सुरक्षा निगरानी
दसैँको समय छ । अध्ययन वा रोजगारीको सिलसिलामा शहर वा घरभन्दा टाढा पुगेकाहरू दसैँ मनाउन घर फर्किन थालेका छन् । त्यसैले सवारी साधन र यात्रुको चाप बढेको छ । घटस्थापनासँगै सुर्खेत बसपार्कमा पनि यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्नसमेत घण्टौ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । यात्रुको संख्या अत्यधिक र सवारी साधनको संख्या कम हुँदा निकै सास्ती भोग्नुपर्ने बाध्यता छ । अध्ययन, जागिर र व्यवसायको लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरू फर्किंदा बसपार्कमा घुइचो पनि उत्तिकै देखिन्छ ।
बसपार्कमा विशेष गरि दैलेख, कालीकोट, जुम्लाको टिकट काउन्टरमा यात्रुको भिड बढी हुन्छ । सबै भन्दा बढि दैलेख जाने यात्रुहरू हुने गर्दछन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्ने गर्दछ । तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको छ । तर त्यो पनि पर्याप्त छैन । नियमित क्यु भन्दा बाहेक प्रत्येक रुटमा १०–१२ वटा गाडी थप गरिएको छ । अझै ६० वटा जति गाडी थप्नुपर्ने अवस्था रहेको यातायात व्यवसायीहरू बताउँछन् । त्यो त कर्णालीका सबैै जिल्लाका लागि प्रत्येक रुटमा नियमित क्यु भन्दा १०–१२ गाडी थप गरिएको छ । सवारी र यात्रुको चाप बढेपछि ट्राफिक प्रहरी पनि सक्रिय भएको छ । सुर्खेतमा मात्रै ४१ स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । केही दिनयता सवारी चाप बढेपछि दुर्घटना नहोस भनेर नियमनमा जोड दिइएको छ । घटस्थापनादेखि विभिन्न रुटमा गाडीहरूको चाप बढेको छ । कर्णाली रजमार्गमा नियमितभन्दा करिब ४० प्रतिशत बढी गाडी गुड्न थालेका छन् । यो चाप अझ बढ्नसक्छ । त्यसैले सडक सुरक्षाका लागि ट्राफिक निगरानी अपरिार्य हुन्छ ।
दसैँ सुरु भएसँगै मुख्य–मुख्य बजारमा चहलपहल पनि बढेको छ । दसँैमा सामान किनबेच गर्नेको बाक्लो भीड देखिन्छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा सामान किनमेल गर्नेको घुइचो देखिन थालेको छ । घटस्थापना सुरु भएदेखि नै बाक्लो उपस्थिती हुन थालेको हो । वीरेन्द्रनगरमा दशवटै जिल्लाका मानिसहरू रोजगारी पठनपाठनका लागि बस्ने र बाहिर जिल्लाबाट यही बाटो हुँदै गन्तव्य तय गर्छन् । कर्णालीका अन्य शहर भन्दा वीरेन्द्रनगरमा दोब्बरले व्यापार हुन्छ । दसैँ आउन लागेसँगै वीरेन्द्रनगरको मुख्य बजारमा भीड बढेको छ । यस्तो बेलामा सडक सुरक्षाका साथसाथै शहरी क्षेत्रहमा हुन सक्ने असुरक्षा र ठगीका घटनाहरूमाथि पनि निगरानी आवश्यक देखिन्छ ।
प्रकाशित मितिः १२ आश्विन २०८२, आईतवार ०५:०३
सम्पादकीय ।