युवामा उत्साह

आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । जेन–जी आन्दोलनको बलमा संसद् विघटन भएपछि फागुन २१ मा निर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि अहिले मतदाता नामावली संकलनको काम चलिरहेको छ । त्यसो त निर्धारित मितिमा चुनाव हुन्छ या हुँदैन भन्ने संशय पनि कायमै छ । राजनीतिक दलहरू नै निर्वाचनलाई लिएर विश्वस्त देखिँदैनन् । यद्यपि, सरकारले भने निर्वाचन लक्षित तयारी अघि बढाइसकेको छ । निर्वाचन आयोगले त्यसका लागि कार्यतालिका नै सार्वजनिक गरिसकेको छ । यदी कुनै अवरोध नभएमा फागुनमा निर्वाचन हुनेछ । केही संशयकैबीच भएपनि निर्वाचनलाई लिएर मुलुकमा फरक माहोल निर्माण भएको छ ।

आगामी निर्वाचनलाई लिएर पछिल्लो पुस्तामा उत्साह देखिन्छ । जेन–जी आन्दोलनले मुलुकको राजनीतिक परिस्थिति नै नयाँ मोडमा पु¥याइदिएको छ । यसको सकारात्मक प्रभावको कुरा गर्दा नयाँ पुस्तामा राजनीति र निर्वाचनप्रति बढ्दो चासो र आकर्षणलाई हेर्न सकिन्छ । जेन–जी पुस्ताका युवाहरूलाई राजनीतिप्रति चासो नराख्ने वेप्रवाह नागरिकहरूको समूहका रूपमा चर्चा गर्ने गरिएको थियो । तर देशमा व्याप्त बेथितिका विरुद्ध उनै जेनजीहरू सडकमा उत्रिए । दुई दिनमा राज्यसत्ता नै फेरबदल गरिदिए । भलै आन्दोलनमा अनपेक्षित रूपमा क्षति पुग्यो । मानवीय र भौतिक क्षतिलाई छोड्ने हो भने पछिल्लो पुस्तामा रहेको राजनीतिक चेतनाको उजागर उक्त आन्दोलन गरेको छ । त्यसैको प्रभाव मतदाता नामावली संकलनमा पनि देखिएको छ । फागुनको निर्वाचन लक्षित मतदाता नामावली दर्ता गर्नेमा युवाहरूको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् । हालैको ‘जेन–जी’ आन्दोलनले जगाएको राजनीतिक चेतना र स्वतन्त्र उम्मेदवारहरूको उदय हुनसक्ने संकेतले युवाहरूलाई आफ्नो एक मतको शक्तिबारे सोच्न बाध्य बनाएको देखिन्छ, जसको प्रभाव आगामी चुनावमा देखिने निश्चित छ ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयलेका अनुसार अहिले मतदाता नामावली दर्ता गर्न आउनेहरूमा ८० प्रतिशतभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । जेन–जी आन्दोलनपछिको निर्वाचन भएकाले युवाहरू मतदाता बन्न इच्छुक देखिएका हुन् । यसले के देखाउँछ भने युवा पुस्ता आगामी निर्वाचनका लागि उत्साहित छन् । मुलुकको राजनीतिक भविष्य कोर्ने जनादेशका लागि तयार छन् । आफ्ना जनप्रतिनिधि छनोटका लागि उद्यत देखिन्छन् । किनभने लोकतान्त्रिक मुलुकको राजनीति जति छिटो सुधार हुन्छ, त्यति नै छिटो मुलुकले समृद्धिको बाटो हिँड्न थाल्दछ । त्यसका लागि विकृत राजनीतिलाई चुनावमार्फत नै सुधारको बाटोमा ल्याउनु अपरिहार्य छ । युवा बाहुल्य मतदाता रहेको नेपालका लागि निर्वाचन र त्यसको नतिजा देशको भविष्य कोर्ने माध्यम हुन् ।

प्रकाशित मितिः   २६ आश्विन २०८२, आईतवार १७:४३