विद्यालय समायोजन

पछिल्लो समय बसाइसराइँ बढ्दो छ । विशेष गरेर ग्रामीण बस्तिहरूबाट मानिसहरू शहरी क्षेत्रमा सरिरहेका छन् । जसले गर्दा गाउँमा जनसंख्या कम हुँदै गएको छ । जनसंख्या कम हुँदा विद्यार्थी संख्या पनि घट्दो छ । त्यसमाथि बालबालिका पढाउनकै लागि भएपनि अभिभावकहरु शहरी क्षेत्रमा बसोबास गर्न थालेका छन् । गाउँका विद्यार्थीले शहरी क्षेत्रका विद्यालय भरीभराउ हुँदा गाउँका विद्यालय रित्तिदै गएका छन् । जसले गर्दा पछिल्लो समय सामुदायिक विद्यालयहरु समायोजनको लहर चलेको छ ।

कतिपय विद्यालयहरूको अवस्था कस्तोसम्म भइसकेको छ भने पुर्वी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ३ मा रहेको नवज्योति प्राथमिक विद्यालयमा मुस्कीलले ५÷६ जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर आठ जना विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी संख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको नेपाल राष्ट्रिय आधारभूत विद्यालय औलपराजुलमा समायोजन गरिएको छ । विद्यालय समायोजन गरिएसँगै शिक्षकको पनि दरबन्दी मिलान गरिएको छ । नवज्योति मात्रै होइन विद्यार्थी संख्याका आधारमा नगरपालिकाले एउटा विद्यालयलाई समायोजन गरेको छ भने पाँच वटा विद्यालयलाई तह घटुवा गरेको छ । विद्यार्थी संख्या बर्सेनि घट्दो अवस्थामा रहेका विद्यालयलाई समायोजन तथा दरबन्दी मिलान गरिएको हो । विद्यार्थी संख्या निकै कम भएको र बढ्ने सम्भावना नरहेका विद्यालयलाई समायोजन तथा दरबन्दी मिलान गर्ने नीति नगरपालिकाको रहेको छ । यसैगरी सुर्खेतकै चिङ्गाड गाउँपालिकाले पनि नौ वटा विद्यालयको तह घटुवा गरेको छ । विद्यार्थी संख्या कम भएका नौ वटा प्राथमिक विद्यालयको तह घटुवा गरिएको हो । तहगत रूपमा शिक्षक दरबन्दी नभएको र विद्यार्थी संख्या पनि न्यून भएका कारण तह घटाइएको छ । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले पनि विद्यालय समायोजनका लागि आवश्यक अध्ययन गरेको जनाएको छ भने लेकवेशी नगरपालिका सुर्खेतले पनि दरबन्दी मिलान तथा विद्यालय मर्जको योजना बनाएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पनि विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरेको छ ।

विद्यार्थी संख्या न्यून हुँदा स्थानीय तहले अहिले धमाधम विद्यालय समायोजन गर्न थालेका छन् । विशेष गरेर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । त्यसमाथि अभिभावकहरू निजी विद्यालयतिर आकर्षित भएपछि सामुदायिक विद्यालय रित्तिदै गएका छन् । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन वा बन्द गर्नुपर्ने अवस्थामा स्थानीय सरकार पुगेका छन् । जसले गर्दा पछिल्लो समय विद्यालय समायोजनको दर बढेको छ ।

प्रकाशित मितिः   १६ मंसिर २०८२, मंगलवार ०५:०३