जेन–जी आन्दोलन र प्रभाव
भुपाल सिंह ठकुरी,
गत भदौ तेस्रो साता नेपालका युवा तथा विद्यार्थीहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता, भ्रष्टाचारको अन्त्य, सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा लगायतका मुद्दाहरू उठाउँदै देशका विभिन्न ठाउँहरूमा आन्दोलन गरे । नेपालको इतिहासमा युवाहरूले गरेको सबैभन्दा ठूलो र छिट्टै राज्यसत्ता ढालेको आन्दोलनका रूपमा दर्ज भयो । देशका ठूला शहरहरू कब्जा गरियो, तीनवटै सुरक्षा निकायले विद्रोहलाई नियन्त्रण गर्न सकेनन् र देशभरी आगजनी, चोरी, लुटपाट, हत्यालगायतका घटनाहरूले देश कहालीलाग्दो अवस्थामा पुग्यो । राज्यका थुप्रै सम्पत्तिहरू लुटिए, चोरिए, भौतिक संरचनाहरू नष्ट भए अझ त्यो भन्दा ठूलो कुरा कयौँका सपना अधुरै रहे, कयौँका भविष्यहरू समाप्त भए, कयौँका जीवन नष्ट भए र कयौँका सिन्दुरहरू पुछिए ।
जेन–जीहरूको यो आन्दोलन पुरै असंगठित थियो । आन्दोलन नेतृत्वविहीन रह्यो । कसैले यसको नेतृत्व गर्न सक्ने अवस्था थिएन । कसैले चाहेर यसलाई नियन्त्रण गर्न सक्ने अवस्था थिएन किनकी यो आन्दोलनमा कुनै पनि राजनीतिक पार्टी, समुदाय वा संस्थाको वा कुनै विचारधाराको पनि थिएन । थियो त केवल यौवनावस्थादेखि २८ वर्षसम्मका उमेर समूहका मानिसहरूको । यो उमेर समूहका हरेक नागरिकहरूको भावनालाई प्रतिनिधित्व गर्दै नेपालका युवाहरू भावनात्मक रूपमा एक भए र देशैभरी जुरुक्क उठँे । आन्दोलनमा सत्ताधारी, प्रतिपक्षी, राजतन्त्रवादी, गणतन्त्रवादी, स्वतन्त्र युवा जमात कोही पनि छुटेनन्, सबैको सक्रिय सहभागिता रहेको थियो ।
भित्री कारणहरू थुप्रै भए पनि तत्कालीन कारण सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध बन्न पुग्यो । किनकी यो पुस्ता प्रविधिसँगै जन्मिएर प्रविधिसँगै हुर्किएको पुस्ता थियो । सरकारले त्यसमाथि प्रतिबन्ध लगाएपछि उसले आफ्नो सर्वस्व गुमेको अनुभूति ग¥यो, आफ्नो अधिकार पूर्णरूपमा खोसिएको अनुभूति ग¥यो र सडकमा आउन बाध्य भयो ।
सञ्चालनमा रहेका सामाजिक सञ्जाल (टिकटक, भाइवर, रेडिट, डिस्कर्ड आदि) मार्फत् युवाहरूलाई २३ गते सडकमा आउन अपिल गरियो र स्वतस्फुर्त रूपमा युवा, विद्यार्थीहरू विद्यालय–कलेजका पोशाक र झोलासहित उपस्थित भए । असंख्यक मानिसहरूको भिड काठमाडौंका सडकहरूमा उत्रिएपछि सुरक्षाकर्मीलाई स्थिति नियन्त्रणमा लिन अप्ठेरो भयो, बल प्रयोग गरियो, गोली हानी नियन्त्रणमा लिने प्रयास भयो तर स्थिति झन नियन्त्रण बाहिर गयो । त्योभन्दा अगाडि भएका राजावादीहरूको आन्दोलन, किसानहरूको आन्दोलन, शिक्षकहरूको आन्दोलन जस्तै बल प्रयोग गरेर ठेगान लगाउने सरकारले रणनीति पूर्णरूपमा असफल भयो ।
वास्तवमा यो पुस्ता वा उमेर समूूह (विशेषगरी १३–१४ देखि १९–२० वर्षसम्म) अत्यन्तै संवेगात्मक हुन्छ । अत्यन्तै नकरात्मक हुन्छ । जीवनका सबैभन्दा खतरापूर्ण अवस्था हो । मनोवैज्ञानिक हलले त यो उमेरका मानिसहरूलाई आँधी र तुफानको उमेर पनि भनेका छन् । सबैभन्दा बढी भावनामा बग्ने, घटना घटाउने, आफ्नै ज्यान प्रवाह नगरी साहसिक काम गर्न उत्तेजित हुने अवस्था पनि हो । त्यसकारण एउटा भावनामा बहकिएर सडकमा आएको यो समूहलाई बल प्रयोग गर्नु प्रत्युत्पादक भयो ।
