वीरेन्द्रनगर सहरका गौरव, आशा र सार्वजनिक सवालहरु
-दिनेश गौतम
पृष्ठभूमी
वीरेन्द्रनगर नगरपालिकाको स्थापना वि.सं. २०३३ सालमा सुर्खेत उपत्यकाभित्र पर्ने कट्कुवा, गोठीकाँडा र जर्बुटा गाउँ पञ्चायतका केही भागलाई मिलाएर वीरेन्द्रनगर नगर पञ्चायतका रूपमा भएको हो । नेपाल सरकारको मिति २०७१ वैशाख २५ गतेको निर्णय बमोजिम साविकका छिमेकी उत्तरगंगा र लाटीकोइली गाविस वीरेन्द्रनगरमा गाभिएका हुन् । मिति २०७१ मंसीर १६ गतेको निर्णय अनुसार जर्बुटा गाविससमेत वीरेन्द्रनगरमा गाभेपछि मिति २०७२ असार १५ गतेको निर्णय बमोजिम जम्मा वडा संख्या २५ कायम गरिएको थियो । नेपाल सरकारको मिति २०७३ फागुन २७ को निर्णयअनुसार विस्तारित नगरमा साविकका गढी, रतु र गर्पन गाविस समावेश गर्दै २४५.८५ वर्ग कि.मी. क्षेत्रफल तथा १६ वडा कायम भएको स्थानीय तहका रूपमा वीरेन्द्रनगर नगरपालिका रहेको छ । वीरेन्द्रनगर नगरपालिकामा बसोबासको प्रारम्भ वि.सं. २०२३ सालबाट भएको पाइन्छ । यसभन्दा अगाडि नगरपालिकाको मैदानी भाग (उपत्यका क्षेत्रमा) औलो लाग्ने हुँदा जिल्ला सदरमुकाम गढी गा.वि.स.मा रहेको र उपत्यकामा फाटफुट रूपमा थारु र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मूलन भए पश्चात् उपत्यकामा बस्ती विकास हुनुका साथै सबै सरकारी कार्यालयहरूलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो । वीरेन्द्रनगरमा २०२२ सालमा विमानस्थल स्थापना भइ नियमित उडान भएको पाइन्छ । साथै २०३८ सालमा रत्न राजमार्ग सडक निर्माण कार्य सम्पन्न भइ सडक यातायात सेवा सुरु भए पश्चात् वीरेन्द्रनगर साविक कर्णाली अञ्चलका जिल्लाहरूको प्रवेशद्वारका रूपमा स्थापित भएको हो । साविक कर्णाली अञ्चलमा उपभोग हुने सम्पूर्ण सामग्री वीरेन्द्रनगरबाट जाने हुँदा यो पश्चिम नेपालकै प्रमुख व्यापारिक एवम् शैक्षिक तथा पर्यटकीय केन्द्रसमेत बन्न पुगेको छ । पहिले चौघानचौर र २०२९ सालपछि वीरेन्द्रनगरको नामले परिचित यस नगरपालिका नेपालका राम्रा गुरुयोजना भएका नगरपालिका मध्येको एक हो । साविकको वीरेन्द्रनगरलाई नेपालकै व्यवस्थित गुरुयोजना भएको सहरका रूपमा चिनिए तापनि पछिल्लो समयमा बढ्दो सहरीकरणका कारण सहरी व्यवस्थापनमा चुनौती थपिएको छ । विशेष गरी बसाईं सरी आउनेको चाप उपत्यकाको दक्षिणी क्षेत्रमा रहेको खेतीयोग्य जमिनमा परेपछि नगरको दिगो व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको देखिन्छ । राज्यको पुनर्संरचनासँगै वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीको रूपमा स्थापित भएको छ । अतः प्रदेशकै प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्रको रूपमा रहेको वीरेन्द्रनगर प्रशस्त सम्भावना बोकेको सहर हो । वीरेन्द्रनगरलाई दिगो सहरका रूपमा विकास गरी यहाँका बासिन्दालाई सुरक्षित र आशाबादी बनाउनु आजको प्रमुख सवाल हो ।
