सुल्झियो विवाद

सुर्खेतको ऐतिहासिक एवम् पुरातात्विक सम्पदा हो, काँक्रेविहार । नेपालकै पहिलो संरक्षित वन पनि हो । तर संरक्षणमा ध्यान नदिँदा चोरी–तस्करी हुने गरेको छ । संरक्षणकै लागि भनेर पर्खाल लगाउने योजना अघि बढाइएको थियो । तर सम्पन्न भइसकेको छैन । विवादका कारण अल्झिएको योजना अब फेरि अघि बढ्दैछ । म्याद थप गरेर काँक्रेविहार क्षेत्रको पर्खाल निर्माणको काम अघि बढाउन लागिएको छ । अहिलेसम्म पर्खाल निर्माणको ४५ प्रतिशत काम सकिएको छ । आधाभन्दा बढी काम बाँकी छ । विविध कारणले पर्खाल निर्माणको काममा ढिलाइ भइरहेको थियो । अब भने अघि बढाइने भएको हो । पहिलो चरणमा २०७९ कार्तिक १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर बीचमै विवाद उत्पन्न भएर अदालतले काम रोकेपछि निर्माणको काम अघि बढेको थिएन । त्यसयता एकपटक म्याद थप गरेर काम अघि बढाइएको थियो ।

पछिल्लो पटक आर्थिक वर्ष २०८०/०८१ देखि २०८१/०८२ सम्म एक वर्षका लागि म्याद थपिएको थियो । अहिले पुनः एक वर्षका लागि आयोजनाको म्याद थप गर्न लागिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । २०८३ असारसम्म म्याद थप गर्न लागिएको हो । २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माणको काम अघि नबढाउन भनेको थियो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई ५/७ मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको भन्दै अदालतमा रिट निवेदन दायर भएको थियो । त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन । वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेश दिएसँगै गतवर्षबाट काम अघि बढाइएको हो ।

काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ । वन अधिकृत दासका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपतकालीन द्वार बन्ने भएको छ । अहिलेसम्म आठ सय १९ वटा पिल्लर निर्माण भएका छन् । जम्मा १५ सय ६६ वटा पिल्लर निर्माण हुनेछन् । वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको काँक्रेविहार वन नेपालकै पहिलो संरक्षित वन हो । सरकारद्वारा जारी राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५.५ हेक्टर उल्लेख गरिएको छ । उक्त क्षेत्रको संरक्षणका लागि कम्पाउन्डिङ (पर्खाल) निर्माण गर्न लागिएको छ ।

प्रकाशित मितिः   २२ मंसिर २०८२, सोमबार १५:०७