दसैँमा घर पुग्नै सकस

सुर्खेत: रोजगारीको सिलसिलामा परिवारसहित भारत पुगेका दैलेखको दुल्लू–१० का रामबहादुर विक दसैँको छेको पारेर घर फर्किएका छन् । शुक्रवार बिहान सुर्खेत बसपार्कमा भेटिएका उनले भारतबाट नेपाल आउँदासम्मको सास्ती सुनाए । ‘सात जनाको परिवारसहित गाउँ फर्केको, एउटै गाडीमा सिट नपाइँदा बाटोमा नै तितर–वितर हुनपर्यो । चर्को भाडा तिर्नुप¥यो, सिट नपाइने समस्या धेरै झेल्नुपर्यो ।’
उनले सुर्खेत आइपुग्दासम्म मात्रै होइन, सुर्खेतबाट दैलेख जानलाई पनि उस्तै सास्ती बेहोर्नुपर्यो । उनी भन्छन्, ‘दसैँको बेला गाडी नपाउँदा चर्को भाडा तिर्नुपर्ने र भाडा तिरे पनि राम्रोसँग सिटमा बसेर सवार गर्न नपाउँदा निकै समस्या भोग्नुपर्यो ।’ उनी जसोतसो गाडिमा कोचिएरै भएपनि शुक्रवार घरतर्फ लागे । विगतका केही वर्षमा कोरोनाको कहर तथा अन्य विभिन्न समस्याका कारण दसैँमा घर आउन पाएका थिएनन् । अहिले अवस्था सहज भएपछि दसैँ मनाउन घर आउँदा बाटोमा गाडी नपाउँदा सास्ती खेप्नु परेको विकको भनाइ छ ।
त्यसो त यस्तो समस्या रामबहादुरको मात्रै होइन, यतिबेला दसैँ मनाउन घर फर्किंदै गरेका हरेकजसोले यस्तै समस्या झेलिरहेका छन् । यस वर्षको बडादसैँ सुरु भइसकेको छ । अध्ययन वा रोजगारीको सिलसिलामा शहर वा घरभन्दा टाढा पुगेकाहरू दसैँ मनाउन घर फर्किन थालेका छन् । यसरी घर फर्किंदा भने निकै सास्ती भोग्नुपर्ने बाध्यता छ ।
कालीकोटका नरबहादुर न्यौपाने पनि शुक्रवार बसपार्कमै भेटिए । उनी घर जाने गाडीको खोजीमा थिए । घरसम्म पुग्ने टन्नै गाडी भेटिएपनि सिट नपाउँदा उनी निराश देखिन्थे । न्यौपानले काठमाडौंदेखि सुर्खेतसम्म पुग्दा निकै कष्ठघर यात्रा भोग्नु परेको सुनाए । ‘काठमाडौंमा गाडी नपाएर दुई दिन बसपार्कमा बास बस्नु पर्यो’ उनले भने, ‘पछि गाडी पाए पनि ४८ घण्टासम्म उभिएरै सुर्खेत पुगियो ।’ यहाँबाट पनि सहज रूपमा गाडी नपाइएको उनको दुखेसो छ । चर्को भाडा तिरेर पनि सहजरूपमा यात्रा गर्न नपाउनु र उभिएर नै लामो यात्रा गर्दा निकै समस्या हुने न्यौपानेको भनाइ छ ।
घटस्थापनासँगै सुर्खेत बसपार्कमा यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्न समेत घण्टौ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । काठमाडौंमा बसेर अध्ययन गर्ने जुम्लाका रिता खत्री सुर्खेतमै बसेको दुई दिन भइसक्यो । बुधवार काठमाडौंबाट सुर्खेत आइपुगेकी रिताले दुई दिनसम्म गाडीको टिकट पाउन सकिनन् । अत्यधिक भिड हुँदा शुक्रवार भने घर जानका लागि धाैँ–धाैँ टिकट काटेको उनले बताइन् ।