ऋति फाउन्डेसनको अध्ययनमा आधारित यस आलेखले वीरेन्द्रनगर नगरपालिकालाई दिगो सहरका रूपमा विकास गर्नमा देखिएका चुनौतीको विश्लेषण गर्ने प्रयास गरेको छ भने यहाँका बासिन्दामा रहेको आशाको जगेर्ना गर्दै शहरको सौन्दर्य र सुरक्षा कायम राखी यसलाई गर्व गर्न लायक शहरका रूपमा विकसित गर्न आवश्यक पहलहरूबारे चर्चा गरेको छ ।
वीरेन्द्रनगरको जनसांख्यिक अवस्था
वीरेन्द्रनगर नगरपालिका हाल कर्णाली प्रदेशको राजधानी हो । नगरपालिकामा रहेको वीरेन्द्रनगर सहर प्रदेशको आर्थिक तथा राजनीतिक क्रियाकलापको केन्द्र रही आएको छ । विशेषगरी शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटन यहाँका प्रमुख क्रियाकलाप हुन् । कर्णाली प्रदेशका अधिकांश जिल्लाहरूको मुख्य प्रवेशद्वारसमेत वीरेन्द्रनगर हो । राष्ट्रिय जनगणना २०७८ अनुसार वीरेन्द्रनगरको कुल जनसंख्या एक लाख ५३ हजार आठ सय ६३ रहेको छ जसमा ४८.८ प्रतिशत पुरुष र ५१.२ प्रतिशत महिला रहेका छन् । वीरेन्द्रनगरमा कुल परिवार संख्या ३८,३७७ रहेको छ । वि.सं. २०४८ सालको जनगणनाअनुसार वीरेन्द्रनगरको जनसंख्या कुल २७,२८६ थियो । २०६८ सालको जनगणनाअनुसार यहाँको जनसंख्या १,१५,४५१ रहेको थियो तर २०७८ सालको जनगणनाअनुसार यहाँको जननसंख्या १,५३,८६३ रहेको छ । खासगरी २०७२ सालमा सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी घोषणा भएपछि यहाँको जनसंख्यामा उल्लेखनीय रूपमा वृद्धि आएको हो ।
१. वीरेन्द्रनगरको गौरव
अध्ययनको क्रममा सहभागीलाई ‘वीरेन्द्रनगरको बासिन्दा हुनुको नाताले तपाईंलाई सबैभन्दा बढी के कुरामा गर्व लाग्छ ?’ भनेर सोधिएको थियो । उत्तरदाताहरूका अनुसार वीरेन्द्रनगरमा रहेका ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरू गर्व गर्न लायक छन् । यसैगरी यहाँको हावापानी र वातावरणसमेत राम्रो भएको धेरैले बताएका छन् । कतिपयले भने कर्णाली प्रदेशको राजधानी भएकै कारण वीरेन्द्रनगरको बासिन्दा हुनु गर्व लाग्ने बताएका छन् । अध्ययनको क्रममा देखिएको सबैभन्दा महŒवपूर्ण विषय ‘वीरेन्द्रनगर एक योजनाबद्ध सहर हो’ भन्नेमा धेरैले गर्व गर्छन् ।
