‘सडक मानव’मुक्त प्रदेश बनाउने योजना

प्रदेशस्तरीय आश्रम बनाइने, प्रदेश सरकारद्वारा डेढ करोड बजेट

सुर्खेत: मानव सेवा आश्रमको लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । आश्रमको पूर्वाधार निर्माणका लागि कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन गरेको हो ।

सडक मानवमुक्त प्रदेश कार्यान्वयन गर्न मानव सेवा आश्रमलाई सहयोग गरिएको प्रदेश सरकारले जनाएको छ । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानवता प्रवद्र्धनका लागि थालिएको पुण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको र आवश्कताका आधारमा सहयोग गर्ने जानकारी दिए । पूर्वाधार निर्माणमा प्रदेश सरकारले हातेमालो गर्न लागेको समेत उनको भनाइ छ । गत आर्थिक वर्षमा पनि मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । उक्त वर्ष एक करोड बजेट विनियोजन गरिएको थियो ।

सुर्खेतमा मानव सेवा आश्रमका लागि विभिन्न निकायबाट आर्थिक सहयोग भइरहेको छ । स्थानीय सरकारले समेत पूर्वाधार निर्माणमा सहयोग गर्ने भएको छ । विगतदेखि नै आर्थिक तथा सामाजिक रूपमा सहयोग गर्दै आएको वीरेन्द्रनगर नगरपालिकाले पनि पूर्वाधार निर्माणका लागि डेढ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समेटेर मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि सहयोग गर्न लागिएको नगरपालिकाले जनाएको छ । डेढ करोड बराबरको पूर्वाधार निर्माणको काम नगरपालिकाले गरिदिने नगरप्रमुख मोहनमाया ढकालले बताइन् । सुरुवातीका वर्षहरूदेखि नै नगरपालिकाले सहयोग गर्दै आएको छ । आर्थिक र सामाजिक सेवाभावले विगतदेखि नै काम गरिरहेको भन्दै ढकालले यो वर्ष निर्माणको काम सुरु हुनेबित्तिकै पालिकाको तर्फबाट पूर्वाधार निर्माणको कामसमेत सुरु गर्न लागिएको जानकारी दिइन् । नगरपालिकाले गत आर्थिक वर्ष पनि डेढ करोड नै बजेट विनियोजन गरेको थियो ।

आश्रमको पूर्वाधार निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको मानव सेवा आश्रम सुर्खेत जिल्ला संयोजक सुजन गौतमले बताए । उनका अनुसार कर्णाली प्रदेशस्तरीय मानव सेवा आश्रमको भवन निर्माण गर्न लागिएको छ । वीरेन्द्रनगरको वडा नं. ११ को चारकुनेमा सडक मानवको लागि छाना, नाना तथा खानाकोे सुनिश्चितता गर्न भवन निर्माण गर्न लागिएको हो । अहिले भवनको डीपीआर निर्माणको काम भइरहेको छ । चारकुनेमा १४ कठ्ठा जग्गा खरिद गरेर भवन निर्माणको काम थालिएको हो । विभिन्न क्षेत्रबाट उठेको सहयोगबाट नै भवन निर्माण गरिनेछ ।

महायज्ञबाट नौ करोड

मानव सेवा आश्रमको पूर्वाधार निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट नौ करोड ७६ लाख रूपैयाँ संकलन भएको थियो । आश्रमले गतवर्ष वीरेन्द्रनगरको खुल्ला मञ्चमा श्रीमद् भागवत् सप्ताह ज्ञान–विज्ञान महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट नौ करोड ७६ लाख ९२ हजार आठ ४३ रूपैयाँ दान संकलन भएको हो ।

महायज्ञबाट करिब पाँच करोड रकम संकलन हुने अपेक्षा गरिए पनि लक्ष्यभन्दा करिब दोब्बर बढी दान संकलन भएको महायज्ञ मूल आयोजक समिति संयोजक डा. नवराज केसीले जानकारी दिए । ‘महायज्ञमार्फत् हामीले समुदायलाई जोडेका छौँ, एक रूपैयाँदेखि एक करोडसम्म पनि दान गर्नुभएको छ,’ केसीले भने, ‘सबै मनकारीहरूको साथ पाएर होला लक्ष्यभन्दा करिब दोब्बर दान रकम संकलन भएको छ ।’

महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ रूपैयाँ नगद जम्मा भएको छ भने एक करोड ३३ लाख २७ हजार ६ सय एक रूपैयाँ अनलाइन माध्यमबाट प्राप्त भएको छ । ३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको छ । पाँच करोड चार लाख १६ हजार ३२ रूपैयाँ स्थानीय तह र विभिन्न संघ संस्थाहरूले प्रतिबद्धता गरेका छन् भने ५७ लाख ७९ हजार पाँच सय ८२ रूपैयाँ व्यक्तिगत प्रतिबद्धता गरेका छन् । महायज्ञको कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट मात्रै ४२ लाख ७४ हजार आठ सय ८२ रूपैयाँ संकलन भएको छ । दान पेटिकामा प्राप्त दान तीन लाख २६ हजार चार सय ५५ र किताब बिक्रीबाट १३ हजार तीन सय पाँच रूपैयाँ संकलन भएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मितिः   ५ आश्विन २०८२, आईतवार १३:०१