सिँचाइ योजना
कर्णाली प्रदेश कृषि उत्पादनको हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर अहिलेसम्म भने कर्णाली कृषि उत्पादनमा कमजोर छ । सम्भावना भएर पनि त्यसको सदुपयोग हुन सकेको छैन । परम्परागत कृषि प्रर्णालीमा निर्भर हुँदा पर्याप्त लाभ उठाउन सकेको छैन । यसका विभिन्न कारणहरूमध्ये एक सिँचाइ सुविधा नहुनु पनि हो । कर्णालीमा कृषियोग्य जमिनको क्षेत्रफल धेरै भएपनि सिँचाइको भने अभाव छ । हालसम्मको तथ्यांकले कूल सिँचित क्षेत्रफल २८ दशमलव आठ प्रतिशत मात्रै देखिएको छ । सुर्खेतमा ४५ दशमलव पाँच प्रतिशत रहेको देखिन्छ ।
प्रदेशभर ५६ दशमलव आठ प्रतिशतले सिँचाइ सुविधा लिएको तथा सुर्खेतमा ६६ प्रतिशतले सिँचाइ सुविधा लिएका छन् । कृषि गणनाअनुसार कर्णाली प्रदेशमा मुख्य गरेर धान, मकै र गहुँको खेती बढी हुन्छ । २९ हजार दुई सय ४१ हेक्टर जमिनमा धान खेती हुने गरेको छ भने ४० हजार ८३ हेक्टरमा मकै र ५१ हजार २६ हेक्टरमा गहुँ खेती भइरहेको छ । सुर्खेत जिल्लामा नौ हजार चार सय ३२ हेक्टर धान बाली, आठ हजार सात सय ५५ हेक्टरमा मकै बाली र ११ हजार तीन सय ४१ हेक्टर क्षेक्रफलमा गहुँ बाली लगाउने गरिएको छ । कर्णालीमा एक दशमलव ८० प्रतिशत कृषकले वर्षमा सरदर दुई बाली लगाउने गरेका छन् भने सुर्खेत जिल्लामा एक दशमलव ९७ प्रतिशतले वर्षमा दुई बाली लगाउँछन् । यही अवस्थामा सुधार ल्याउन कर्णाली प्रदेश सरकारले कृषि उत्पादन वृद्धि गर्न सिँचाइका कार्यक्रममा जोड दिएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न खेतबारीमा सिँचाइ सुविधा पु¥याउनका लागि उक्त कार्यक्रम राखिएको हो । साना सिँचाइ निर्माण तथा मर्मतका कार्यक्रम कार्यान्वयन गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । दशवटा जिल्ला कृषि विकास कार्यालय र स्थानीय तहसँग समन्वय गरेर योजना कार्यान्वयन भइरहेको छ ।
सानातिना कुला तथा आकाशे पानी संकलन पोखरी निर्माण गर्ने योजना बनाइएको छ । कार्यक्रम कार्यान्वयन गर्नका लागि यो वर्ष ३३ करोड ३२ लाख विनियोजन गरिएको छ । आवश्यकताका आधारमा प्रदेशका दशवटै जिल्लाबाट कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो । सिँचाइ सुविधा नहुँदा धेरै जग्गा बाँझो छ । ठूला आयोजना सञ्चालन गर्दा धेरै समय लाग्ने भएकाले स–साना आयोजना कार्यान्वयन गरेर सिँचाइ पु¥याउने उद्देश्यले साना सिँचाइ निर्माणको योजना बनाइएको हो । जसले आवश्यकताका आधारमा सिँचाइ परिपूर्ति गर्न सकिन्छ भने किसानले भनेकै समयमा सेवा पाउँछन् । सरकारले छिट्टो सेवा सुविधा पु¥याउने उद्देश्यले साना सिँचाइको योजना ल्याइएको हो ।
प्रकाशित मितिः ५ आश्विन २०८२, आईतवार १३:०२
सम्पादकीय ।