जलविद्युतमा सहलगानी

कर्णाली प्रदेशमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना छ । तर त्यसको अहिलेसम्म सदुपयोग हुन सकेको छैन । जलविद्युत आयोजना सञ्चालनका लागि थुप्रैपटक प्रयास गरिएपनि सफलतामा पुगेको कमै छन् । केही आयोजना निर्माणका क्रममा छन् भने केही अध्ययनमै सीमित भएका छन् । पर्याप्त विद्युत उत्पादन हुन नसक्दा कर्णालीमा अहिले पनि थुप्रै गाउँबस्तीमा बिजुली पुगेको छैन । पछिल्लो समय भने सरकारले सह–लगानीमा जलविद्युत आयोजना निर्माण गर्ने नीति लिएको छ । प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रको सहलगानीमा जलविद्युत आयोजना निर्माण गर्ने नीति लिइएको हो । कर्णालीमा ठूला जलविद्युत आयोजना सञ्चालनमा छैनन् । लगानीमैत्री वातावरण नहुँदा कैयन् जलविद्युत आयोजना अध्ययनमै सीमित बनेका छन् ।

सह–लगानीमार्फत ठूला जलविद्युत आयोजना सञ्चालन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । जलविद्युत आयोजना निर्माणका लागि २० वटा मेगा प्रोजेक्टको छनोट गर्न लागिएको छ । प्रदेशको क्षेत्राधिकारभित्र पर्ने २० मेगावाटसम्मका जलविद्युत आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको छ । अध्ययनको आधारमा सह–लगानीमा आधारित रहेर आयोजना सञ्चालन गरिनेछ । सम्भाव्यता अध्ययन गर्नका लागि यो वर्ष ५० लाख बजेट विनियोजन गरिएको छ । धेरै आयोजना प्रि–फिजिविलिटी अध्ययनमै सीमित हुन थालेपछि मेगा प्रोजेक्टको रुपमा आयोजना सञ्चालन गर्न लागिएकोे छ । यसरी अध्ययन गरेर मात्र लगानीका लागि निजी क्षेत्रलाई आह्वान गर्न लागिएको हो । यस्तै, प्रदेश सरकारले स्थानीय समुदायमार्फत सञ्चालित ग्रामीण लघु जलविद्युत आयोजनाको पहिचान तथा अध्ययन गर्न लागेको छ । पहिचान तथा अध्ययन गरेर प्राथमिकताको आधारमा मर्मत सम्भार गरिने जनाइएको छ । बजेटको अभाव नहोस् र आयोजना अलपत्र नपरुन भनेर सम्भाव्यता अध्ययन गरेर २० वटा जलविद्युत आयोजना छनोट गरेर मेगा प्रोजेक्टको रूपमा सञ्चालन गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

यसअघि प्रदेश सरकारले अर्धजलासययूक्त जगदुल्ला जलविद्युत आयोजनामा शेयर लगानी गर्ने निर्णय गरिसकेको छ । अर्ध जलासययूक्त एक सय २० मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा ४१ करोड ४९ लाख ३० हजार तीन सय ६० प्रदेश सरकारले शेयर लगानी गर्ने निर्णय गरेको हो । आयोजना लगानी बढाउने उद्देश्यले प्रदेश सरकारले विभिन्न योजना निर्माण गर्न लागेको छ । डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका हुँदै बग्ने जगदुल्ला नदीमा निर्माण हुने आयोजनाबाट एक सय ६ मेगावाट विद्युत उत्पादन हुने जनाइएको छ । अब प्रदेश अन्य जलविद्युत आयोजनामा समेत लगानी गर्ने योजना बनाएको छ । जसलाई सह–लगानी रणनीतिअनुरुप कार्यान्वयनमा लगिने भएको छ ।

प्रकाशित मितिः   २ मंसिर २०८२, मंगलवार १२:२४