग ओपिडी सेवा सुरु गरेको हो । अस्पतालबाट बहालवाला प्रहरी कर्मचारी, आश्रित प्रहरी परिवार, भूपू प्रहरी, अमर तथा असक्त प्रहरी परिवारलाई सेवा दिनेछ । त्यसका साथसाथै नियमानुसार सरकारी अस्पतालहरू सरहका न्यूनतम् शुल्कमा आम सर्वसाधारण नागरिकले अस्पतालबाट सेवा लिन पाउनेछन् । प्रदेशका दशवटै जिल्लाका नागरिकले सेवा लिनेगरी सेवाक्षेत्र विस्तार गरिएको हो ।

सुरुवातमा अस्पतालले जनशक्तिका साथसाथै उपकरणहरूको अभाव झेलेको थियो । आवश्यक बजेटको समेत व्यवस्थापन हुन नसक्दा अस्पतालले सेवा सुधार र विस्तार गर्न सकेको थिएन । तर प्रदेश सरकारको सहयोग पाएपछि अहिले अस्पतालले आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले केही महिनाअघि एक्सरे मेसिन, भिडियो एक्सरे, मेसिन ल्याबका उपकरणहरू माइनर अपरेसनका लागि चाहिने स्वास्थ्य उपकरणहरू प्रदेश आपूर्ति केन्द्रमार्फत उपलब्ध गराउन पहल गरेको थियो । त्यसपछि सञ्चालनमा ल्याइएको अस्पतालको बुधवार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अस्पतालको उद्घाटन गरेका छन् । तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शैयाको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको हो । आम बिरामीहरूको उपचारका साथसाथै विपद्को समयमा प्रहरी अस्पतालको भूमिका अझ महङ्खवपूर्ण हुने अपेक्षा गरिएको छ । यद्यपि, त्यसका लागि अस्पतालको भौतिक पूर्वाधारमा सुधार र विस्तार गर्नुपर्ने देखिन्छ । त्यसका साथसाथै जनशक्तिको व्यवस्थापनमा पनि उत्तिकै जरुरी छ ।

प्रकाशित मितिः   २ माघ २०८२, शुक्रबार ०९:१२