फोहोर व्यवस्थापन गर्न ‘थ्री आर’ योजना

सुर्खेत: फोहोर व्यवस्थापनका लागि ‘थ्री आर’ योजना कार्यान्वयन गरिने भएको छ । कर्णाली प्रदेशका स्थानीय तहका लागि फोहोर व्यवस्थापन ठूलो चुनौती बनेपछि प्रदेश सरकारले महत्वाकांक्षी र रणनीतिक पहल थालेको हो । ‘रिड्युस, रियुज र रिसाइकल’ योजनाअन्तर्गत फोहोरमैला व्यवस्थापनमा दिगो समाधान खोज्ने तयारी गरिएको जनाइएको छ ।

रिड्युस अर्थात् सकेसम्म फोहोर उत्पादनलाई नै घटाउन पहल हुनेछ । त्यसपछि फोहोरलाई वर्गीकरण गरेर रियुज अर्थात् पुनः प्रयोग गर्न सकिने योजना पनि सरकारले अघि सारेको छ भने रिसाइकल प्रक्रियाबाट प्रशोधन गरेर प्रयोग गर्न सकिने फोहोरलाई पनि उपयोगमा ल्याउने योजना बनाइएको छ । यसले दीर्घकालिन रूपमै फोहोर व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ ।

कर्णालीका प्रमुख सहरहरूमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ । अन्य सहरको तुलनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा यो समस्या अझ विकराल छ । त्यसैले फोहोर व्यवस्थापनमा ‘थ्री आर’ रणनीति कार्यान्वयन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । फोहोर व्यवस्थापनमा प्रदेशले अभिभावकीय र सहजकर्ताको भूमिका खेल्दै स्थानीय तहहरूलाई एकीकृत प्रणालीमा जोड्नेगरी योजना निर्माण गर्न लागिएको छ । अव्यवस्थित फोहोर विसर्जनलाई नियन्त्रण तथा नियमन गरी जनस्तरमा पर्नसक्ने महामारीजन्य रोग रोकथाम तथा नियन्त्रणका अभियानमूलक कार्यक्रम कार्यान्वयन गरिने मन्त्रालयका प्रवक्ता पदम देवकोटाले बताए । प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर कुन पालिकाले कस्तो अवस्थामा सहयोग पाउने भन्ने मापदण्ड तोक्नुपर्ने तथा पालिकाहरूलाई प्राविधिक मार्गदर्शनका लागि एक समर्पित इकाई स्थापना गर्नुपर्ने सुझाव सरोकारवालाहरूले दिने गरेका छन् । सोही सुझावका आधारमा प्रदेश सरकारले स्पष्ट नीति निर्माण गर्न लागेको छ ।

स्थानीय तहहरूमा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ जनघनत्व बढ्दो छ । जनसंख्याका साथसाथै सवारी साधनको चाप पनि बढिरहेको छ । तर यहाँ सोहीअनुसारको सरसफाइ हुन नसक्दा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । जीर्ण सडक, अव्यवस्थित फुटपाथ र फोहोर व्यवस्थापनमा नगरपालिकाले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । नगरपालिकाले पछिल्लो समय वडा कार्यालयलाई सम्बन्धित वडाको फोहोर व्यवस्थापनको लागि जिम्मेवारी दिएको छ । फोहोरमैला व्यवस्थापनसम्बन्धी नगरपालिकाले कार्यविधिसमेत बनाएको छ । त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा प्रभावकारी रूपमा फोहोर व्यवस्थापन हुन नसकेको यहाँका नागरिकहरूको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट संकलित फोहोर जथाभाबी फाल्दा बराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । बस्ती नजिकै फोहोर जलाउँदा आफूहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीय दुर्गबहादुर लामिछानेले बताए । जथाभावी फोहोर फालिँदा दुर्गन्ध फैलिएको र त्यसमाथि प्लाष्टिक र बोतल जलाउने गरिएको उनको भनाइ छ । प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ्य, गाईबस्तु एवम् कृषिउपज, वातावरणमा नै नकरात्मक असर परेको जनाइएको छ । प्रभावित क्षेत्र बराहताल १० का वडा अध्यक्ष हरिलाल सलामीले वीरेन्द्रनगरको फोहोरले आफ्नो वडामा दुर्गन्ध फैलिएको बताए । वीरेन्द्रनगर नगरपालिकाले हेपाह प्रवृत्ति देखाएको भन्दै उनले जनस्वास्थ्यको सवालमा गम्भीर बन्नुपर्ने समेत बताएका छन् ।

जथाभावी रूपमा फोहोर फालेको भन्दै गत जेठमा वीरेन्द्रनगर–१ का बासिन्दाले पनि विरोध गरेको थिए । एक हप्तासम्म उनीहरूले विभिन्न माग राखेर फोहोर लैजान दिएका थिएनन् । बस्ती हुँदै फोहोर लैजाँदा जथाभाबी रूपमा फोहोर खसाल्ने गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । नागरिकहरूबाट चर्को विरोध आउन थालेपछि प्रदेश सरकारले पनि चासोे देखाएको छ । फोहोर व्यवस्थापनको योजना निर्माण गरेर कार्यान्वयन गरिने प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताए । बढ्दो जनसंख्यासँगै फोहोर व्यवस्थापन चुनौतीको रूपमा देखिन थालेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २५ कार्तिक २०८२, मंगलवार ०५:०५