निर्माणमा ढिलासुस्ती

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती अब नयाँ रहेन । सडक होस् या भवन निर्माणका काम वर्षौंसम्म अल्झिएका थुप्रै उदाहरण छन् । कहिले निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाही त कहिले जिम्मेवारी निकायकै गैरजिम्मेवारीपनका कारण आधा भइसकेका काम पनि बिचमै अलपत्र अवस्थामा छन् । वीरेन्द्रनगरमा निर्माणाधीन दुई सरकारी भवनको निर्माण कार्य पनि कछुवा गतिमा देखिएको छ । पटक–पटक म्याद थप गर्दा पनि काम सकिएको छैन । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश आयुर्वेद औषधालय र कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको हो । निर्माण थालिएको लामो समयसम्म पनि उक्त भवन निर्माणले पूर्णता पाउन सकेको छैन ।

पटक–पटक तोकिएको मिति सकिए पनि सम्झौताको म्याद थप गर्दै काम भइरहेको छ । तर कामको प्रगति भने न्यून छ । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलासुस्ती भइरहेको देखिन्छ । अहिले निर्माणाधीन भवनको नाम परिवर्तन गरेर काम अघि बढाइएको पाइएको छ । दुईवटै सरकारी कार्यालयको नाम परिवर्तन गरिएको छ । प्रदेश आयुर्वेद औषधालयको नाम १५ शैय्या आयुर्वेद अस्पताल राखिएको छ । यस्तै, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवनको नाम परिवर्तन गरेर मेडिकल स्ट्रोर सुर्खेत राखिएको छ । दुई वटै भवन निर्माणको म्याद थप गरेर काम अघि बढाइएको छ । प्रदेश आयुर्वेद औषधालयको भवन निर्माण अवधि तीन पटक थपियो । निर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । तीनपटक गरेर पछिल्लो समय २०८२ माघसम्म म्याद थपिएको छ । सुरुको सम्झौताअनुसार २०८० चैत २१ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म भवनको दुई तलाको ढलान मात्र सकिएको छ । अब एक तला ढलान र फिनिसिङको काम बाँकी छ । भौतिक प्रगति ४० प्रतिशत भएको छ । १५ शै®याबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको वर्षाैं बितिसक्दा पनि निर्माणको काम सकिएको छैन ।

सुर्खेत मेडिकल स्ट्रोरको भवन निर्माण कार्य पनि अधुरै छ । सम्झौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपरस्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसारको अवधिमा काम नसकिएपछि पटक–पटक म्याद भइरहेको छ । पछिल्लो पटक २०८२ साउनसम्म म्याद थपिएको छ । अहिलेसम्म पनि काम सकिएको छैन । सम्झौता भएको लामोसमयसम्म पनि निर्माणले पूर्णता पाएको छैन । यसरी भवन निर्माणमा हुने लापरबाही र ढिलाइले पूर्वाधार विकासको गति पनि सुस्त भएको छ ।

प्रकाशित मितिः   २४ मंसिर २०८२, बुधबार ०५:०३