मौरीलाई चरन क्षेत्र अभाव

चरन क्षेत्र विस्तारका लागि चिउरी रोप्दै किसान

सुर्खेत: चरन अभाव भएको भन्दै मौरीपालक कृषकहरूले मौरी चरन क्षेत्र विस्तारमा जोड दिएका छन् । विभिन्न संघ संस्थाहरूको सहयोगमा उनीहरूले चरन क्षेत्र विस्तार गर्ने उद्देश्यले बोटबिरुवा रोप्न थालेका हुन् ।

यो वर्ष मात्र कर्णालीका तीन जिल्लामा एक हजार पाँच सय चिउरीका बिरुवा रोपिएका छन् । दैलेख, सुर्खेत र जाजरकोटमा गरेर एक हजार पाँच सय चिउरीका बिरुवा रोपिएको नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशका अध्यक्ष लिलाराम ढकालले बताए । इनइलम परियोजनाको आर्थिक सहयोगमा बेमौसमी चिउरीको बिरुवा रोपिएको ढकालले जानकारी दिए । सुर्खेतको कालिका सामुदायिक वन र काँक्रेविहारमा गरेर पाँच सय चिउरीका बिरुवा रोपिएको छ । अन्य दुई जिल्लामा पनि पाँच÷पाँच सय चिउरीका बिरुवा रोपिएको उनले बताए ।

गत वर्ष बुलबुले उद्यानमा एक हजार विभिन्न प्रजातीका बिरुवा रोपिएको थियो । बर्सेनिरूपमा मौरीका लागि आवश्यक पर्ने बिरुवा रोपेर मौरीपालनलाई व्यावसायिक रूपमा अघि बढाउन लागिएको ढकालको भनाइ छ । चिउरीमा बहुआयामिक गुण भएकाले तीव्ररूपमा वृक्षरोपण गर्न लागिएको जनाइएको छ । चिउरीको फल खाने र बियाँबाट घ्यूसमेत निकाल्ने गरिन्छ । महमध्येमा चिउरीको चरनको मह सबैभन्दा उत्कृष्ट मानिन्छ । ढकालले भने, ‘व्यावसायिक मौरीपालक कृषकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले चिउरीको वृक्षरोपण थालिएको हो ।’

यो वर्ष तीन जिल्लामा मात्र बिरुवा रोपिएको भएपनि आउँदो वर्षमा अन्य जिल्लामा पनि बिरुवा रोपिनेछ । रोपिएकामध्ये एक जिल्लामा दुई सय बिरुवा मात्र हुर्किएमा पाँच सय गोलाका मौरीलाई चराउन पुग्ने उनले बताए । चरनको अभावमा कर्णालीका कृषकले लुम्बीनी र सुदुरपश्चिमका विभिन्न जिल्लामा मौरी चरनका लागि लैजाने गरेका छन् । चिउरीका बिरुवा हुर्कन आठ÷दश वर्ष लाग्ने गर्दछ ।

मौरी पाल्ने किसानले फरक मौसम फरक समयअनुसार विभिन्न ठाउँमा लिने गर्छन् । वीरेन्द्रनगर नगरपालिका वडा नंं. १२ की मौरीपालक कृषक सुमित्रा लामिछानेले एक वर्षको बीचमा धेरै ठाउँमा मौरी चराउनका लागि लिने गरेको बताइन् । चरन क्षेत्रको अभाव हुँदा बाँके र अछाम जिल्लामा समेत मौरी लैजाने गरेको सुनाइन् । उनले भनिन्, ‘चरन क्षेत्र नहुँदा निकै समस्या हुने गरेको छ, टाढा लैजादा समय र जनशक्ति धेरै लाग्छ, सम्भावना त राम्रो छ ।’ अहिले किसानहरू आफू–आफू जुटेर विभिन्न संघ संस्थाहरूको सहयोगमा बिरुवा रोप्न लागेको छन् ।

कर्णाली मौरीपालक कृषकहरू संगठितसमेत भएका छन् । सुर्खेत, दैलेख, जाजरकोट र रुकुमपश्चिम कृषक संगठनमा आवद्ध भएका छन् । चार जिल्लामा गरी तीन हजार पाँच सय मौरीपालक कृषक रहेको संगठनका कर्णाली प्रदेश अध्यक्ष लिलाराम ढकालले बताए । उनका अनुसार खोपेघार, मुडेघार र आधुनिक घार गरी चार जिल्लामा तीन हजार पाँच सय कृषक आवद्ध भएका छन् । पछिल्लो समय युवा पुस्ता मौरीपालनमा आकर्षित भएको ढकालले बताए । ‘आधुनिक घारमा चार गुणासम्म उत्पादन बढाउन सकिन्छ,’ उनले भने, ‘माहुरी पालनमा खासै समस्याहरू पनि छैनन् ।’

यो वर्षदेखि प्रदेशभरका मौरीपालक कृषकहरूको तथ्यांक संकलन गर्ने, कर्णाली ब्राण्डको सिसिको डिब्बा र स्टीलको क्यान उत्पादन गरी किसानलाई उपलब्ध गराइ कर्णाली गोल्ड हनीको पहिचान गर्न लागिएको जनाइएको छ । कर्णाली प्रदेश सरकारले मौरीपालक मृषकहरूलाई विभिन्न अनुदानका कार्यक्रम दिने गरेको छ । यो वर्ष पनि विभिन्न अनुदानका कार्यक्रम राखिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । गत वर्ष पनि विभिन्न अनुदानका कार्यक्रम राखिएको थियो । यो वर्ष मागका आधारमा अनुदानका कार्यक्रम कार्यान्वयन गरिने निर्देशनालयका सूचना अधिकारी टेकराज रेग्मीले बताए ।

यसैबीच नेपाल मौरीपालक महासंघ कर्णाली प्रदेशले सातौँ वार्षिक साधारण सभा गरेको छ । ‘दैनिक एक चम्चा मह सेवन, स्वस्थ र दिर्घ जीवन’ भन्ने नाराका साथ बिहीवार सातौँ वार्षिक साधारण सभा गरिएको हो । महासंघले अब प्रदेशका दशवटै जिल्लामा विभिन्न कार्यक्रम लैजाने गरी योजना निर्माण गरेको छ । कर्णाली प्रदेश, स्थानीय सरकार र विभिन्न संघ संस्थाहरूको सहयोगमा कर्णालीका तीन जिल्लामा महको प्रचारप्रसार, व्यावसायिक तालीम, विभिन्न मेलाहरूमा सहको स्टल राख्ने लगायतका काम गरिएको अध्यक्ष ढकालले बताए । यो वर्ष पनि योजनागत रूपमा विभिन्न कार्यक्रम राखिएको उनले जानकारी दिए । आर्थिक प्रतिवेदन पनि पेस गरिएको थियो । गत वर्षमा आठ लाख १८ हजार बराबरको कारोबार गरिएको छ । यो वर्ष १९ लाख बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः   ३१ आश्विन २०८२, शुक्रबार १०:००