आन्दोलनको भित्रि रहस्य र यसको परिणाम फरक रह्यो । सरकारले आन्दोलनलाई कम आंकल्नु, पुरै बेवास्ता गर्नु, प्रतिपक्षीहरूले सरकार ढाल्न आन्दोलनमा मसला थप्नु, राजावादीहरूले आन्दोलनलाई राजा फर्काउने सम्मको रणनीति बनाउनु, व्यवस्था विरोधीहरूले व्यवस्थासम्म उल्ट्याउने सपना देख्नु, विदेशीहरूले राजनीतिक अस्थिरता निम्त्याएर अभिष्ट पुरा गर्न खोज्नु जस्ता कारण आन्दोलन पुरै अनियन्त्रित भएर ठूलो धनजनको क्षति हुन पुग्यो । जब आन्दोलन हिंसात्मक र विध्वंसात्मक भइ राजनीतिक दलका कार्यालय, नेताका निजी सम्पत्तितर्फ केन्द्रित भयो त्यसपछि बल्ल थाहा भयो कि आन्दोलनको वास्तविक रूप । त्यसपछि राजिनामा ठोक्दै ज्यान बचाउन भागाभाग र सुरक्षाकर्मीको घेरामा । नेपाली युवाहरूले गरेको विद्रोहले नेपालको राजनीतिमा ठूलो उथलपुथल ल्यायो । तथापि आन्दोलनका उपलब्धिहरूको कसरी संस्थागत गर्न सकिन्छ हेर्न बाँकी नै छ । छोटो समयमा सफलता प्राप्त गरेको यो आन्दोलनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा पारेका केही प्रभावहरूलाई यहाँ केलाउने प्रयास गरिएको छ ।
१. राजनीतिक प्रभाव
तत्कालिन सामाजिक सञ्जाल माथिको प्रतिबन्धविरुद्ध उठेको जेनजीहरूको यो आन्दोलनले दुईदिनमै सत्तासिनहरूलाई सत्ताच्यूत गरि अन्तरिम सरकार गठन गर्न बाध्य पारिदियो । यस्तै जनताबाट निर्वाचित सार्वभौम संसदको विघटन गरिदिएको छ । राज्यका अङ्गहरू कार्यपालिका, न्यायपालिका ध्वस्त बनाईदियो भने सुरक्षा निकायलाई आत्मसर्मपण गर्न बाध्य पारिदियो । दशकौँदेखि राजनीतिक सत्तामा शासन समालिरहेका स्थापित राजनीतिक दलहरूको दलिय र राजनीतिक संरचनामा दरार ल्याई र त्यसका नेतृत्वहरूलाई लोकतान्त्रिक, पारदर्शिता, जवाफदेहीता, नातावाद र पदलोलुपता सम्बन्धी राम्रै सबक सिकाएको छ । सत्तामा पुग्न जे पनि गर्न पछि नपर्ने, नेतृत्वमा रहेको निरङ्कुश शैली, बाँचुञ्जेलसम्म शक्तिमा रहिराख्नु पर्ने, जसरी पनि चुनाव जित्नै पर्ने जस्ता कुराहरूमा आत्मसमीक्षा गरी जनमुखी र जनउत्तरदायी राजनीति गर्न पाठ सिकाएको छ । यो आन्दोलनले राजनीतिक पार्टीहरूमा लोकतान्त्रिकरण गर्दै नेतृत्वमा युवाहरूलाई स्थान दिन र युवाहरूको एजेण्डा स्थापित गरिदिन बाध्य पारेको छ । यदि युवाहरूको मनोभावना समेटन सकिएन भने राजनीतिक दलहरूको अस्तित्व खतरामा रहने कुरामा दुईमत छैन । यसले राजनीतिक नेतृत्वलाई मात्र होइन स्थायी सरकारको रूपमा रहेको प्रशासनिक संरचनालाई पनि सुध्रिएर जनताप्रति उत्तरदायी बन्न र जनपक्षिय काम गर्न दबाब सिर्जना भएको छ ।
२. आर्थिक प्रभाव
छोटो समयमा भएको यो विद्रोहमा हालसम्मकै सबैभन्दा ठूलो भौतिक एवम मानवीय क्षति भएको छ । विध्वसंकारी प्रदर्शनमा ७० भन्दा बढीले ज्यान गुमाउनु परेको छ भने सयाँै घाइते छन् । प्रदर्शनका क्रममा सयाँै सरकारी संरचना, व्यापारीक संरचना र नीजि सम्पतिमाथिको आगजनी, तोडफोड, चोरी, लुटपाटले राष्ट्रको अर्थतन्त्रमा नकरात्मक प्रभाव पारेको छ । उपकरण र अभिलेख नष्ट हुँदा प्रशासनिक सेवाहरूमा ठूलो व्यवधान पु¥यायो, जसले सेवा प्रदान र व्यवसाय सञ्चालनलाई असर ग¥यो । राज्यका संरचना, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको क्षतिले पुर्ननिर्माण गर्न ठूलो राशीको आवश्यकता पर्ने देखिन्छ । अर्थविदहरूले नेपालको करिब पाँच वर्षको पूर्ण बजेट पुर्ननिर्माणमा खर्च लाग्ने अनुमान गरेका छन । सुरक्षाका कारण विदेशी पर्यटकहरूको संख्या घट्न गई अर्थतन्त्र र जीडीपी प्रत्यक्ष असर पर्नसक्ने देखिन्छ । राजनीतिक अस्थिरता र हिंसाका कारण विदेशी तथा आन्तरिक लगानीकर्ताहरूले लगानी गर्ने कुरामा शंका उत्पन्न भएको छ, जसको कारण दीर्घकालिन योजनाले लिएका लक्ष्यहरू पूरा गर्न कठिन छ । लगानीको अभावमा रोजगारी र आर्थिक वृद्धिका लक्ष्यहरू प्रभावित हुने जोखिम पनि रहेको छ । यति हुँदाहुँदै पनि संविधानमा संसोधन भइ स्थायी सरकार बन्ने सुनिश्चितता भए र सरकारले नीतिगत सुधार गरी पारदर्शिता बढाउने आशाले लगानीकर्ताहरूमा दीर्घकालिन विश्वास दिलाउन पनि सक्ने सम्भावना रहेको छ ।
३. नीति र शासन प्रणाली
मुख्यतः जेनजीहरूको प्रमुख मुद्दा र माग नै सुशासन र पारदर्शीता हो । शासकहरूमा स्पष्ट नीति, कानुनी राज्य र जनताप्रति जवाफदेही हुनुपर्ने उनीहरूको प्रमुख एजेन्डा हुन् । वास्तवमा नेपालको संविधानमा व्यवस्था गरिएको संसदीय प्रणालीले राजनीतिक अस्थिरता निम्त्याएको, अस्थिर सरकारका कारण देशमा सुशासन कायम हुन नसकेको, भ्रष्टाचार बढेको, समानुपातिक समावेशीका नाममा नातावाद बढेको विश्लेषण गरी संसदीय प्रणालीको विकल्पमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न संविधान संसोधन गर्ने प्रमुख मुद्दा रहेका छन् । जसको अन्त्यको लागि संविधान संसोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीमा देश अगाडि बढ्ने छ । नागरिक स्वतन्त्रता, मानवअधिकार, मौलिक हकको सुनिश्चित गर्दै सरकार जनताप्रति उत्तरदायी बन्ने र जसले भ्रष्टाचारको न्यूनिकरण गर्दै जनताप्रति जवाफदेहिता, सुशासन, पारदर्शिता र केही हदसम्म नाताबादको अन्त्य हुने विश्वास गर्न सकिन्छ । अन्यथा पुनः विद्रोहको वातावरण बन्ने र देशको भविष्य नै खतरामा जान सक्ने अवस्था आउन सक्छ ।
४. सामाजिक प्रभाव
आन्दोलनको प्रमुख केन्द्रविन्दु विद्यालय तथा कलेजका छात्र–छात्राहरू रहे । विद्यालय, विश्वविद्यालयमा अध्ययनरत युवाहरूमा आफूले भोगेका सामाजिक, आर्थिक, सांस्कृतिक अन्यायविरुद्ध आवाज उठाउने सक्ने चेतको विकास भयो । हुन त यो भन्दा अगाडिका आन्दोलन र क्रान्तिहरू युवाहरूको प्रत्यक्ष संलग्नतामा नै सम्पन्न भएका हुन् । तर यो बेलाको आन्दोलनले स–साना बालबालिकाहरूमा पनि अन्यायविरुद्ध लड्ने र आवाज उठाउने चेतनाको विकास गरेको छ । विद्यालयका ससाना विद्यार्थीहरू स्कुल पोशाक र कापी किताबसँग आन्दोलनमा एकताबद्ध भएर उत्रिएको नेपालकै इतिहासमा यो पहिलो घटना हो । यसले युवाहरूमा राजनीतिक चेतना, नागरिक शिक्षाको वृद्धि गरेको छ । समाजमा हुने विकृति, विसंगति, अन्याय अत्याचारका विरुद्ध युवाहरूले आवाज उठाउन सक्ने चेतनाको विकास भयो । यस घटनाले समाजमा युवाहरूप्रतिको दृष्टिकोण बदलिने छ । हिजोसम्म ४० वर्ष नपुग्दा सम्म अपरिपक्व र केटाकेटी देख्ने समाज अब उनीहरूलाई नेतृत्व दिन र विश्वास गर्न बाध्य हुने परिवेशको सिर्जना हुनेछ ।
