नयाँ मोडमा मुलुक
भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी प्रदर्शनपछिको केही समय मुलुक असामान्य अवस्थाबाट गुज्रियो । यो दुई दिनमा मुलुकले अकल्पनीय क्षति बेहो¥यो । प्रदर्शनका क्रममा ५१ जनाले ज्यान गुमाए । सयौं घाइते भएका छन् । सिंहदरबार, संसद्देखि सर्वोच्च अदालतसहित देशभरका थुप्रै सरकारी कार्यालयमा आगजनी भए । कैयौँ नेताहरूका निजी निवास पनि ध्वस्त पारिए । यो आन्दोलनले मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार ढल्यो । दुई दिन सरकारविहीन अवस्थामा रहँदा मुलुक अर्को दुर्घटनामा त जाने होइन भन्ने प्रश्नहरू उब्जिए । संविधान र संसदीय प्रर्णाली नै गुम्ने चिन्ताले थुप्रैलाई त्रसित बनायो ।
यद्यपि संकटपूर्ण अवस्थाबाट मुलुकले नयाँ दिशा पाएको छ । ६ महिनाभित्र आम निर्वाचन गराउने जिम्मेवारीसहित अन्तरिम सरकार बनेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम प्रधानमन्त्री कार्की पूर्वप्रधानन्यायधीश हुन् । उनी सर्वोच्च अदालतको प्रथम महिला प्रधानन्यायाधीश समेत हुन् । मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी कार्की अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला पनि बनेकी छिन् । नेपाली राजनीतिमा यो अर्को इतिहास हो । त्यसो त उनी महाभियोग खेप्ने पहिलो प्रधानन्यायाधीश समेत बनिन् । देशको कार्यकारी पदमा कार्कीको नियुक्तिसँगै संविधान, लोकतन्त्र र व्यवस्थामाथिको जोखिम टरेको छ । हुन त यो प्रक्रियामा केही संवैधानिक जटिलताहरू थिए । संसद्बाहिरबाट प्रधानमन्त्री नियुक्त र त्यसपछि संसद् विघटनलाई लिएर अहिले पनि कतिपयले प्रश्न उठाइरहेका छन् । पुराना राजनीतिक दलहरूले पनि यसको विरोध गरेका छन् । यद्यपि, यो विषम् परिस्थितिमा देशलाई निकाय दिने वैकल्पिक उपाय थियो । राष्ट्रपति रामचन्द्र पौडेलले सोहीअनुसार निकास दिए ।
अब अन्तरिम सरकारलाई यो संकटपूर्ण अवस्थाबाट देशलाई स्थायित्वको बाटो देखाउनुपर्ने चुनौती छ । आन्दोलनको बलमा बनेको सरकारले उक्त आन्दोलनको मर्मअनुसार काम गर्नुपर्ने त छँदैछ, ६ महिनाभित्र निष्पक्ष निर्वाचन गराएर मुलुकको नेतृत्व निर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गर्नुपर्नेछ । प्रधानमन्त्री कार्की न्यायपालिकामा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको लागि परिचित छिन् । प्रधानन्यायाधीश पदमा छँदा निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गरेको आधारमा युवाहरूको रोजाइमा परेकी हुन् । कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वता भएका कारण जेनजीहरूले अन्तरिम सरकार प्रमुखमा उनलाई अघि सारेका थिए । अन्तरिम सरकार प्रमुख कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ ।
प्रकाशित मितिः २९ भाद्र २०८२, आईतवार १२:०३
सम्पादकीय ।