वैदेशिक रोजगारमा हुने ठगीबाट जोगाउन प्रतिबद्धता
सुर्खेत: वैदेशिक रोजगारीको नाममा हुने ठगीबाट नागरिकलाई जोगाउन जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका प्रहरी इकाईहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । वीरेन्द्रनगर नगरपालिका रोजगार सेवा केन्द्र सुर्खेतले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी प्रतिनिधिहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
वैदेशिक रोजगारीको मुद्दा प्रत्यक्षरूपमा प्रहरीको क्षेत्राधिकार नभएपनि सचेतनाका माध्यमबाट नागरिकसम्म पुग्न सकिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक दिपक मगरातीले बताए । उनले दैनिक रूपमा नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्ने प्रहरीले सचेतनाका माध्यमबाट सुरक्षित वैदेशिक रोजगारसम्बन्धी विषयमा सहयोग गर्ने बताएका हुन् ।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले वैदेशिक रोजगारमा हुने ठगीका मुद्दाहरू मेलमिलापका माध्यमबाट जिल्ला प्रशासनले हेर्न सक्ने भएकोले नागरिकलाई वैदेशिक रोजगार विभाग जान नपर्ने बताए । उनले जुनसुकै ठगीका मुद्दा पनि जिल्ला प्रशासनमार्फत विभागमा पठाउन सकिने जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष टिकाराम शर्माले वैदेशिक रोजगारीमा जानुभन्दा पहिले हरेक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा गएर सहि सूचना लिएर मात्रै जानुपर्नेमा जोड दिए । सामी कार्यक्रम कर्णाली प्रदेश व्यवस्थापक कमल रोकायले सामी कार्यक्रम तिनै तहका सरकारको समन्वयमा कार्यान्वयन भएको र वैदेशिक रोजगारको विषय मात्रै नभइ कानुनी परामर्श, सीपसँग सम्बन्धित जानकारी, वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्शसमेत सामी कार्यक्रम अन्तर्रगत गरिने गरेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा २०८१ फागुन ४ गते विधिवत रूपमा उद्घाटन गरी आप्रवासी स्रोत केन्द्र सहायता कक्ष सञ्चालन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाका अनुसार हालसम्म आप्रवासी स्रोत केन्द्र सहायता कक्षबाट पाँच हजारभन्दा बढीले सूचना परामर्श लिएको छन् । नौ वटा ठगी, हराएको तथा मृत्युको मुद्दा सहजीकरण भएको र ५० भन्दा बढी युवाहरूलाई सीपसँग सम्बन्धित जानकारी दिइ आवश्यक सहजीकरण गरिएकोे जानकारी दिए ।
नेपाल सरकारको सामी कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत हरेक स्थानीय तहले कार्यान्वयन गर्दै आएका छन् । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा रहेन आप्रवासी स्रोत केन्द्र सहायता कक्षबाट राहदानी बनाउने नागरिक तथा अन्य नागरिकले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना र परामर्श, कानुनी सहायता तथा सीपसँग सम्बन्धित जानकारी प्राप्त गर्न सक्छन् ।
प्रकाशित मितिः २३ मंसिर २०८२, मंगलवार १०:०७
साझा बिसौनी ।