५. अन्तर्राष्ट्रिय प्रभाव
नेपालमा भएको जेन–जी आन्दोलनले अन्तराष्ट्रिय जगतमा समेत चासो र चिन्ताको विषय बनेको छ । नेपालको राजनीतिमा हुने यस्ता घटनामा छिमेकीहरूको प्रमुख हात रहेको धेरैले आशंका गर्ने गर्दछन् । हाल नेपालको राजनीतिक वृतमा पनि केही राजनीतिक दलहरूले यो जेन–जी आन्दोलनको डिजाइनर भारत रहेको आरोप समेत लगाएका छन् । यो मात्र नभएर जतिबेला उनीहरू सत्ताबाट बहिरगमन हुन्छन् सो समयमा भारतलाई आरोप लगाउँदै आएको पाइन्छ । अर्काेतिर भारतका विभिन्न सञ्चारमाध्यममा भने अमेरिकाले विभिन्न संस्थाहरूमार्फत नेपालको जेन–जी आन्दोलनमा करिब ९० करोड डलर लगानी गरेको सामाचारहरू छापिएका छन् । यसले के संकेत गर्दछ भने भविष्यमा नेपालमा यस्तै राजनीतिक अस्थिरता कायम भैइरहृयो भने शक्ति राष्ट्रहरूको क्रिडास्थल बन्ने र सुडान, अफगानिस्तान बन्न सक्ने खतरा छ । आन्दोलनका क्रममा विभिन्न अपराधमा जेल जीवन काटिरहेका हजाराँै कैदीबन्दीहरू फरार रहेका छन् । जसको कारण विभिन्न देशहरूले आप्रवासनमा कडाई गरेका छन् र त्यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणमा परिरहेको छ । जति राजनीतिक अस्थिरता रहन्छ त्यति नै अन्तर्राष्ट्रिय समुदायबाट प्रापत गर्ने सहयोग, सहानुभूति बन्द हुन सक्छ । उनीहरूले गर्ने कुटनीतिक सम्बन्ध, लगानी, सहयोगका नीतिहरू हाम्रा प्रतिकुलमा बन्न सक्छन् । युरोप, अमेरिका लगायतका देशहरूले नेपालबाट जान कडाई गर्दा अन्तर्राष्ट्रियस्तरमा खेल खेल्न जाने खेलाडीहरूले समेत प्रवेश आज्ञा प्राप्त गर्न सकेका छैनन् ।
यतिबेला नेपाली युवाहरूले गरेको यो ऐतिहासिक आन्दोलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासोको विषय बनेको छ । खासगरी उनीहरूको यो आन्दोलन असंगठित र नेतृत्वविहीन भएपनि एजेण्डा र मुद्दाहरू राष्ट्रिय हितमा छन् । आन्दोलनको म्यान्डेट बमोजिम गठन भएको सरकारले देशमा सुशासन, जवाफदेहिता, पारदर्शिता, कानुनी शासनको प्रत्याभूति दिलाउने छ । राजनीतिक अस्थिरता अन्त्य गर्न संविधान संसोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने कुरामा विश्वास गर्न सकिन्छ । निर्वाचनपश्चात् गठन हुने सरकारहरू पनि जनता र राष्ट्रको हितमा काम गर्दै सुशासन र जवाफदेहिताको प्रत्याभूति दिलाउने छन् । नेपालका राजनीतिक दलहरूले आफ्ना संगठनभित्र लोकतान्त्रिकरण गर्दै युवामैत्री नीति निर्माण गरी राजनीतिमा युवाहरूको नेतृत्व स्वीकार गर्न जरुरी देखियो । आशा गराँै राजनीतिक शक्तिको आडमा गरिने अनियमितता र भ्रष्टाचार अन्त्य हुनेछ । नातावाद र कृपावादबाट जेलिएको राजनीति संस्कार पूर्णरूपमा बन्द हुनेछ । हरेक सार्वजनिक निकायले प्रदान गर्ने सेवाहरू जनमुखी र पारदर्शी हुनेछन् । अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च हुनेछ । देशले विकासमा फड्को मार्नेछ । अन्यथा पुन यस्ता विद्रोह र क्रान्ति अवश्यम्भावी छ ।
(लेखक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिम्ता–८ साहुखोला सुर्खेतमा कार्यरत शिक्षक हुन् ।)
प्रकाशित मितिः ५ आश्विन २०८२, आईतवार १२:५९

भुपालसिँह ठकुरी ।