हिंसा न्यूनीकरणको प्रयास
कर्णाली प्रदेशमा महिलाहरू घरेलु हिंसाको सिकार हुने गरेका घटना धेरै भेटिन्छन् । पछिल्लो समय त घरभित्रै महिलाहरूको हत्यासम्म हुने गरेका जघन्य घटना हुन थालेका छन् । यसले महिलाका लागि घर नै सबैभन्दा असुरक्षित क्षेत्र बनाएको छ । एउटा अध्ययनले प्रत्येक दशमध्ये ६ महिला घरमा असुरक्षित छन् र तिनीहरू घरेलु हिंसा र मानसिक प्रताडना आफ्नै घरमा सहन बाध्य छन् भन्ने देखाएको छ । यही अवस्थाको अन्त्य गर्नेगरी कर्णाली प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनीकरण गर्न विशेष योजना निर्माण गरेको छ । कानुन नै निर्माण गरी प्रतिफलमा आधारित योजना निर्माण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले लैङ्गिक हिंसा न्यूनिकरण गर्न निर्देशिका स्वीकृत गरेको छ । बसेको मन्त्रिपरिषद्को बैठकले लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका–२०८२ स्वीकृत गरेको हो । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएसँगै निर्देशिका कार्यान्वयनम जानेछ । लैङ्गिक हिंसा पीडितहरूका घटनाको व्यवस्थापन तथा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउन निर्देशिका स्वीकृत गरेको प्रदेश सरकारले जनाएको छ । यसअघि विभिन्न कार्यक्रममा सरोकारवालाहरूले ऐन नै निर्माण गरेर लैङ्गिक हिंसा न्यूनिकरण गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा सरकारले निर्देशिका जारी गरेको हो । यो वर्ष पनि लैङ्गिक हिंसा न्यूनीकरणका लागि विभिन्न कार्यक्रम राखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । स्थानीय सरकार र विभिन्न संघ–संस्थाहरूको समन्वयमा ती कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइएको छ ।
कर्णाली प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा रहेको देखिन्छ । विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको हो । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार बर्सेनि रूपमा घरेलु हिंसाका घटनामा वृद्धि भइरहेको देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा आठ सय ७५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा आठ सय ८३, आर्थिक वर्ष २०७९/०८० मा आठ सय ५८, आर्थिक वर्ष २०८०/०८१ मा आठ सय ८० र आर्थिक वर्ष २०८१/०८२ मा आठ सय ७६ वटा घरेलु हिंसाका घटना दर्ता थिए । चालु आर्थिक वर्षको हालसम्म १६ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् । घरेलु हिंसा बढीरहे पनि यसको न्यूनीकरणका लागि सरकोकारवालाहरूको ध्यान जान सकेको छैन । पछिल्लो समय भने सरकारले केही मात्रामा भएपनि योजना बनाएर कार्यान्वयन गर्न थालेको छ, लैङ्गिक हिंसा न्यूनीकरण गर्न निर्देशिका बनाउनु पनि त्यसैको एक उदाहरण हो ।
प्रकाशित मितिः ३१ आश्विन २०८२, शुक्रबार ०५:०३
सम्पादकीय ।