कर्णालीमा जेन–जी आन्दोलन: व्यापारदेखि विद्यालयसम्म प्रभावित

सुर्खेत: भ्रष्टाचारविरुद्ध युवा (जेन–जी)हरूले गरेको आन्दोलनले राजनीति मात्रै होइन सामाजिक, शैक्षिक, आर्थिक, पर्यटन र स्वास्थ्यलगायतका क्षेत्रमा पनि गहिरो क्षति पुर्‍याएको छ । कर्णालीको शैक्षिक क्षेत्र पनि उत्तिकै प्रभावित बन्यो ।

आन्दोलन हिंसात्मक बनेपछि त्रासका कारण सहरी क्षेत्रका सामुदायिक विद्यालय बन्द भए । आन्दोलन शान्त भइसक्दासम्म पनि विद्यालय खुल्न सकेका छैनन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको जन नमुना माध्यमिक विद्यालयले सूचना नै जारी गरेर पठनपाठन पूर्ण रूपमा बन्द गरेको जनाएको छ । भदौ २९ गतेदेखि असोज २ गतेसम्म र असोज ५ गते स्थानीय बिदाबाट कट्टी हुनेगरी लेखा र प्रशासन बाहेकका शैक्षणिक क्रियाकलापहरू पूरै ठप्प राखिने विद्यालयले जनाएको छ । शान्ति सुरक्षाको अवस्था जोखिमपूर्ण बनेको हुँदा यस्तो अवस्थामा पठनपाठन गर्दा बालबालिकाहरू जोखिममा पर्नसक्ने भन्दै विद्यालयले आउँदो कार्तिक ११ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरेको विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।

जन नमुना माध्यमिक विद्यालयले मात्र होइन वीरेन्द्रनगरका बजार क्षेत्रका अधिकांश विद्यालयहरूले पठनपाठन बन्द गरेका छन् । बालिबालिकाको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गरिएको जनाइएको छ । निजी विद्यालयहरूले भने आइतवारदेखि पठनपाठन सुरु गरेका छन् । विभिन्न समयमा हुने भेला तथा आन्दोलनले बालबालिकाको भविष्यमा ठूलो असर पारिरहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कर्णाली प्रदेशका अध्यक्ष भूपेन्द्र कँडेलले बताए । उनले कोभिड महामारी, जाजरकोट भूकम्पलगायतका कारण बालबालिकाको पढाइ निकै कमजोर बनिरहेको जनाए । जेन–जी आन्दोलनले बालबालिकाको पढाइमा थप धक्का पुगेको उनको भनाइ छ ।

यसैबीच जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, सुर्खेतले जिल्लाका सामुदायिक विद्यालयहरू चार दिनका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ । महासंघका अध्यक्ष चन्द्रा कुमारी खड्काले जारी गरेको विज्ञप्तिमा भदौ २९ गतेदेखि असोज २ गतेसम्म तथा असोज ५ गते शैक्षिक गतिविधि बन्द रहने उल्लेख छ । आर्थिक र प्रशासनिक काम भने यथावत रहनेछन् । देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका कारण शान्ति–सुरक्षाको अवस्था जोखिमपूर्ण भएको र यस्तो परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिका जोखिममा पर्नसक्ने भन्दै विद्यालय बन्द गर्न निर्णय गरिएको महासंघले जनाएको छ । बन्दका कारण हुन नसक्ने पठनपाठनका दिनहरूलाई स्थानीय बिदासँग मिलान गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ ।