वीरेन्द्रनगर नगरपालिकाको गौरवका विभिन्न आयाम रहेका छन् । जसमा प्राकृतिक सौन्दर्य, ऐतिहासिक र धार्मिक स्थलहरू तथा सामाजिक–भौतिक पूर्वाधारहरूको विकास प्रमुख हुन् । अध्ययनको क्रममा सहभागीलाई ‘वीरेन्द्रनगरको बासिन्दा हुनुको नाताले तपाईंलाई सबैभन्दा बढी के कुरामा गर्व लाग्छ ?’ भनेर सोधिएको थियो । सहभागीहरूले वीरेन्द्रनगरको प्राकृतिक सौन्दर्य, हावापानी, तथा प्रदेशको राजधानी सबैभन्दा बढी गर्व लाग्ने बताएका छन् । सर्भेमा सहभागी ४०५ जना मध्ये ५१ प्रतिशतले वीरेन्द्रनगर सहरको बासिन्दा हुनुमा धेरै गौरव गर्ने बताएका छन् । यसैगरी ४३ प्रतिशतले अलिअलि गौरव गर्ने र ६ प्रतिशतले गौरव नगर्ने बताए । वीरेन्द्रनगरमा हाल वसोवास गरिरहेकाहरूमध्ये २०३६ साल पछि एवम् २०६३ सालअघि वीरेन्द्रनगरमा बसोबास गर्न सुरु गरेका बासिन्दाहरूले वीरेन्द्रनगर योजनावद्ध सहर हो भन्ने विषयमा सवैभन्दा वढी गर्व गरेको देखियो । यहि समयमा वीरेन्द्रनगरको गुरुयोजना कार्यान्वयनमा आएको र बासिन्दाहरू सो योजनाअनुसार बसेको हुनाले उनीहरूले बढी गौरव गरेको हुनसक्छ ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हुनुका साथै एक योजनावद्ध सहर पनि हो । यहाँ भौतिक पूर्वाधार, ऐतिहासिक, धार्मिक, पर्यटकीय एवम् पुरातात्विक केन्द्र आदि रहेका छन् । यसैगरी वीरेन्द्रनगरमा रहेको परम्परागत संस्कृति, मौलिकता, यहाँको ऐतिहासिक धरोहरहरू, शैक्षिक संघ संस्था तथा विश्वविद्यालय पनि धेरैलाई गर्व लाग्ने कुरा हुन् । वीरेन्द्रनगर चारैतिर पहाडले घेरिएको उपत्यका हो जहाँ उचाई र भूगोलमा विविधता पाइन्छ । यहाँ थरीथरीका जातजाति, धर्म र बहुभुगोलबाट स्थानान्तरण भइ आएका मानिसहरू बस्छन् जसले बहुसांस्कृतिक विशेषता थपेको छ । मिश्रित समाज वीरेन्द्रनगरको गौरवको विषय हो । वीरेन्द्रनगरलाई छोएर बग्ने भेरी नदी, धार्मिक स्थल देउती बज्यै, पुरातात्विक महŒवको काँक्रेविहार तथा मनोरम बुलबुले ताल पनि यहाँका गौरव हुन् । वीरेन्द्रनगरमा लामो समयदेखि बसोबास गर्ने नागरिकहरू आफ्नो सहरसँग धेरै अपनत्व महशुस गर्छन् र गर्व पनि गर्छन् । तर पछिल्ला वर्षमा बसोबास सुरु गर्नेहरूमध्ये धेरै गर्व गर्नेको संख्या घटेको छ भने अलिअलि गर्व गर्ने र गर्व नगर्नेहरूको संख्या बढेको छ । यसको अर्थ, नयाँ बसाइँ सर्ने मानिसहरूले सहरसँग पूर्ण भावनात्मक सम्बन्ध बनाउन अझ समय चाहिन्छ वा उनीहरूको अपेक्षा सहरले अझै पूरा गर्न सकेको छैन भन्ने देखिन्छ ।
प्रदेशको राजधानी भएको हुनाले गर्व महशुस गर्ने धेरै, विश्वविद्यालय मुख्य गौरव