अध्ययन, जागिर र व्यवसायको लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरू फर्किंदा बसपार्कमा घुइचो पनि उत्तिकै देखिन्छ ।
बसपार्कमा विशेष गरि दैलेख, कालीकोट, जुम्लाको टिकट काउन्टरमा यात्रुको भिड बढी नै थियो । सबै भन्दा बढि दैलेख जाने यात्रुहरू हुने गर्दछन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्ने गर्दछ । तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको संयुक्त यातायातका संयोजक नारायण चपाईले बताए । ‘घटस्थापनादेखि नै घर जाने यात्रुहरूको भिड छ,’ उनले भने, ‘नियमित क्यु भन्दा बाहेक प्रत्येक रुटमा १०–१२ वटा गाडी थप गरिएको छ । अझै ६० वटा जति गाडी थप्नुपर्ने हुन सक्छ ।’ कर्णालीका दशवटै जिल्लामा प्रत्येक रुटमा नियमित क्यु भन्दा १०–१२ गाडी थप गरिएको उनले बताए ।
सवारी र याुत्रको चाप बढेपछि ट्राफिक प्रहरी पनि सक्रिय भएको छ । सुर्खेतका ट्राफिक प्रहरी प्रमुख भावेश रिमालले ४१ स्थानमा सहायता कक्ष स्थापना गरिएको बताए । केही दिनयता सवारी चाप बढेको भन्दै उनले दुर्घटना नहोस् भनेर नियमनमा जोड दिएको जनाए । ‘घटस्थापनादेखि विभिन्न रुटमा गाडीहरूको चाप अलि बढेको छ । बिहीवार कर्णाली रजमार्गमा नियमितभन्दा करिब ४० प्रतिशत बढी गाडी गुडेका थिए । शनिवार, आइतवारदेखि त्यो भन्दा बढी चाप हुनसक्छ’ उनले भने । गाडीको चापलाईं मध्यनजर गरि ठाउँ–ठाउँमा चेकजाँच पनि बढाइएको रिमालले बताए । नेपालगञ्जबाट सुर्खेत आउने मुख्य नाका बबईमा पनि सुरक्षा निगरानी बढाइएको छ ।
बजारमा बढ्दो चहलपहल
मुख्य–मुख्य बजारमा दसैँको चहलपहल बढेको छ । दसैँमा सामान किनबेच गर्नेको बाक्लो भीड देखिन्छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सामान किनमेल गर्नेको घुइचो देखिन थालेको छ । घटस्थापना सुरु भएदेखि नै बाक्लो उपस्थिति हुन थालेको हो । सामान्य समयभन्दा व्यापार दोब्बरले बढेको वीरेन्द्रनगरमा कपडा व्यावसायी गर्दै आएकी अम्बीका कोइरालाले बताइन् । दिनहूँ सामान किन्नेको घुइचो लाग्ने गरेको भन्दै उनले अन्य सयभन्दा ५० प्रतिशतले व्यापार बढेको जनाइन् ।
वीरेन्द्रनगरमा दशवटै जिल्लाका मानिसहरू रोजगारी पठनपाठनका लागि बस्ने र बाहिर जिल्लाबाट यही बाटो हुँदै गन्तव्य तय गर्छन् । कर्णालीका अन्य शहरभन्दा वीरेन्द्रनगरमा दोब्बरले व्यापार हुन्छ । दसैँ आउन लागेसँगै वीरेन्द्रनगरको मुख्य बजारमा भीड बढेको छ । खासगरी वीरेन्द्रचोक, यरीचोकलगायत क्षेत्रमा किनमेलका लागि मानिसहरूको घुइँचो लागेको छ । साना पसलदेखि ठूला सपिङ मलसम्म मानिसहरू सामान हेर्दै र किनमेल गर्दै गरेका देखिन्छन् । व्यापारीहरूलाई पनि अहिले भ्याइ–नभ्याइ छ ।


रजनी याेगी ।