बालिका शिक्षा सुधारमा जोड

सुर्खेत: बालिका शिक्षा सुधारमा जोड दिइएको छ । सरोकारवालाहरूले सरकारको नीति तथा कार्यक्रम र बजेट वृद्धि गरेर बालिका शिक्षामा सुधार गर्नुपर्ने बताएका छन् । एनसीई नेपालले मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला तथा बालबालिका सुरक्षा तथा समावेशी शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।
कर्णालीका बालिकाहरूको शिक्षामा विशेष जोड दिने उद्देश्यले ‘रणनीति २०८१’ निर्माण गरिएको छ । त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कार्यक्रममा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले बालिकाहरूमा पनि विशेष बालिकाहरूलाई विशेष शिक्षा दिन जरुरी रहेको बताइन् । आवश्यक नीति निर्माण गरेर उनीहरूका समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ । विपन्न परिवारका बालिका, अपाङ्गता भएका बालिका र हिंसामा परेका बालिकाको शिक्षा वृद्धिमा जोड दिनुपर्ने खड्काले जनाइन् ।
शिक्षाका लागि राष्ट्रिय अभियानका महासचिव टिकाराम आचार्यले भइरहेका शिक्षाका संरचनालाई सुधार गरेर सबैको पहुँचयुक्त शिक्षामा जोड दिनुपर्ने बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको भन्दै उनले सरकारले निर्माण गर्ने बजेट, नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षा अभिवृद्धिमा जोड दिनुपर्ने जनाए । माया सापकोटाले बालविवाह न्यूनिकरण गर्नका लागि पनि बालिका शिक्षामा जोड दिनुपर्ने बताइन् । उनले बालिकाहरूले बीचमै पढाइ छोड्ने गरेको भन्दै उनले सिकाइ निरन्तरतामा जोड दिनुपर्ने सुझाव दिइन् ।
कार्यक्रमका सहभागीहरूले स्थानीय सरकार बढी उत्तरदायी हुनेगरी योजना कार्यान्वयनमा जोड दिएका थिए । समान्तकृत, लोपोन्मुख क्षेत्रका बालिकाहरूलाई अक्षय कोष स्थापना गरी शिक्षाको पहुँचमा ल्याउन उनीहरूको सुझाव थियो ।
प्रकाशित मितिः २३ मंसिर २०८२, मंगलवार २१:४७
साझा बिसौनी ।