अध्ययनको क्रममा अधिकांश उत्तरदाताले वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएकोले आफूलाई यहाँको बासिन्दा हुनुमा गर्वको महसुस हुने बताएका छन् । यहाँको खानेपानी, विद्युत, सडक, सरकारी सेवा सुविधा, प्रादेशिक अस्पताल, सिटी हल, रंगशाला, शैक्षिक संस्था, आर्थिक उपार्जनका अवसरहरू पनि गौरवका विषय हुन् । वीरेन्द्रनगर सहर बस्नका लागि सुरक्षित रहेको बताउने उत्तरदाताको संख्या पनि उल्लेख्य छ । अधिकांश उत्तरदाताले वीरेन्द्रनगरको सुरक्षा अवस्था ठिकै रहेको बताएका छन् । यद्यपि, धेरैजसो महिलाले वीरेन्द्रनगर सुरक्षित रहेकोमा शंका व्यक्त गरेका छन् । कुल ४०५ जना उत्तरदातामध्ये १५२ महिला उत्तरदाता रहेकोमा जम्मा १४ जनाले मात्र वीरेन्द्रनगर असुरक्षित रहेको बताएका थिए ।

सर्वेक्षणअनुसार, ६१.५५% उत्तरदाताले मध्यपश्चिम विश्वविद्यालय र अन्य शैक्षिक संस्थाहरूलाई सहरको प्रमुख गौरव मानेका छन्, जसले वीरेन्द्रनगरलाई एक शैक्षिक केन्द्रको रूपमा स्थापित गरेको प्रमाणित गर्छ । यसैगरी, ५८.८५% ले ऐतिहासिक र धार्मिक क्षेत्रहरूलाई गौरव मानेका छन्, जसबाट यो सहरको आधुनिक विकाससँगै यसको सांस्कृतिक र ऐतिहासिक महŒव पनि उत्तिकै बलियो रहेको स्पष्ट हुन्छ । स्वास्थ्य सेवा र प्राकृतिक वातावरणलाई पनि बासिन्दाहरूले उच्च प्राथमिकता दिएको देखिन्छ । सर्वेक्षणमा ५६.५५% ले कर्णाली प्रदेश अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूलाई तथा ५६.५% ले यहाँको हावापानीलाई गौरवका रूपमा लिएका छन् । यसले सहरको प्राकृतिक सुन्दरता र स्वास्थ्य सेवाको उपलब्धतालाई बासिन्दाहरूले आफ्नो जीवनस्तरको महŒवपूर्ण हिस्सा मानेको बुझिन्छ । यसका अतिरिक्त, खेलकुदका पूर्वाधार (जस्तै प्रदेश रंगशाला) र सांस्कृतिक विविधतामा ५१.८% ले गर्व गरेको पाइएको छ । समुदायको एकता र सार्वजनिक स्थलहरू पनि गौरवका विषय बनेका छन् । वीरेन्द्रनगर एक शैक्षिक, ऐतिहासिक, स्वास्थ्य सेवा र प्राकृतिक वातावरणको हिसाबले समृद्ध सहरका रूपमा चिनिएको देखिन्छ । यहाँका बासिन्दाहरूले शैक्षिक र ऐतिहासिक पक्षहरूलाई सबभन्दा बढी महŒव दिएका छन्, तर स्वास्थ्य, प्राकृतिक र सामाजिक पक्षहरूलाई पनि उत्तिकै सराहना गरेको पाइन्छ ।
सर्वेक्षणअनुसार सबैभन्दा बढी नागरिक ५९.२६% ले देउडा संस्कृतिमा गर्व महशुस गरेका छन् । त्यसपछि स्थानीय उत्सव, मेला र महोत्सवमा ४९.१४% र थारु संस्कृतिमा ४७.६५% नागरिकले गर्व व्यक्त गरेका छन् । अन्य सांस्कृतिक पक्षमा लोकगीत परम्परा ४०%, मगर संस्कृति ३५.८०%, परम्परागत संगीत र नृत्य २९.३८% र सांस्कृतिक आदान–प्रदान कार्यक्रम २३.९५% पनि उल्लेखनीय छन् । कम प्रतिशतमा भएपनि परम्परागत पोसाक २०.४९%, संस्कृति संरक्षण र प्रर्वद्धन कार्यक्रम २०.४९%, आदिवासी भाषा र बोली १८.७७% र वैचारिक बहस र विमर्श कार्यक्रम १८.५२% पनि नागरिकले गौरव गर्ने पक्षको रूपमा देखिएका छन् । उत्तरदाताहरूले सहरको भौतिक पूर्वाधारप्रति विभिन्न रूपमा गर्व व्यक्त गरेका छन् । सर्वेक्षणअनुसार सबैभन्दा बढी नागरिक ५९.