भेरीगंगा नयाँ सहर आयोजनाः ठेक्का प्रक्रियाका काम ठप्प

सुर्खेत: भेरीगंगा नयाँ सहर आयोजना निर्माणको लागि नयाँ ठेक्का सम्झौता नहुने भएका छन् । जेन–जी आन्दोलनका कारण अर्थ मन्त्रालयले बजेट रोक्का गरेका कारण नयाँ ठेक्का सम्झौता भएर काम अघि नबढ्ने भएका हुन् ।
अर्थ मन्त्रालयले तत्काल प्राथमिकतामा निर्वाचन गराउने र दायित्व सिर्जना भएका आयोजना अघि बढाउने भएकाले नयाँ ठेक्का नहुने परिपत्र गरेको आयोजनाले जनाएको छ । यो वर्ष पाँच वटा आयोजना ठेक्का सम्झौताको तयारीमा रहेका थिए । भेरीगंगा नगरपालिकाको भवन, सडक निर्माण लगायतका पूर्वाधार पाँच वटा योजना बन्न लागेका थिए । तीन÷तीन करोडमा ठेक्का सम्झौताको तयारी थालिएको आयोजनाले जनाएको छ ।

यो वर्ष नयाँ योजना सम्झौता नहुने आयोजना प्रमुख प्रदिप खनालले बताए । जेन–जी आन्दोलनका कारण बजेट रोक्का भएको भन्दै बजेट फुकुवा भएमा मात्र नयाँ ठेक्का आह्वान गरिने जानकारी दिए । अघिल्ला वर्षहरूमा दायित्व सिर्जना भएका योजनाहरू पनि निरन्तर रूपमा अघि बढाइने उनले बताएका छन् ।

गतवर्ष तीनवटा आयोजनाको ठेक्का सम्झौता गरिएको थियो । आयोजनाको आफ्नै भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गुर्भाकोट नगरपालिका वडा नं. १२ मा आयोजनाको भवन निर्माणको काम धमाधम भइरहेको हो । अहिलेसम्म ९० प्रतिशत काम सकिएको आयोजना प्रमुख खनालले बताए । अन्य दुई वटा पूर्वाधार निर्माणका कामसमेत धमाधम भइरहेका छन् । आयोजनाअन्र्तगत धेरैजसो पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

यस्तै, भेरीगंगा नगरपालिकाको मसिना र गुर्भाकोट नगरपालिकाको मालारानीमा सहरी पूर्वाधार निर्माण निर्माणको काम थालिएको छ । उक्त आयोजनाहरूको तीन÷तीन करोडमा ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो ।
यसअघि भेरीगंगा नगरपालिका वडा नं. १२ छिञ्चुमा हाटबजार निर्माण भेरीगंगा नगरपालिका वडा नं. ९ मा बसपार्क निर्माण, गुर्भाकोट नगरपालिका वडा नं. ८ खटाङ्गमा मन्दिर निर्माण गरिएको छ । यस्तै, भेरीगंगा नगरपालिका वडा नं. ६ मा कसेरा टोल र बसेरा टोल जोड्ने सडक निर्माण भएका छन् । यसैगरी भेरीगंगा नगरपालिका वडा नं. १० बराहडाँडा मन्दिर पूर्वाधार निर्माणको काम भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत् पूर्वाधार निर्माणको काम थालिएको हो । आयोजना प्रमुख खनालले बसपार्क निर्माण, पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सहरी सडक निर्माणलगायतका कार्य भइरहेको जानकारी दिए ।

 

‘स्मार्ट सिटी’को गुरुयोजना बनाइँदै

यसैबीच पूर्वी सुर्खेतका तीन वटा पालिका समेटेर आधुनिक सहर (स्मार्ट सिटी) बनाउने योजना यो वर्ष मात्र कार्यान्वयन हुने भएको छ । गत वर्ष बजेटको स्रोत सुनिश्चितता नहुँदा काम सुरु हुन नसकेको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ । भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई जोड्नेगरी भेरी किनारमा नमुना आधुनिक सहर बनाउन गुरुयोजना निर्माणको यो वर्षदेखि काम सुरु गरिएको आयोजनाका सूचना अधिकारीविना चाकतुले बताइन् ।

प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा गुरुयोजनाको योजना समावेस गरिएको भएपनि प्रभावकारी काम अघि बढ्न सकेको छैन । अघिल्ला दुई आर्थिक वर्षमा बजेटको स्रोत सुनिश्चित नहुँदा गुरुयोजना निर्माणको काम सुरु भएको थिएन । यो वर्ष पनि सरकारले बजेट विनियोजन गरेको छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०८२, सोमबार १३:०६