मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
सुर्खेत: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुर्खेत क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना रहेको भवनमा शुक्रवार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको छ । न्यायपरिषद्को सिफारिसमा निर्वाचन आयोगले सुर्खेत जिल्ला अदालतका न्यायाधीश दिपक ढकाललाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । कार्यालय उद्घाटनको अवसरमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन पश्चात् आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाए । आवश्यक संरचना जनशक्ति परिचालन गरेर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
मुख्य निर्वाचन अधिकृत दिपक ढकालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताए । ढकालले निर्वाचन कार्यतालिका अनुसार नै मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका प्रक्रियाहरू पारदर्शी ढङ्गले अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेत जिल्लामा कुल दुई लाख ४८ हजार नौ सय ४३ मतदातामध्ये एक लाख २७ हजार ५४ जना महिला रहेका छन् भने पुरुष मतदाता एक लाख २१ हजार आठ सय ८९ जना छन् । यस आधारमा सुर्खेतमा महिला मतदाताको हिस्सा करिब ५०.५ प्रतिशत पुगेको छ ।


साझा बिसौनी ।