०१% ले शैक्षिक संस्थामा गर्व महशुस गरेका छन् । त्यसपछि खेल सुविधा र रंगशालामा ४५.६८% र विमानस्थल तथा बसपार्कमा ३९.०१% नागरिकले गर्व व्यक्त गरेका छन् । अन्य महŒवपूर्ण पूर्वाधारमा सरकारी कार्यालय र प्रशासनिक भवन ३६.७९%, स्वास्थ्य सेवा सुविधा ३४.८१%, सडक र यातायात सुविधा ३०.८६% र संग्राहालय ३०.६२% पर्दछन् । त्यस्तै, सार्वजनिक पार्क एवम् हरित स्थल र धार्मिक तथा आध्यात्मिक केन्द्रमा समान रूपमा २५.४३% नागरिकले गर्व व्यक्त गरेका छन् । कम प्राथमिकताका पूर्वाधारमा टेलिफोन तथा इन्टरनेट सुविधा २४.६९%, व्यापारिक केन्द्र एवम् बजार २०.९९%, फोहोर व्यवस्थापन १३.५८%, आवासीय क्षेत्र १२.१०%, सार्वजनिक यातायात १०.१२%, विद्युतीय संरचना एवम् आपूर्ति ५.९३%, खानेपानी आपूर्ति एवम् सिँचाइ ५.१९% र आपतकालीन उद्धार संरचना ४.६९% पर्दछन् । यसबाट नागरिकहरू शैक्षिक, खेलकुद र यातायातजस्ता मुख्य पूर्वाधारप्रति बढी गर्व गर्छन् भन्ने देखिन्छ ।
२. वीरेन्द्रनगर सहरसँगका आशा
वीरेन्द्रनगरका बासिन्दाहरू सहरको भविष्यप्रति अत्यन्तै आशावादी रहेको देखिन्छ । वीरेन्द्रनगरको विकास र प्रगतिको अपेक्षामा आधारित यी आशाहरू समाजका समग्र सुधार, आर्थिक अवसर, भौतिक पूर्वाधार र साँस्कृतिक समृद्धिमा केन्द्रित छन् । वीरेन्द्रनगरमा विभिन्न सामाजिक समस्याहरू रहेता पनि समयक्रमसँगै उक्त समस्या समाधान हुनेमा नगरबासी आशावादी छन् । सर्वेक्षणका क्रममा पाँच प्रतिशतले मात्र वीरेन्द्रनगरको विकसित भविष्यबारे आशावादी नभएको बताएका छन् । वीरेन्द्रनगरमा भौतिक योजनाको प्रभावकारी कार्यान्वयनले नगरबासीमा आशाको सञ्चार गरेको पाइएको छ । यसैगरी विस्तारै शिक्षित र सचेत हुँदै गएको समाज, खेल, स्वास्थ्य, शिक्षालगायतका सवालमा देखिएको उच्चस्तरको चेतना र खुलापनले दिगो सहर निर्माणमा आशा जगाएको छ ।

वीरेन्द्रनगरका बासिन्दाहरू समाजमा भएका सामाजिक समस्याहरूको समाधान र रोजगारीका योजनावद्ध अवसरहरूको प्राप्तिमा आशावादी छन् । यस आधारमा, उनीहरू समाजमा देखिने विभिन्न समस्याहरूजस्तै, बेरोजगारी, असमानता र सामाजिक विभाजन समाधान हुने विश्वास गर्छन् । सर्वेक्षणको क्रममा वीरेन्द्रनगरमा रोजगारीका अवसरहरू बढ्दो क्रममा रहेकोमा आशावादी हुनेमा युवाहरू धेरै रहेको पाइएको थियो । स्वरोजगारका अवसरहरूको वृद्धि, व्यवसाय विकास र व्यापारिक मार्गको रूपमा सुर्खेत विमानस्थल विस्तारले वीरेन्द्रनगरको आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ । स्वरोजगारमूलक व्यापारिक गतिविधिलाई चलायमान बनाउन परम्परागत रूपमा चल्दै आएको हाटबजारको आवश्यकता रहेको उत्तरदाताको भनाइ छ ।
