हजारी माला
लिखुरे कमाउन भनी भारतको गुजरात गएको दुई वर्ष भयो । बाबु नहुँदा सानो छोरा कमाउन परदेश गएको वर्ष दसैँ–तिहारमा नआउँदा आमा हिउँकलीको अमिलो मन भएको थियो । यो दसैँमा नआए पनि तिहारमा अवश्य आउँछ होला, म माया बिसाउने छु, छोरी रामकली दाईसँग टिका लगाउन पाउँछे होली ? हरेक दिन आउने बाटोतिर हेर्दै गर्छे ।
छोरी रामकली भन्छिन्, ‘यो तिहारमा त दाजुसँग टिका लगाउन पाउँछु होला आमा ?’
‘आउनु त पर्ने हो छोरी ! दसैँमा आउँछु भनेको छोरा तिहारमा त आउला ?’ दाजुप्रतिको माया भाइबहिनीले तिहारमा टिका थाप्ने कुराले एकछिन उनको मन हर्षित हुन्छ, आँखाबाट आँशु खस्छन् । हिउँकली छोरी राकलीलाई भन्छिने, ‘के गर्नु छोरी, आफ्नै देशमा काम पाउने भए पराइको देशमा किन जान्थ्यो होला ? हाम्रो देशका सरकार कहिले पनि उद्योग धन्दा खोल्दैनन् । सामान्त दलाल हामीले तिरेको करमा मोजमस्ती गरेर खान्छन् । हाम्रो गाउ“ बस्तीबाट प्रायः युवाहरू देश छोडी प्रदेशमा कमाउन जान्छन् । कुनै चाडपर्वमा परिवारसँग बसेर मनाउन पाउँदैनन् ।’
रामकली सोध्छिन्, ‘हाम्रो दाजुले परदेशबाट पठाएको पैसा के गर्नु हुन्छ आमा ?’
‘हेर छोरी, दाजु प्रदेश जाँदा गाउँमा कान्छा साहुबाट लिएको ऋणको ब्याज तिर्न र हामी आमाछोरीलाई लाउनखानमा नै खर्च हुन्छ । चर्को ब्याजले अहिलेसम्म कान्छा साहुको साँवा रकम तिर्न सकेका छैनौँ । खेतीमा पनि राम्रो अन्न उत्पादन हुँदैन । खानासमेत बाहिर देशबाट ल्याएर हामी किनेर खान्छौँ ।’ आमा छोरीलाई सम्झाउन खोज्छिन् । रामकलीको कलिलो मष्तिस्कमा विकास, ऋण–दाम र खेतीपाती’का कुराले केही असर पर्दैन ।
यता दसैँमा कान्छा साहु रितबहादुरको घरमा टिका लगाउनेहरूको चहलपहल मात्र उसको दिमागमा बसेको छ । नेपालमा सरकारी जागिरेलाई राज्यले दसैँमा एक महिना बराबरको बढी तलब दिने गरेको छ । रितबहादुर पनि विद्यालयमा शिक्षक भएकोले बडादसैंमा एक महिना बराबरको दसैँ पेश्की थप पाउछन् । नेपालमा जुनसुकै सत्ता परिवर्तन भएपनि सामान्तहरूकोे मान–रवाफमा कमी आएको छैन । यिनीहरू समयसापेक्ष पिपलको पात फर्के जस्तै बोलीमा लोली मिलाएर गाउँमा शोषण दमन गर्दै आइरहेका छन् ।
हिउँकलीका श्रीमान् तुलमानको मृत्यु भएको पनि दश वर्ष भइसक्यो । निमोनियाको उपचार गर्न नपाएर कलिलो उमेरमा उनको मृत्यु भएको थियो । हिउँकलीले जवानीको भेललाई साना नानीहरू हुर्कान हत्केलामा राखेर बिताएकी छिन् । राती सुत्नेबेला योवनको उन्मुक्ततालाई दबाएर सोच्छिन्, छोराछोरीलाई विवाह गराई घरजाम गर्न पाए हुन्थ्यो । अब सोचौँला आफ्नोबारे भनेर उन्मुक्त मनलाई दबाएर हररात निदाउँछिन् ।
