सुर्खेतबाट खड्का र थानी सिफारिस

सुर्खेत: नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सुर्खेतबाट पुनः पूर्णबहादुर खड्का र हृदयराम थानीलाई सिफारिस गरेको छ । सुर्खेतको क्षेत्र नं. १ बाट कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ भने क्षेत्र नं. २ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य थानीसहित पाँचजनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. १ बाट खड्काको नाम सर्वसम्मत सिफारिसमा परेको हो । उनी गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनको क्षेत्रमा खड्कालाई चुनौती दिने कांग्रेसभित्र अर्को नेता छैन् । समानुपातिकतर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ । नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस गरिएको हो ।

त्यसैगरी क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ नेता थानीसहित ६ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय कार्यसमिति बैठकले थानीसहित उपेन्द्र थापा, नारायण कोइराला, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

त्यस्तै समानुपातिकतर्फ पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । जसमा गंगा नेपाली बस्याल, पार्वती गिरी, धना विष्ट, भिम शाही नेपाली र भगे कामी रहेका छन् ।

प्रकाशित मितिः   २४ मंसिर २०८२, बुधबार ०५:०१