आशा १ः भौतिक पूर्वाधार विकास र सामाजिक चेतना
वीरेन्द्रनगरमा भौतिक पूर्वाधारको विकास र सामाजिक चेतनाको वृद्धिप्रति बासिन्दाहरूको आशा गहिरो रहेको पाइएको छ । भौतिक पूर्वाधारहरूको निर्माणजस्तै खेलकुद क्षेत्र, स्वास्थ्य संरचना र शिक्षण संस्थाहरू, सडक विस्तार आदिले सहरको समग्र विकासमा महŒवपूर्ण भूमिका खेल्छ । यस्ता भौतिक पूर्वाधार विकासको कारण स्थानीय बासिन्दामा वीरेन्द्रनगरको भविष्यप्रतिको आशा बढेको पाइएको छ ।
आशा २ः शिक्षा, स्वास्थ्य र पूर्वाधारको सुधार
वीरेन्द्रनगरको भविष्यप्रति बासिन्दाहरूको आशा मुख्यतया शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारको सुधारमा केन्द्रित रहेको पाइन्छ । यी क्षेत्रमा हुने सुधारले सहरलाई समृद्धि र विकासको नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । पूर्वाधार विकासजस्तै सडक, पुल र सार्वजनिक सेवाहरूले सहरको कार्यक्षमता र पहुँचलाई सुधार गर्नेछ । यहाँका युवा पुस्ताले प्रविधिको प्रयोग र नवीन सोचबाट सहरको प्रगति र समृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ । वीरेन्द्रनगरका बासिन्दाहरू कर्णाली राजमार्गको स्तरोन्नती, मर्मत र कालोपत्रे हुने कुरामा आशावादी छन् । कर्णाली राजमार्गको अवस्था सुधारसम्बन्धी योजनाको कार्यान्वयनले दैलेख, कालीकोट, जुम्ला, मुगुलगायतका जिल्लाको आवागमन सहज हुनेछ ।
आशा ३ः पर्यटन विकास र आधारभूत सेवा प्रवाह
वीरेन्द्रनगरको पर्यटन विकास र आधारभूत सेवा प्रवाहमा सुधार हुनेमा यहाँका बासिन्दा आशावादी रहेका छन् । पर्यटन पूर्वाधार र सुविधाको विकासले सहरलाई एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा प्रस्तुत गर्नेछ जसले आर्थिक समृद्धिमा ठूलो योगदान गर्नेछ । वीरेन्द्रनगरमा विद्युत तथा खानेपानीसम्बन्धी विद्यमान समस्या छिट्टै समाधान हुनेमा यहाँका बासिन्दा निकै आशावादी छन् । यस्ता आधारभूत सेवाहरूको सुधारले आम नागरिकको जीवनस्तरलाई सुधार गर्नेछ ।
आशा ४ः साँस्कृतिक र धार्मिक सम्पदाको संरक्षण
वीरेन्द्रनगर आफैमा धार्मिक तथा साँस्कृतिक सम्पदाको दृष्टिले अत्यन्तै सम्पन्न रहेको छ । वीरेन्द्रनगरका बासिन्दाहरू यस्ता साँस्कृतिक र धार्मिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन हुनेमा आशावादी छन् । वीरेन्द्रनगरमा प्रचलनमा रहेका देउडा, मगर, थारु संस्कृतिको संरक्षण तथा देउती बज्यै, काँक्रेविहारलगायतका धार्मिक स्थलहरूको प्रवद्र्धनले साँस्कृतिक विविधताको विकास गर्नेछ । वीरेन्द्रनगरको खुला मञ्चमा हरेक महिनाको १ र १५ गते आयोजना हुने स्वतःस्फूर्त देउडा खेलको संरक्षणमा विशेष ध्यान दिनु जरुरी छ ।
