आयोजनामा अवरोध
भेरीगंगा नयाँ सहर आयोजनाले पूर्णता पाउन सकेको छैन । २०७३ देखि भेरी किनारमा आधुनिक सहर निर्माण योजनाको सुरुवात गरिएको थियो । सरकारले देशभर नै ४० आधुनिक सहर तथा व्यवस्थित बस्ती निर्माण गर्ने योजनाअनुसार भेरीगंगा उपत्यकालाई नयाँ सहरको रूपमा अगाडि सारेको थियो । प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रममा समेटिने नयाँ सहरको कामको प्रगतिका हिसाबले प्रभावकारीरूपमा अगाडि बढ्न भने सकेको थिएन । आर्थिक वर्ष २०८०÷०८१ देखि छुट्टै कार्यालय स्थापना गरेर काम सुरु गरिएको भएपनि कामले तीव्र गति पाएको छैन । त्यसमाथि यस वर्ष निर्माणको लागि प्रक्रियामा रहेका काम नै रोकिने भएका छन् । नयाँ ठेक्का सम्झौता नहुने भएका छन् ।
जेन–जी आन्दोलनपछि संघीय सरकारले कतिपय आयोजनाको बजेट कटौती र रोक्कासमेत गरिरहेको छ । जसमा भेरीगंगा नयाँ सहर आयोजना पनि परेको छ । अर्थ मन्त्रालयले बजेट रोक्का गरेका कारण नयाँ ठेक्का सम्झौता भएर काम अघि नबढ्ने भएका हुन् । तत्काल प्राथमिकतामा निर्वाचन गराउने र दायित्व सिर्जना भएका आयोजना अघि बढाउने भएकाले नयाँ ठेक्का नहुने परिपत्र मन्त्रालयले गरेको छ । यो वर्ष पाँच वटा आयोजना ठेक्का सम्झौताको तयारीमा रहेका थिए । भेरीगंगा नगरपालिकाको भवन, सडक निर्माणलगायतका पूर्वाधारका पाँच वटा योजना बन्न लागेका थिए । तीन÷तीन करोडमा ठेक्का सम्झौताको तयारी थालिएको आयोजनाले जनाएको छ । अब बजेट फुकुवा भएमा मात्र नयाँ ठेक्का आह्वान गरिने छ । यद्यपि, अघिल्ला वर्षहरूमा दायित्व सिर्जना भएका योजनाहरू भने निरन्तर रूपमा अघि बढाइने छ । गतवर्ष तीनवटा आयोजनाको ठेक्का सम्झौता गरिएको थियो । आयोजनाको आफ्नै भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अन्य दुई वटा पूर्वाधार निर्माणका कामसमेत धमाधम भइरहेका छन् । आयोजनाअन्र्तगत धेरैजसो पूर्वाधार निर्माणका काम भइरहेका छन् ।
भेरीगंगा नगरपालिकाको मसिना र गुर्भाकोट नगरपालिकाको मालारानीमा सहरी पूर्वाधार निर्माण निर्माणको काम थालिएको छ । यसअघि भेरीगंगा नगरपालिका वडा नं. १२ छिञ्चुमा हाटबजार निर्माण भेरीगंगा नगरपालिका वडा नं. ९ मा बसपार्क निर्माण, गुर्भाकोट नगरपालिका वडा नं. ८ खटाङ्गमा मन्दिर निर्माण गरिएको छ । यस्तै, भेरीगंगा नगरपालिका वडा नं. ६ मा कसेरा टोल र बसेरा टोल जोड्ने सडक निर्माण भएका छन् । यसैगरी भेरीगंगा नगरपालिका वडा नं. १० बराहडाँडा मन्दिर पूर्वाधार निर्माणको काम भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत् पूर्वाधार निर्माणको काम थालिएको हो । अघिल्लो वर्षदेखि नै सञ्चालित काम अघि बढ्ने भएपनि नयाँ काम भने रोकिने देखिएको छ ।
प्रकाशित मितिः २५ कार्तिक २०८२, मंगलवार ०५:०३
सम्पादकीय ।