भयावह सिकलसेल

थारु समुदायमा सिकलसेल एनिमिया रोग भयवह बन्दै गएको छ । विशेष गरी तराई मूलका थारु समुदायमा यो रोग देखिएको छ । सुर्खेतको वीरेन्द्रनगरका थारु समुदाय पनि सिकलसेल रोगबाट पीडित भइरहेका छन् । उनीहरूले पीडा मात्रै भोगिरहेका छैनन् असहज जीवनयापन गर्न बाध्य बनिरहेका छन् । यो कुनै आपसी हेलमेलबाट सर्ने रोग नभइ वंशाणुगत रोग भएपनि शारीरिक पीडासँगै उनीहरूले समाजबाट समेत अपहेलना खेप्नु परेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार वीरेन्द्रनगरमा थारु समुदायको सात हजार बढी जनसंख्या रहेको छ । उनीहरूकै समुदायमा देखा परिरहेको सिकलसेल परीक्षण भने ठूलो मात्रामा अहिलेसम्म हुन सकिरहेको छैन ।

दुईवर्ष अघि वीरेन्द्रनगरका सात सय ३५ जनाको परीक्षण गराइएको थियो । उक्त परिक्षणमा ७० जना सिकलसेल पोजेटिभ देखिएका थिए । त्यसअघि एक हजार तीन सय जनामा गरिएको परीक्षणबाट तीन सय १३ जनामा सिकलसेल पोजेटिभ देखिएको थियो । हाल वीरेन्द्रनगरमा ४१ जनाले नियमित औषधि खाइरहेका छन् । सिकलसेलका कारण शारीरिक बनावटमा तन्दुरुस्त देखिएपनि अशक्त रूपमा बाँचिहेको अवस्था छ । भौतिक काममात्रै होइन मानसिक रूपमा पनि अरु सामान्य मानिसको जस्तो शसक्त काम गर्न नसकिरहेको बिरामीहरू बताउँछन् । बिरामीको रगतमा सिकलसेलको मात्रा ६० प्रतिशतभन्दा बढी पुगेपछि रोगले समातेको मानिने गरेको छ । दीर्घ रक्तअल्पता हुने, ज्वरो आइरहने, छाती दुख्ने, जन्डीस हुने, फियो बढ्ने, हाडजोर्नी दुख्नेजस्ता यो रोगका मुख्य लक्षणहरू हुन् । शरीरको विभिन्न भागहरूमा राम्रोसँग रगत प्रवाह हुन नसक्दा शरीरको भित्री अंगमा अक्सिजनको मात्रा कम हुने हुन्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ, धेरै पीडा हुन्छ, साथै जण्डिस पनि देखा पर्छ, पेट दुख्छ, पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ, यसले आँखामा समेत असर पार्छ ।

सिकलसेल भयावह अवस्था भएपनि उपचारमा भने समस्या हुने गरेको छ । सुर्खेतमा त्यसको उपचार गर्ने अस्पताल छैन । नेपालगञ्जस्थित भेरी अस्पतालमा पुग्नुपर्छ । रोग पत्ता लागिसकेपछि उनीहरूले जीवनपर्यन्त औषधी सेवन गर्नुपर्ने हुन्छ । औषधी पनि महँगो छ । त्यसो त नेपाल सरकारले सिकलसेल बिरामीका लागि एक लाख रूपैयाँ सम्म उपचार निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । कर्णाली प्रदेश सरकारले पनि सिकलसेल बिरामीलाई उपचारमा सहुलियत दिएको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रतिव्यक्तिलाई एक लाखका दरले सहुलियत उपलब्ध गराउने गरिएको छ । यसले बिरामीहरूले आर्थिकरूपमा केही मात्रामा भएपनि राहत भएको छ ।

प्रकाशित मितिः   ३० आश्विन २०८२, बिहीबार ११:१६