वीरेन्द्रनगर सिटी हल: यो वर्ष दोस्रो चरणको काम हुँदै

सुर्खेत: यो वर्षदेखि वीरेन्द्रनगर सिटी हल (सभागृह) निर्माणको दोस्रो चरणको काम सुरु हुने भएको छ । गतवर्ष नयाँ ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । पुरानो ठेक्का रद्द गरिएपछि सिटी हल निर्माणको दोस्रो चरणको काम अघि बढाइएको हो । यो वर्ष सिट कुर्सी राख्ने काम गर्न लागिएको छ ।

गत वर्ष आर.आर कन्ट्रक्सन सुर्खेतसँग ठेक्का सम्झौता गरेर काम अघि बढाइएको भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख कमल दर्लामी मगरका अनुसार ६३ लाख १४ हजारमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणको कार्यक्रमअन्तर्गत सिट कुर्सी राख्ने काम हुनेछ । सात सय वटा सिट कुर्सी राखिने दर्लामी मगरले जानकारी दिए ।

सर्वोच्च अदालतले यसअघि ठेक्का पाएको निर्माण कम्पनीलाई कामको भुक्तानी दिन अन्तिरिम आदेश दिएसँगै नयाँ ठेक्का सम्झौताको बाटो खुलेको हो । २०८० चैत २० गते सम्झौता रद्द भएको निर्माण कम्पनीले गरेको कामको मूल्यांकनका आधारमा भुक्तानी दिन सर्वोच्चले भनेको थियो । ठेक्का रद्द र पुरानो कामको भुक्तानी दिएसँगै दोस्रो चरणमा सम्झौता गरेर काम अघि बढाइएको कार्यालयले जनाएको छ । यो वर्ष सात सयवटा कुर्सी राख्ने काम गरिनेछ ।

यसअघि २०७८ मा मजदुर पी.एस. जेभी सुर्खेतले दोस्रो चरणको कामका लागि चार करोडमा ठेक्का सम्झौता गरेको थियो । २०७९ असारसम्म निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको कम्पनीसँग ठेक्का रद्द गरिएको हो । सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले २०८० भदौमा ठेक्का तोडेको हो । सम्झौता रद्द हुनुअघि उक्त कम्पनीले ५५ प्रतिशत काम भने गरिसकेको छ । कम्पनीले करिब तीन करोड बराबरको काम गरिसकेको बताइएको छ । सिटी हल निर्माणअन्तर्गत ४५ प्रतिशत काम बाँकी छ । यो वर्ष मुख्य कामको रूपमा कुर्सी राख्ने काम गरिनेछ । अहिले सबै प्रक्रिया पूरा गरेर कुर्सी ल्याउने काम भइरहेको जनाइएको छ ।

पहिलो चरणको काम २३ करोड रूपैयाँको लागतमा सम्पन्न भएको कार्यालयले जनाएको छ । पहिलो चरणको काम सम्पन्न गरी भवन डिभिजन कार्यालय सुर्खेतले २०७७ फागुनमा वीरेन्द्रनगर नगरपालिकालाई सिटी हल हस्तान्तरण गरेको थियो । नगरपालिकाको मातहतमा आइसके पनि पालिकाले त्यसको संरक्षण र व्यवस्थापनमा चासो नदिएको पाइएको छ ।

एकातर्फ सिटी हल निर्माण सम्पन्न भएको छैन भने अर्कोतर्फ बनेका संरचना जीर्ण बन्दै गएका छन् । बैठक कक्ष र पर्खाल निर्माण, साउन्ड बक्स, बसाइ व्यवस्थापनलगायतका काम पूर्णरूपमा भएका छैनन् । सात सय ८० जना अट्ने क्षमताको सभाहल, एक सय ५० व्यक्ति अट्ने दुुई वटा बैठक कक्ष निर्माण भइसकेका छन् । सिटी हलको डेकुरेसनको काम बाँकी रहेको छ । सभाहल, बैठक कक्षभित्र साउन्डबक्स जोड्न बाँकी छ भने आवश्यक कुर्सी व्यवस्थापन गनुपर्नेछ । सबै खालका कार्यक्रम गर्नका लागि उपयुक्त सजावटको कामसमेत बाँकी छ । यो वषै सात सय वटा कुर्सी राखिनेछ ।

 

७५ लाखको संरचनामा क्षति

जेन–जी आन्दोलनका क्रममा गत २४ भदौमा सिटी हलमा पनि क्षति पुगेको छ । उक्त संरचना निर्माण गर्न ७५ लाख बजेट लाग्ने भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । सिटी हलका विभिन्न संरचना टुटेका छन् । अहिले क्षति भएका संरचनाको पुनःनिर्माणका लागि सरकारसँग बजेट माग गरिएको कार्यालय प्रमुख कमल दर्लामी मगरले बताएका छन् । सिसामा धेरै नै क्षति पुगेको छ । यो वर्ष सरकारसँग आवश्यक बजेट माग गरेर क्षति भएका संरचनाहरूको पुननिर्माण गर्न लागिएको उनले जानकारी दिए ।

यो वर्ष सात सय वटा कुर्सी राख्ने काम गरिनेछ भने आन्दोलनबाट क्षति पुगेको संरचनाको समेत पुननिर्माण गर्न लागिएको छ । पहिलो चरणको काम सम्पन्न भएको र यो वर्ष दोस्रो चरणअन्तर्गतका काम गरेर सीटी हललाई पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

प्रकाशित मितिः   १६ मंसिर २०८२, मंगलवार ०५:०५