कछुवा गतिमा सरकारी भवन निर्माण

सुर्खेत: वीरेन्द्रनगरमा निर्माणाधीन दुई सरकारी भवनको निर्माण कार्य कछुवा गतिमा भइरहेको छ । पटक–पटक म्याद थपगर्दा पनि काम सकिएको छैन । वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश आयुर्वेद औषधालय र कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको हो ।

निर्माण थालिएको लामो समयसम्म पनि उक्त भवन निर्माणले पूर्णता पाउन सकेको छैन । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलासुस्ती भइरहेको छ । पटक–पटक तोकिएको मिति सकिएसँगै म्याद थप गर्दै काम भइरहेको हो । कामको प्रगति भने न्यून छ । अहिले निर्माणाधीन भवनको नाम परिवर्तन गरेर भवन निर्माणको काम अघि बढाइएको हो । दुईवटै सरकारी कार्यालयको नाम परिवर्तन गरिएको छ । प्रदेश आयुर्वेद औषधालयको नाम १५ शैड्ढया आयुर्वेद अस्पताल राखिएको छ ।

यस्तै, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवनको नाम परिवर्तन गरेर मेडिकल स्ट्रोर सुर्खेत राखिएको छ । दुई वटै भवन निर्माणको म्याद थप गरेर काम अघि बढाइएको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामकृष्ण आचार्यका अनुसार पटक–पटक म्याद थप गर्दा पनि काम सकिएको छैन । अहिले ताकेता दिएर काम तीव्र गतिमा अघि बढाउन भनिएको छ । निर्माण कम्पनीको लापरबाहीले नै काम ढिला भइरहेको जनाइएको छ ।

प्रदेश आयुर्वेद औषधालयको भवन निर्माण अवधि तीन पटक थपियो । निर्माण कार्य २०७८ असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपरस्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । संघीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो । तीन पटक गरेर पछिल्लो समय २०८२ माघसम्म म्याद थपिएको छ । सुरुको सम्झौताअनुसार २०८० चैत २१ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म भवनको दुई तलाको ढलान मात्र सकिएको छ । अब एक तला ढलान र फिनिसिङको काम बाँकी छ । भौतिक प्रगति ४० प्रतिशत भएको छ । १५ शैड्ढयाबाट सेवा दिनेगरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको वर्षाैं बितिसक्दा पनि निर्माणको काम सकिएको छैन ।

यस्तै, सुर्खेत मेडिकल स्ट्रोरको पनि म्याद थप गरेर काम अघि बढाइएको छ । उक्त भवन निर्माण कार्य पनि अधुरै छ । सम्झौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपरस्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसारको अवधिमा काम नसकिएपछि पटक–पटक म्याद भइरहेको छ । पछिल्लो पटक २०८२ साउनसम्म म्याद थपिएको छ । अहिलेसम्म पनि काम सकिएको छैन । सम्झौता भएको लामोसमयसम्म पनि निर्माणले पूर्णता पाएको छैन ।

यसैगरी जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण भएको छ । चालु आर्थिक वर्षमा भवन निर्माण सकिएको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय सुर्खेतले जनाएको छ । २०७८ असार २८ गतेदेखि भवन निर्माणको काम थालिएको थियो । २०७९ पुस २८ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकोमा त्यसयता पटक–पटक म्याद थपिएको थियो । २०८२ असोजमा भवन निर्माणको काम भएको छ । अहिले जनस्वास्थ्य प्रयोगशालाले पुरानै भवनबाट सेवा दिइरहेको छ । दैनिक बिरामी चेकजाँच, दशवटै जिल्लाका प्रयोगशालाको गुणस्तर मापनलगायतका काम गरिरहेको छ । प्रयोगशालाले निजी प्रयोगशालालाई समेत लाइसेन्स वितरणका लागि सहजीकरण गर्ने गरेको छ । विशेष गरेर एचआईभी, मलेरिया र टिबी रोगको ल्याव परीक्षण र आवश्यक पृष्ठपोषण दिने काम गरिएको छ । जनस्वास्थ्य प्रयोगशालाको कामलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार र जनशक्तिको आवश्यक व्यवस्थापन गर्न लागिएको छ ।

प्रकाशित मितिः   २३ मंसिर २०८२, मंगलवार १०:०१