हिंसा न्यूनीकरण योजना
कर्णाली प्रदेशमा महिलाहरु घरेलु हिंसाको सिकार हुने गरेका घटना धेरै भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । एउटा अध्ययनले प्रत्येक १० मध्ये ६ जना महिला घरमा असुरक्षित छन् र तिनीहरु घरेलु हिंसा र मानसिक प्रताडना आफ्नै घरमा सहन बाध्य रहेको देखिएको छ । विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको हो । कर्णालीका अधिकांश हिंसापीडित आफन्तको घरमा आश्रय लिइरहेका छन् । हिंसापीडितहरु सबैभन्दा बढी आफन्तबाटै थप हिंसामा पर्ने गरेका समाचार आइरहेकै हुन्छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार बर्सेनि रुपमा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको देखिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा आठ सय ७५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा आठ सय ८३, आर्थिक वर्ष २०७९/०८० मा आठ सय ५८, आव २०८०/०८१ मा आठ सय ८० र आव २०८१/०८२ मा आठ सय ७६ वटा घरेलु हिंसाका घटना दर्ता थिए । चालु वर्षको हालसम्म १६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । पछिल्लो समय महिलामाथि हुने हिंसा झन् झन् बढ्दै गएको प्रहरीको तथ्यांक छ । यही भयावह अवस्थाको अन्त्य गर्न कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न विशेष योजना निर्माण गरेको छ । कानुन नै निर्माण गरी प्रतिफलमा आधारित योजना निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हिंसापीडितका लागि सुरक्षित आवास निर्माण गरिने भएको छ । लैङ्गिक हिंसामा परेका महिला र किशोरीलाई सुरक्षित रुपमा राख्न ‘पुनस्र्थापना केन्द्र’ निर्माण गर्न लागिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर उक्त योजना निर्माण गरेको हो । लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार संरक्षण र पुनस्र्थापनाका लागि समुदायको सहभागितामा प्रदेशस्तरमा दीर्घकालीन पुनस्र्थापना केन्द्र बनाउन लागिएको हो ।
कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न निर्देशिका स्वीकृत गरेको छ । असोज २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका–२०८२ स्वीकृत गरेको हो । यसअघि विभिन्न कार्यक्रममा सरोकारवालाले ऐन नै निर्माण गरेर लैङ्गिक हिंसा न्यूनीकरण गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा सरकारले निर्देशिका जारी गरेको हो । यो वर्ष पनि लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्थानीय सरकार र विभिन्न संघसंस्थाको समन्वयमा ती कार्यक्रम कार्यान्वयन गर्ने योजना निर्माण गरिएको छ । यसले लैंगिक हिंसा न्यूनीकरणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मितिः २३ मंसिर २०८२, मंगलवार १०:०९
सम्पादकीय ।