भयावह बन्दै नसर्ने रोग

अस्वस्थकर खाना मुख्य कारक

सुर्खेत: कर्णालीमा नसर्ने रोगको पहिचान हुनै मुश्किल हुन्छ । भौगोलिक विकटता तथा आर्थिक अवस्था कमजोर हुँदा रोगले ग्रष्त हुँदा पनि उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता छ । ग्रामीण भेगका नागरिक अझैपनि स्वास्थ्य सेवाबाट वञ्चित भइरहेका छन् । खानपानकै कारण नसर्ने रोगको प्रकोप बढिरहेको विभिन्न तथ्यांकहरूले देखाउने गरेका छन् । धूम्रपान, मदिरा सेवन, असन्तुलित खाना एवम् शारीरिक व्यायामजस्ता कारणबाट रोगको प्रकोप बढिरहेको छ ।

अन्य प्रदेशको तुलनामा कर्णालीमा महिलाहरूले बढी मात्रामा सुर्तिजन्य पदार्थको सेवन गर्ने गरेको पाइएको छ । कर्णालीमा ४४ प्रतिशत महिलाहरूले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन् भने ११ प्रतिशत पुरुषले सेवन गर्ने गरेको पाइएको छ । मदिराजन्य पदार्थ सेवन गर्नेमा मधेश प्रदेशपछि कर्णालीका महिलाहरू दोस्रोमा रहेका छन् । ३४ प्रतिशत महिलाहरूले मदिरा सेवन गर्ने गरेको पाइएको छ भने पुरुषले तीन प्रतिशतले सेवन गर्नेगरेका छन् । महिलाले सुर्तिजन्य पदार्थ सेवन गर्दा जन्मिने बच्चाहरूको स्वास्थ्यमा पनि प्रत्यक्ष असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा कुल मृत्युमध्ये ६६ प्रतिशत नसर्ने रोगका कारण हुनेगरेको विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेशका अधिकृत प्रदिप अधिकारीले बताए । उनका अनुसार मुटु तथा रक्तनलीसम्बन्धी रोगहरू ३० प्रतिशत, क्यान्सर नौ प्रतिशत, सरुवारोग मातृस्वास्थ्य, (सुत्केरी अघि वा पछि) २५ प्रतिशत, श्वासप्रश्वाससम्बन्धी दिर्घ रोगहरू १० प्रतिशत, मधुमेह चार प्रतिशत अन्य नसर्ने रोगहरू १३ प्रतिशतजस्ता कारणबाट मृत्यु हुनेगरेको छ ।

नसर्ने रोगको असर दिन प्रतिदिन बढिराखेकामा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । कुल मृत्युमध्ये ६६ प्रतिशत नसर्ने रोगकै कारणबाट भएको भन्दै उनीहरूले यसलाई नियन्त्रण गर्न सबै पक्ष लाग्नुपर्ने बताएका हुन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा नसर्ने रोग रोगथाम तथा नियन्त्रणमा नागरिक समाजको भूमिका विषयक छलफलका सहभागीले सो आग्रह गर्दै नसर्ने रोगले जनस्वास्थमा गम्भीर असर पु¥याइरहेको बताएका छन् । मानवीय क्रियाकलापले नसर्ने रोगको जोखिम बढेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योती बानियाँले बताए । धूमपान, मदिरा सेवन, असन्तुलित खाना एवम् शारीरिक व्यायामजस्ता कारणबाट उत्पन्न हुने मधुमेह, मुटुरोग, क्यान्सरजस्ता रोगले अकालमा धेरैको ज्यान जाने गरेको जनाइएको छ ।

सन् २०३० सम्म नेपालमा हुने मृत्युमध्ये ८६ प्रतिशत नसर्ने रोगका कारण हुने पनि प्रक्षेपण गरिएको छ । गरिबी, अशिक्षा, स्वास्थ्य सेवामा गरिब तथा विपन्न जनताको कम पहुँच आदिका कारण नसर्ने रोग लाग्नेबित्तिकै उपचार सेवा लिन समस्या भइरहेको बानीयाले बताए । सुर्तीजन्य पदार्थको प्रयोग, शारीरिक निष्क्रियता, मदिराको हानिकारक प्रयोग, अस्वस्थ आहार र वातावरण प्रर्दुषण प्रमुख कारक बनिरहेको छ ।

 

‘विषादीको बढ्दो प्रयोगले घातक रोग’

तरकारीमा विषादी प्रयोगले घातक रोग लाग्ने गरेको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले बताए । रासायनिक मलको प्रयोगलाई घटाउँदै लैजानुपर्नेमा जोड दिँदै मन्त्री शाहले खाद्य सुरक्षाका कार्यक्रममा जोड दिएको जानकारी दिएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शाहले नसर्ने रोग नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए । ‘रासायनिक मल पर्याप्त छ, चाहिएको बेला खोजेर ल्याउन सकिन्छ तर प्राङ्गारिकको अभाव छ’ मन्त्री शाहले भने, ‘अर्गानिक मल उत्पादन गर्ने र विस्तारै रासायनिक मल कम गर्दै जाने सरकारको योजना छ ।’ तरकारीमा बढ्दो विषादीका कारण नसर्ने रोग बढेको उनले जनाए ।

प्रकाशित मितिः   ३ माघ २०८२, शनिबार ०५:०५