खस भाषाको शब्दकोश सार्वजनिक

सुर्खेत: पहिलो पटक खस भाषाको शब्दकोश तयार पारिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको शब्दकोश ‘खसिया आखर’ बुधवार सार्वजनिक गरिएको छ । जुम्लाका लेखक रमानन्द आचार्यले शब्दकोष तयार पारेका हुन् ।

शब्दकोश लोकार्पण गर्दै सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले यसले नेपाली भाषाको पनि मातृभाषाको रूपमा रहेको खास भाषाको जगेर्ना र पुस्तान्तरणमा टेवा पुग्ने बताए । भाषा संरक्षणका लागि प्रदेश सरकार लागि परेको भन्दै उनले विज्ञहरूको सहयोगमा भाषा संरक्षण र सम्वद्र्धन गर्ने काम भइरहेको जनाए । नेपाली भाषाको जननी मानिने खस भाषाकै अहिलेसम्म शब्दकोश थिएन । अबभने आफ्नै शब्दकोश तयार भएको छ ।

कर्णालीमा बोलिने कतिपय भाषा लोप हुने अवस्थामा पुगेका छन् । प्रदेशका पाँच वटा भाषा लोपोन्मुख अवस्थामा रहेका छन् । यहाँ कुसुण्डा भाषा लोप भइसकेको छ भने राउटेको खाम्ची, बोटे, राजी, काइके र छन्त्याल भाषा पनि लोप हुने अवस्थामा रहेको बताइन्छ । नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषा तोकेको छ । भाषा आयोगको सिफारिसमा अन्य एक वा एकभन्दा बढी राष्ट्रभाषालाई पनि सरकारी कामकाजको प्रयोगमा ल्याउन सकिने भनिएको छ । यसअघि विज्ञहरूले कर्णालीमा सरकारी कामकाजको भाषा निर्धारणका लागि सिफारिस पनि गरिसकेका छन् ।

कर्णाली प्रदेशका निम्ति मगर भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरिएको छ । मगर भाषा बोल्नेहरूको संख्या कूल जनसंख्याको दुई दशमलव २६ प्रतिशत अर्थात् ३२ हजार २९ रहेको छ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी भाषालाई प्रदेशको कानुन बमोजिम सरकारी कामकाजको भाषा बनाउन सकिने प्रावधान छ । आयोगले एक प्रतिशतभन्दा बढी वक्तासंख्या रहेको भाषालाई सिफारिस गर्ने मापदण्ड अँगालेको थियो । सोहीअनुसार कर्णालीमा मगर भाषा सिफारिसमा परेको हो ।

प्रकाशित मितिः   ३० आश्विन २०८२, बिहीबार ११:१४