व्यावहारिक शिक्षा सिक्दै बालिका

 

सुर्खेत: पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका– १३ मा रहेको आनन्द माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा प्रितिमा बुढा बोल्ने बानी बसाल्नुपर्छ र अतिरिक्त क्रियाकलापमा सहभागी भएर आफ्नो प्रतिभा देखाउनुपर्छ भन्ने सोचका साथ अघि बढिरहेकी छिन् । कक्षा ६ सम्म उनलाई शिक्षकले केही कुरा सोध्दा पनि मुटु काँपेर आउँथ्यो तर कक्षा ७ मा प्रवेश गरेसँगै साथी समूह अगुवाई (पी.जी.एल ग्रुपमा) सहभागी हुन थालेपछि उनले आत्मविश्वासका साथ आफ्नो विचार राख्दै आएकी छन् । ‘आफूभन्दा ठूलो मान्छेसँग बोल्न अप्ठ्यारो लागेर आउँथ्यो । विद्यालयमा हुने विभिन्न क्रियाकलापमा सहभागी हुन पनि लाज लाग्थ्यो । अहिले त्यस्तो केही लाग्दैन,’ बुढाले भनिन्, ‘पी.जी.एल ग्रुप सिकाइले व्यावहारिक बन्न प्रेरित गरेको छ ।’

बालिका शिक्षाको दिगोपना र मूलप्रवाहिकरणका लागि सञ्चालित जेम्स परियोजनाले किशोरीहरूको अंग्रेजी, डिजिटल तथा सामाजिक सीपमा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको छ । पी.जी.एल ग्रुप सिकाइ पाठ्यक्रममा आधारित नभई बाहिरी वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित गर्ने र जीवनोपयोगी हुँदा बालिका लाभान्वित भएका छन् । सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ, सबैसँग मिलेर बस्नुपर्छ, सरसफाइमा विशेष ध्यान दिनुपर्छ भन्ने जान्न र व्यवहारमा उतार्न उक्त सिकाइले सहयोग गरेको गुर्भाकोट नगरपालिका वडा नं. १० मा रहेको भेरी माविमा अध्ययनरत छात्रा चादनी आचार्यले बताइन् । ‘२० वर्ष नपुगी विवाह गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जान्न पायौँ । आफूमाथि कोहीकसैले गलत नजरले हे¥यो भने सहेर बस्नुहुन्न, बोल्नुपर्छ र आफू सचेत हुनुपर्छ भन्नेजस्ता धेरै ज्ञान हामीले पाएका छौँ,’ आचार्यले भनिन्, ‘पी.जी.एल ग्रुपमा आवद्ध भएदेखि विद्यालय नियमित आउन मन लाग्छ ।’

किशोरीहरूलाई लेखन, सार्वजनिक रूपमा बोल्ने कला, डिजिटल दक्षता, सामाजिक समझदारी र नेतृत्व क्षमतामा सुधार गर्न जेम्स परियोजनाले सहयोग गरिरहेको छ । पी.जी.एल ग्रुपमा सहभागी सन्ध्या विकले आत्मविश्वासका साथ विचारहरू स्पष्ट रूपमा प्रस्तुत गर्न सक्ने सीप सिकिरहेको बताइन् । डिजिटल साक्षरताको दृष्टिले समेत कार्यक्रम उपयोगी बनेको उनको भनाइ छ । वि.कले ल्यापटप प्रयोग गर्ने, टाइपिङ सुधार गर्ने, गुगल मिट र युट्युब जस्ता एप प्रयोग गर्ने, इमेल पठाउने तथा अनलाइन सुरक्षा नियमहरूबारे ज्ञान हासिल गरेको बताइन् ।

आसमान नेपाल अन्तर्गत जेम्स परियोजनाले गुर्भाकोट नगरपालिकाका सात वटा विद्यालयका कक्षा ७ मा पढ्ने बालिकालाई मात्र व्यावहारिक शिक्षा दिने गरेको छ । ब्रिटिस काउन्सिलले निर्माण गरेको पाठ्यपुस्तकमा आधारित रहेर शुक्रवार र शनिवार निश्चित स्थानमा व्यावहारिक शिक्षा दिने गरिएको छ । किशोरावस्थामा आउने मानसिक तथा शारीरिक परिवर्तनलाई सहज रूपमा लिन पनि यो सिकाइले सहयोग पुगेको आसमान नेपालका कार्यक्रम संयोजक दुर्गा गाहा मगरले बताइन् । यो पी.जी.एल ग्रुपमा सहभागी बालिका सम्बन्धित विषयमा तर्कवितर्क राख्न सक्षम भएको, कुनै समस्या आए नआत्तिएर कसरी समाधान गर्ने भनेर सोच्न सक्ने भएको ब्रिटिस काउन्सिलका मास्टर्स टेनर लोकबहादुर खत्रीले बताए । ‘बोल्दै नबोल्ने बालिका मज्जाले बोल्ने, आफ्नो अभिव्यक्ति राख्ने गरेको देख्छु,’ खत्रीले भने, ‘विद्यालयमा कुनै अतिरिक्त क्रियाकलाप भयो भने बालिकाको सहभागिता धेरै हुन्छ । विजेता पनि उनीहरू नै हुन्छन् । छोटो समयमा उनीहरूमा आएको यो परिवर्तनले पहिले नै यो शिक्षा किन लागू गरिएनछ भन्ने लागेको छ ।’ सामुदायिक विद्यालयमा यो सिकाइ निकै प्रभावकारी रहेको पाइएको उनको भनाइ छ ।

 

पाँच दिने तालिम

यसैबीच बालिकाको सशक्तिकरणका लागि वीरेन्द्रनगरमा पाँच दिने तालीम गरिएको छ । आसमान नेपालको आयोजना ब्रिटिस काउन्सिल र गुर्भाकोट नगरपालिकाको साझेदारीमा बालिकाको सशक्तिकरणका लागि तालिमको आयोजना गरिएको हो ।

नगरपालिकाका तीन वटा सि.एल.सी अन्तर्गतका आठवटा सामुदायिक विद्यालयमा क्लब सञ्चालनका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको आसमान नेपालको कार्यक्रम संयोजक दुर्गा गाहा मगरले बताइन् । उनका अनुसार परियोजनाले किशोरीहरूमा अंग्रेजी, डिजिटल र सामाजिक सीप विकासमा उल्लेखनीय योगदान पु¥याएको छ । तालिममा २० जना किशोरीहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण ब्रिटिस काउन्सिलका मास्टर्स टेनर लोकबहादुर खत्री र बबिता शर्माले गरेका थिए ।

 

प्रकाशित मितिः   २६ आश्विन २०८२, आईतवार १०:००