आशा ५ः प्रदेश राजधानी
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरलाई थप योजनावद्ध रूपमा विकास गर्न सकेमा यसले वीरेन्द्रनगरलाई शैक्षिक, पर्यटकीय र आर्थिक गतिविधिको केन्द्र बनाउन सकिने धेरै उत्तरदाताको विश्वास रहेको छ । प्रदेश राजधानीको हैसियतले सहरलाई प्रशासनिक र विकास निर्माण, व्यापारिक, आर्थिकलगायतका गतिविधिको केन्द्र बनाउन सकिनेछ भन्नेमा धेरै उत्तरदाता आशावादी रहेका छन् ।
आशा ६ः सरकारी सेवा पहुँचमा सुधार
वीरेन्द्रनगरका बासिन्दाहरू सरकारी सेवा सुविधाहरूको सहज पहुँचको आशामा छन् । विशेष गरी प्रशासनिक सेवा, स्वास्थ्य सेवा, र यातायात व्यवस्थापनमा थप सुधार हुने उनीहरूले अपेक्षा गरेका छन् । अध्ययनका अनुसार सरकारी सेवाको पहुँचको विस्तार र सुधार हुनेमा स्थानीय बासिन्दाहरू धेरै नै आशावादी रहेको देखिन्छ ।
आशा ७ः खेलकुद, स्वास्थ्य र सार्वजनिक सेवाहरूको विस्तार
वीरेन्द्रनगरमा खेलकुद क्षेत्रको विकास, स्वास्थ्य सेवाको पहुँच विस्तार र सार्वजनिक यातायात व्यवस्थापनमा सुधार हुने आशा गरिएको छ । यी क्षेत्रहरूमा थप पूर्वाधारको निर्माणले जनताको जीवनस्तरलाई सुधार गर्नेछ भन्ने स्थानीय नागरिकको विश्वास रहेको छ । यस्तै स्वास्थ्य सेवाको पहुँच विस्तारले जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्नेछ र सार्वजनिक यातायात व्यवस्थापनमा सुधारले यातायातको सहजता बढाउनेछ भन्ने पनि स्थानीयको आशा रहेको छ । यसरी हेर्दा खेलकुद, स्वास्थ्य र सार्वजनिक सेवाहरूको विस्तार वीरेन्द्रनगरका बासिन्दाहरूको आशाको महŒवपूर्ण पक्ष हो ।
३. वीरेन्द्रनगरका प्रमुख सार्वजनिक सवालहरू

वीरेन्द्रनगरका नागरिकहरूले सहरका प्रमुख समस्याहरू विभिन्न क्षेत्रसँग सम्बन्धित रहेको बताएका छन् । सर्वेक्षणअनुसार सबैभन्दा बढी चिन्ता खानेपानीको सुविधा ८०.९९% र विद्युत आपूर्तिमा ७९.५१% रहेको देखिन्छ । त्यस्तै, फोहरमैला व्यवस्थापन ७४.०७% र लागुपदार्थ दुव्र्यसन ६९.६३% पनि प्रमुख चुनौतीका रूपमा देखा परेका छन् । यातायात सुविधा र पार्किङ ५९.७५% तथा भ्रष्टाचार र सुशासन ५९.२६% पनि धेरै नागरिकको ध्यानाकर्षणमा छन् । वीरेन्द्रनगरमा आधारभूत सेवाजस्तै खानेपानी, विद्युत र फोहर व्यवस्थापनप्रति सर्वाधिक ध्यान आवश्यक रहेको भने अन्य सामाजिक, आर्थिक र प्रशासनिक समस्याहरू पनि नागरिकको दैनिक जीवनमा असर पार्ने चुनौतीका रूपमा रहेको यसबाट देखिन्छ । सर्वेक्षणअनुसार सबैभन्दा बढी नागरिक ४८.६४% ले सडक व्यवसाय व्यवस्थापन आवश्यक ठानेका छन् । यसका अतिरिक्त, सडक तथा पेटी व्यवस्थापन १७.५३% र सरसफाई तथा फोहर व्यवस्थापन १७.०४% पनि महŒवपूर्ण सुधारको आवश्यकता रहेको देखिएको छ ।