दसैँ सकिएपछि लगत्तै तिहार आउन थालेको छ । रामकली कक्षा पा“चमा पढ्छिन् । दसैँ तिहारमा विद्यालय बन्द हु“दा उनी वस्तुभाउ चराउन वनमा जान्छिन् । वनमा आफ्ना साथीसंगीहरूसँग भन्छिन्, ‘तिहारमा त हाम्रो दाजु प्रदेशबाट आउनुहुन्छ दाजुसँग टिका लगाउँछु । दाजुले मलाई दक्षिणा दिनुहुन्छ । जात्रामा गएर समानहरू किन्छु, मिठाइ खान्छु ।’
लिखुरेलाई भने दसैँमा घर जान नपाएकोमा त्यति पिर छैन । तिहारमा बहिनीसँग टिका लगाउने ठूलो धोको दुई वर्षदेखि बल्झेको छ । भारतमा तिहारलाई नेपालको बडादसैँ जस्तै धुमधामसँग मनाइन्छ । त्यहाँ सरकारीदेखि निजी कम्पनीहरूले समेत तिहारमा आफ्ना कर्मचारीलाई एक महिना बढीको तलब बोनस दिने चलन छ ।
तिहारमा होटलको व्यापार राम्रो हुन्छ । राम्रो आम्दानी हुने गर्छ । त्यही कारणले सेठहरूले होटलमा काम गर्ने युवाहरूलाई तिहारमा घर जान दिँदैनन् । एक महिना अगाडिबाट उनीहरूले पाउने तलब रोकेर राख्छन् । लिखुरे साहुको ऋण साँवा–व्याज सबै बाँकी भएपनि आमाको माया र तिहारमा बहिनीसँग टिका लगाउने मन चहचह हुन्छ ।
ऊ सेठलाई गएर भन्छ, ‘सेठजी, तिहारमा मलाई छुट्टी देऊ ।’
सेठ भन्छ, ‘छुट्टी नहि“ मिलेगा, होटल मेँ तिहार मेँ ज्यादा कमाई होता है । तिहार के पिछे छुट्टी मिल जाएगा थप बोनस भी मिलेगा ।’ सेठले अघिल्लो महिनाको तनाखा पनि दिएन ।
लिखुरे भने अन्य होटलमा काम गर्ने नेपाली केटाहरूसँग सापट रकम मागेर भएपनि घर जान तम्सन्छ । तर उनीहरूसँग पनि घर फर्कने भाडासमेत नभएर यो वर्षको तिहार पनि होटलमै बिताउन बाध्य हुन्छन् ।
उता घरमा दाजुलाई तिहारमा हजारी माला लगाउने भनी रामकलीले बारीमा हजारी फूल सजाएर लगाएकी थिइ । यसपटक पनि तिहारमा लिखुरे आमा र बहिनीलाई भेट्न र टिका लगाउन नपाएकोमा बेचैन भएको थियो ।
तिहारमा गुजरातका गल्ली, चोक, ठूला–साना घर, होटल–कारखाना विभिन्न प्रकारले रङगीविरङी फूलबत्तिहरूले सजाएका छन् । हरेक घरको दैलो अगाडि विभिन्न रङले सजाएर राखिएको छ । पटका पड्काउनेहरूले उधुम मच्चाइरहेका छन् । यो रङगोली होटलमा तिहारको खुसस्यालीमा खाना खानेहरूको घुइँचो बिहान ११ बजेदेखि राती १ बजेसम्म चलिरहेको छ । रङगोली होटलमा प्रायः नेपाली केटाहरू मात्र विभिन्न काममा देखेपछि कोही सोध्छन्, ‘के तिमीहरूको दिवाली हुँदैन ? तिमीहरूको दिदी–बहिनी छैनन् ?’ यी प्रश्नहरूले लिखुरेको मनमा अनेकौ प्रकारका सुनामी छालहरू उर्लिन्छन् । मन विथोलिन्छ ।
टिका लगाउने दिन रामकली घरी दाजु आउने बाटोतिर हेर्दै घरी वस्तुभाउलाई घाँसपात हाल्दै हजारी माला उन्न थालेकी छे । यो तिहारमा टिका लगाउन अवश्य आज दाजु आउ“छन् होला ! मेरो निधारमा टिका–फूल लगाई दक्षिणा दिन्छन् होला ! मलाई र आमालाई नया“नया“ लुगा ल्याउ“छन् होला भन्दै चहचह भएकी छे ।
