खानेपानीको संकट
हिउँद र गर्मीयाममा खानेपानीको संकट भोग्दै आएका वीरेन्द्रनगरका नागरिकले मनसुनको अवधिमै पनि अभाव झेल्नु परेको छ । मुख्य चाडपर्वहरू मुखैमा आएको समयमा नै वीरेन्द्रनगरवासीको धारामा पानी आइरहेको छैन । हप्तौदेखि धारामा पानी नपाएपछि खानेपानीको समस्या भइरहेको स्थानीय नागरिकहरूले बताएका छन् । पछिल्लो सात दिनदेखि धारामा पानी नआउँदा उपभोक्ता समस्यामा परेका हुन् । सुख्खायाममा खानेपानी खपत बढी र स्रोत कम हुँदा समस्या हुन्छ भने मनसुनको समयमा समेत बाढी–पहिरो र भलले खानेपानी सेवा अवरुद्ध हुने गरेको हो ।
वीरेन्द्रनगर उपत्यकामा खानेपानीका मुख्य स्रोत झुप्रा खोला, खरी खोला, बोरी खोला र इत्राम खोला हुन् । पानीको मुख्य स्रोतको रूपमा रहेको झुप्रा खोलाको पानीको पाइप पहिरोले अवरुद्ध गरेको छ । असोज १ गतेदेखि पहिरोले पानीको आपूर्ति अवरुद्ध भएको छ । पाइप बगाउँदा वीरेन्द्रनगरका वासिन्दा खानेपानीबाट बञ्चित भएका छन् । वीरेन्दनगर–१३ को सिरेनीमा पहिरोले खानेपानीको पाइप बगाएको छ । ५० मिटर बाटो भासिँदा पाइपलाइन टुटेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । ठाउँ–ठाउँमा गएको पहिरो पञ्छाउने र पाइप मर्मतको काम भने चलिरहेको छ । वर्षाले थप अवरोध नगरे केही दिनमै पालो अनुसार पानी वितरण सुरु गरिनेछ । ठाउँ–ठाउँमा सडक खन्दा निर्माण समितिले जंगलमा ढुंगामाटो फालेका कारण पहिरो गएको हो । गत वर्षहरूमा पनि सडक खन्ने क्रममा फालेका ढुंगामाटोसँगै पहिरो जाँदा पाइप बगाएका कारण वर्षातको समयमा पानीको हाहाकार भएको थियो ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा पानीका स्रोत कम र माग अत्यधिक हुँदा खानेपानीको समस्या दिनानुदिन चुलिँदै गएको छ । वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार पाँच सय धारामार्फत खानेपानी सेवा दिइरहेको छ । सीमित स्रोतका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको देखिन्छ । वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले एक सय ६३ लिटर प्रतिसेकेण्ड पानीको अभाव हुने गरेको छ ।
बर्सेनि हुने खानेपानी संकटको समाधानका लागि दीर्घकालिन विकल्पको खोजी भइरहेको छ । भेरी नदीको पानी लिफ्टिङ गरेर उपत्यकामा ल्याउने योजना कार्यान्वयन हुँदैछ । उक्त योजना कार्यान्वयन भएमा उपत्यकाको पानी संकट समाधान हुने अपेक्षा गरिएको छ । अहिले वितरण भइरहेको पानी पर्याप्त छैन । त्यसमा पनि विभिन्न समयमा हुने प्राकृतिक विपदहरूले पानी वितरण प्रर्णालीमा क्षति पु¥याउने गरेका छन् । जसका कारण उपभोक्ताको धारामा नियमित पानी आउँदैन ।
प्रकाशित मितिः ९ आश्विन २०८२, बिहीबार ०५:०३
सम्पादकीय ।