जेन–जी आन्दोलनबाट निजी क्षेत्र पनि प्रभावित हुन पुग्यो । आन्दोलनकारीहरूले सरकारी संरचनाहरूका साथसाथै निजी क्षेत्रका विभिन्न संस्थाहरूमा आक्रमण गरेका छन् । उनीहरूले विभिन्न कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका हुन् । होटल तोडफोड हुनुका साथै व्यापार व्यवसायसमेत सिथिल बनेका छन् । धेरैको रोजगारी गुमेको छ भने त्रसित रूपमा व्यावसाय सञ्चालन भइरहेका छन् । यसको सोझो असर कर्णाली प्रदेशमा पनि परेको छ । अन्य समयमा भन्दा यो समय व्यापार व्यावसायका हिसाबले राम्रो मानिन्छ । मानसरोवर जानका लागि आन्तरिक मात्र नभइ बाह्य पर्यटक पनि प्रदेशको राजधानी वीरेन्द्रनगर भएर जाने गरेका छन् । आन्दोलनका कारण निजी क्षेत्रलाई ठूलो धक्का पुगेको कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले बताए । उनका अनुसार तोडफोड र आगजनीका कारण निजी क्षेत्रको व्यावसाय धरापमा परेको छ । लुटपाट, तोडफोड हुँदा व्यावसाय सञ्चालन गर्न समेत समस्या उत्पन्न भएको र यसले दिर्घकालीन रूपमा समेत असर पुग्ने उनको भनाइ छ । उत्पन्न परिस्थितिका कारण बेरोजगारी दर बढेको, पर्यटन प्रवद्र्धनमा धक्का पुगेको, महँगी बढ्न सक्ने सम्भावना समेत बढेको जनाइएको छ । चाडपर्वका लागि आवश्यक पर्ने धेरैजसो सामान भन्सारमा रोकिएका छन् । यो परिस्थितिका कारण आर्थिक गतिविधि ठप्प बनेको शाहीको भनाइ छ ।

 

‘जेन–जीका नाममा वितण्डा’

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी निन्दनीय भएको बताएका छन् । आइतवार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई वास्तविक उद्देश्यभन्दा भिन्न ढंगले प्रयोग गरिएको बताए ।

मुख्यमन्त्री कँडेलका अनुसार गणतन्त्र ल्याउने अभियानमा सक्रिय युवासमेत भड्काइएर घटना गराइएको हो । संघीय राजधानी काठमाडौंमा भएको अप्रिय घटनाको असर कर्णालीमा समेत देखिएको उनले उल्लेख गरे । ‘घटना हुनु अघि नै म काठमाडौंबाट सुर्खेत आएको थिएँ, तर सुरक्षाका कारण सञ्चारकर्मीहरूसँग प्रत्यक्ष भेटघाट गर्न सकिनँ’ उनले भने ।

सिंहदरबार, संसद् भवन र शितल निवासजस्ता ऐतिहासिक संरचनामा भएको तोडफोडपछि कर्णालीमा पनि सुरक्षा प्रणाली कमजोर भएको र आफूलाई कपासेस्थित सेनाको ब्यारेकमा बस्नुपरेको उनले जानकारी दिए । कँडेलले व्यक्तिगत प्रतिशोधका आधारमा आन्दोलन भड्काइएको आरोप लगाउँदै जनप्रतिनिधिले गल्ती गरे कानुनी निकायमार्फत सजाय दिने प्रावधान रहेको बताए ।

आन्दोलनका क्रममा प्रदेश सभा, प्रदेश लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, राजधानीमा रहेका प्रमुख दलहरूको कार्यालय तथा केही नेताहरूको घरसमेत आगजनीमा परेर ध्वस्त भएको उनले बताए । मुख्यमन्त्रीले सबै क्षतिग्रस्त स्थानको अनुगमन आफूले गरिसकेको जानकारी दिँदै जेन–जी आन्दोलनका नाममा भएको आगजनी र तोडफोड कुनै हालतमा स्वीकार्य नहुने प्रष्ट पारे । साथै उनले प्रदेश मातहतका कार्यालयहरूलाई आन्दोलनको बहानामा काम रोक्ने नभइ बजेट कार्यान्वयनका काम निरन्तर अघि बढाउन निर्देशन दिए ।

प्रकाशित मितिः   ३० भाद्र २०८२, सोमबार १०:३१