सुझावहरू
वीरेन्द्रनगर सहरको विकास र प्रगतिमा सामुदायिक संलग्नता, साँस्कृतिक गतिविधिहरू र स्वरोजगारका अवसरहरू अत्यन्त महŒवपूर्ण छन् । यस अध्ययनका आधारमा, वीरेन्द्रनगरलाई समग्रममा दिगो सहरी विकासको अवधारणा अनुसार विकास गर्नको लागि केही प्रमुख सुझावहरू प्रस्तुत गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको पहिलो गुरुयोजना र त्यसको कार्यान्वयनको हालको अवस्था र चुनौतीहरू एवम् नयाँ गुरुयोजना निर्माणमा काम गर्न आवश्यक छ ।
वीरेन्द्रनगरलाई कसरी हरित सहर बनाउन सकिन्छ र त्यसले यहाँ दिगो सहरको लागि के योगदान गर्न सक्छ भन्ने विषयमा अध्ययनको आवश्यकता रहेको छ । जस्तै विरुवा रोप्दा यहाँको परिवेश र आवश्यकताका आधारमा विरुवाहरू रोप्नुपर्छ । यहाँ कुन विरुवा रोप्न आवश्यक छ र त्यसको फाइदा तथा लागतबारे अध्ययन आवश्यक रहेको छ ।
दिगो सहरका लागि अनुकुल भौतिक संरचनाको मापदण्डका विषयमा बृहत् अनुसन्धान गरी विश्वभरीका एवम् नेपालका पनि अन्य अशल प्रयासहरूलाई अध्ययन गरी वीरेन्द्रनगरमा भौतिक पूर्वाधारको विकास अगाडि बढाउन आवश्यक छ ।
वीरेन्द्रनगरमा फुटपाथ व्यवसायको अवस्था र आवश्यकताबारे वृहत अध्ययन गरी फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न आवश्यक छ । फुटपाथ व्यवस्थापनको सम्बन्धमा नगरपालिकाको पछिल्लो कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान आवश्यक देखिएको छ ।
पहिलो चरणमा वीरेन्द्रनगर सहरमा रहेका पर्यटकीय स्थलहरूको आर्थिक लाभ विश्लेषण गरी दोश्रो चरणमा ती क्षेत्रमा लगानीको योजना बनाउन आवश्यक छ ।
योजना तर्जुमा गर्दा स्थानीय जनसंख्या र परम्परासँग मेल खाने विकास योजनाहरू छनोट गर्नुपर्छ । यसमा स्थानीय समुदायको सहभागिता र परामर्शलाई प्राथमिकता दिनुपर्छ ।
वीरेन्द्रनगरमा भौतिक पूर्वाधारको विकास गर्दा संघीय सरकारले आर्थिक वृद्धि र दिगो विकासका लक्ष्यहरूलाई ध्यानमा राख्नुपर्छ । साथै भेरी नदिमा नयाँ पक्की पुल निर्माणलाई प्राथमिकता दिनुपर्छ ।
वीरेन्द्रनगरमा सामुदायिक सद्भाव र एकता बढाउनका लागि विभिन्न साँस्कृतिक, साहित्यिक, बौद्धिक र खेलकुद कार्यक्रमहरूको आयोजना गर्न महŒवपूर्ण छ । यसमा विचार विमर्शका कार्यक्रमहरू, स्थानीय मेलाहरू, साहित्यिक सम्मेलनहरू र सामुदायिक खेलकुद प्रतियोगिताहरू रहेका छन् ।
प्रकाशित मितिः २७ आश्विन २०८२, सोमबार ०९:२९


दिनेश गौतम ।