सबैका घरमा टिका लगाउने कार्य सुरु भइसक्यो । तर उसको दाजु अझै परदेशबाट आएको छैन । घरी आउने बाटो हेर्दै घरी हजारीमालातिर हेर्छे । मनमा यो साल पनि दाजु प्रदेशबाट आउँदैन की भनि चिन्तित पनि देखिन्छे । लिखुरे भने बहिनीसँग टिका नलगाएको दुई वर्ष भइसक्यो । अहिले बहिनी म आउने बाटो हेरी पर्खी बसेकी होली भनि सोचमग्न भइ उभिएको छ । ऊ बहिनी र आमाको आकृती, टिका अनि हजारी माला सम्झिन्छ । उसका आखा“बाट आ“सुका ढिका खस्न थाल्छन् । ऊ रुमालले पुच्छ । ‘तेरो आखाँबाट किन आँसु आए ? तिम्रो मन किन बिथोलिएको छ ?’ भनिदिने यो परदेशमा कोही पनि छैन ।
मध्यरातसम्म ग्राहकलाई खाना खुवाउने कार्य सकिन्छ । उसलाई आज भोक लागेन, त्यसैले खाना पनि खाएन । दुई बजे राती थकित भइ नोकरहरू बस्ने रूममा गएर ओच्छयानमा पल्टिन्छ । आज राती पनि उसको मन एक तमासले बहिनीसँग टिका लगाउने, आमासँग माया बिसाउने कुरा सुनामी लहरको छाल झै उर्लिरहेको छ । कहिले मनमन गुन्छ, ‘नेपालमा आजसम्म राज्यसत्ता चलाउनेहरूले जनताको हरेक कामको व्यवस्थापन स्वदेशमा गर्न सकेनन् ।’ ऊ सबै चिनेजानेका दलाल राजनितिज्ञहरूलाई धिकार्न पुग्छ । कहिले आफ्नो देशमा कर्म नगरेर परदेशतिर मात्र भाडाको काम खोज्न जाने सामाजिक संस्कारलाई धिकार्छ ।
यता नेपालमा बहिनी दाजु आउ“छ कि भनि पर्खदा–पर्खदा झमक्क रात पर्छ । बहिनी रामकलीलाई यो तिहारमा दाजुसँग टिका लगाएर आफ्नो रहर माया मेट्ने सबै सपना तुसारापात हु“दा ओइलाएको फूल जस्तै भइ । आज उसले खानासमेत खाइन । ‘तिहारसम्म त अवश्य आउँछु’ भनेर टेलिफोन गरेका थिए दाजुले, कहीँ केही दैवी घटना घटेर पो आएनन् कि भनि अनेक तर्कवितर्क गर्छे ।
सुत्ने बेलामा रामकली आमालाई सोध्छे, ‘आमा, दाजु किन आएनन् ?’
आमा किंकर्तव्यविमूढ भइन् । उनले बरबर आसुँ खसालिन् । केही छिनसम्म रामकली सुक्क सुक्क गरी रुदै भुसुक्क निदाइ । आमा भने यो तिहारमा पनि आफ्नो दुवै छोराछोरीको मिलन हुन नपाएकोमा रातभर एकढिक्का निदाउन सकिनन् । कोठामा पानस माथि बत्ती बलिरहेको थियो । लिखुरेलाई टिकामा लगाउने भनि बहिनी रामकलीले उनेर राखेको हजारी माला अघिल्लो वर्ष त्यही कोठाको एउटा किलामा र अर्को किल्लामा अहिले वर्ष उनेको हजारीमाला झुण्डिाएको थियो । रामकलीका आमा–छोरी हरेक दिन त्यही हजारी माला हेरेर तिहारको टिका सम्झिन्छन् । सँगै लिखुरेले परदेशबाट पठाएको तस्बिर टाँगिएको छ ।
हरेक वर्षको तिहारमा नेपाली भाइबहिनीको बिछोडले वर्षौवर्षदेखि मिलनको पखाईमा रुवाउँदै आइरहेको छ । दिदी–बहिनीहरू गाउ“घरका वनपाखामा यो गित गुन्जयमान पारिरहन्छन्ः
परदेश गएको दाजु–भाइ आएनन् ।
उनेको हजारी माला लगाउन पाएनन् ।।
-पृथ्वीबहादुर सिंह
प्रकाशित मितिः ११ आश्विन २०८२, शनिबार १४:०८

पृथ्वीबहादुर सिंह ।