मतदान गर्न आतुर नयाँ मतदाता
सुर्खेत: आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।
शुक्रवार निर्वाचन कार्यालय सुर्खेतमा भेटिएका वीरेन्द्रनगर–३ का २१ वर्षीय सविन भट्टराईले फागुनमै चुनाव हुने भएपछि आफू उत्साहित भएको बताए । देशको विकासका लागि योग्य उमेद्वार छान्ने हतियार भएकाले मतदाता नामावली दर्ता गर्न आएको उनले सुनाए । उनले भने, ‘सोचेको त दुई वर्षपछि चुनाव हुन्छ भन्ने थियो, तर छिटै हुने भएपछि उत्साहित छु, योग्य उमेद्वार छनोट गर्नका लागि पनि मतदाता नामावली त बनाउनैप¥यो ।’ जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा उनको जोड छ । सविनल भने, ‘जे भयो–भयो, अब अगाडि बढ्नुपर्छ, तर अब पुरानै दल र पुरानै अनुहार उठे भने केही हुन्न, कि जेनजी कि कोही नयाँ काबिल मान्छे आउनुपर्छ ।’
विगतमा मतदानप्रति उदासीन रहेका युवाहरू पनि यसपटक भने आशावादी देखिएका छन् । वीरेन्द्रनगर–११ की सविता गौतमले यसअघि भोट हालेर देश विकास नहुने सोचेर नामावलीमा नाम दर्ता नै नगरेको सुनाइन् । यो पटक भने आफ्नै इच्छाले नामावली दर्ता गराएको उनको भनाइ छ । ‘पहिले जसलाई भोट दिए पनि केही हुँदैन भन्ने लाग्थ्यो, त्यसैले वास्ता गरिएन,’ उनले भनिन्, ‘तर अब भोट दिनुपर्छ भनेर नाम दर्ता गर्न आएकी हुँ । आशा छ, अब नयाँ अनुहार आउँछ र उसैलाई भोट हाल्ने हो, पुराना पार्टी र पद्धतीले देश बन्दैन ।’
सोही वडाकी विनिता पन्तले पनि विगतमा आफू काठमाडौंमा बस्ने र उम्मेदवारहरू पनि चित्तबुझ्दो नभएकाले मतदानमा रूचि नभएको बताइन् । ‘हालैको आन्दोलन र परिवर्तनको माहोलले अब अलिकति चित्तबुझ्दो मान्छे उठ्नुहुन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘आफ्नो एउटा भोटले पनि फरक पार्छ भन्ने सोचेर मतदाता नामावली दर्ता गर्न आएकी हुँ ।’ उनले नयाँ स्वतन्त्र उम्मेदवार वा पुराना दलभित्रकै राम्रो काम गर्ने व्यक्तिलाई रोज्ने संकेत गरिन् । हालैको ‘जेन–जी’ आन्दोलनले जगाएको राजनीतिक चेतना र स्वतन्त्र उम्मेदवारहरूको उदय हुनसक्ने संकेतले युवाहरूलाई आफ्नो एक मतको शक्तिबारे सोच्न बाध्य बनाएको देखिन्छ, जसको प्रभाव आगामी चुनावमा देखिने निश्चित छ ।
अहिले मतदाता नामावली दर्ता गर्न आउनेहरूमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेको कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा हिजोआज बिहानदेखि साँझसम्म फोटो खिचाउन आउनेमा युवा बढी देखिएका हुन् । गएको पाँच दिनमा चार सय १० जनाले मतदाता नामावलीमा नाम समावेश गर्न फोटो खिचाइ आवेदन दिएका छन् ।
जेन–जी आन्दोलनपछिको निर्वाचन भएकाले युवाहरू मतदाता बन्न इच्छुक देखिएका हुन् । १७ देखि २५ वर्ष उमेर समूहका ८० प्रतिशत बढी युवा मतदाताका लागि आवेदन दिन आइरहेको निमित्त प्रदेश निर्वाचन अधिकृत नन्दाराम चौलागाईले बताए । यो पटक नामावली दर्ता गराउन आउनेहरूमा युवाको संख्या धेरै पाइएको उनले जनाए । उनले भने, ‘अनलाइनबाट फर्म दर्ता हुन्छ, कार्यालयमा फोटो खिच्ने र रुजु गर्ने काम मात्र भएकाले भीड छैन, सामान्य र सहज तरिकाले नामावली दर्ता भइरहेको छ ।’
असोज १०, ११, १२, २० र २१ गरी पाँच दिनमा फोटो खिचाउन आउनेहरू बढेको चौलागाईले बताए । असोज १३ देखि १९ सम्म दसैँ बिदामा कार्यालय बन्द रहेको थियो । अहिले भीड बढ्न थालेपछि सहजताका लागि निर्वाचन कार्यालयले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिइरहेको उनले बताए । निर्वाचन घोषणासँगै निर्वाचन आयोगले अध्यादेश ल्याएर आगामी कार्तिक मसान्तसम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो ।
गएको निर्वाचनमा कर्णाली प्रदेशभर कूल मतदाता १० लाख आठ हजार चार सय तीन जना थिए । त्यसमध्ये पुरुष मतदाता पाँच लाख १० हजार चार सय २० र महिला मतदाता चार लाख ९७ हजार नौ सय ८० जनाले थिए । गत निर्वाचनमा कर्णालीमा अन्य मतदाताको संख्या तीन जना रहेको छ । प्रदेशमा नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन वटा मतदान केन्द्र थिए ।



रजनी याेगी ।