दैलेखमा भेटिएको मिथेन ग्यासः कहिलेदेखि हुन्छ उत्पादन सुरु ?

सुर्खेत: दैलेखमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरदेखि नै परीक्षण उत्पादन सुरु हुने दाबी गरे । त्यति मात्रै होइन उनले अर्को वर्षदेखि व्यावसायिकरूपमै ग्यास उत्पादन हुने समेत जिकिर गरेका थिए । तर मंसिरदेखि परीक्षण उत्पादन सुरु हुने सम्भावना नै निकै न्यून देखिएको छ ।

चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको थियो । यद्यपि, उक्त अध्ययनको विस्तृत प्रतिवेदन भने आइसकेको छैन । अन्तिम प्रतिवेदन आउनै तीन÷चार महिना लाग्न सक्ने खानी तथा भूगर्भ विभागले जनाएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार जलजलेमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको जनाइएको छ । अब परीक्षण उत्पादन गरेर त्यसको यकिन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ । विस्तृत प्रतिवेदन आएपछि थप अध्ययन गर्नुपर्ने हुन्छ । ग्यास उत्खननका सन्दर्भमा उत्पादनपछिको बजार र खपतबारे आर्थिक सम्भाव्यता अध्ययन पनि गर्नुपर्छ । लागत अनुमान र उत्पादनको हिसाब गरेर मात्र परियोजना अगाडि बढाउनुपर्ने हुन सक्छ । नेपालले मात्र नसक्ने अवस्थामा कुनै मुलुकको आर्थिक सहायता पनि लिनुपर्ने हुन सक्छ ।

अहिले करिब चार हजार मिटर ड्रिलिङका आधारमा प्राकृतिक ग्यास रहेको पुष्टि भएको हो । विस्तृत रिपोर्ट आएपछि मात्र ग्यास कुन गुणस्तरको छ भन्ने थाहा हुन्छ । पेट्रोलियम पदार्थ (तेल) नै छ कि छैन भनेर पनि थप अध्ययनबाट पुष्टि हुन्छ । मिथेन ग्यास नै बढी छ भने त्यसको उत्पादन र वितरण प्रणालीको मोडालिटी अर्कै हुन्छ । प्रोपेन र ब्युटेनको मात्रा बढी भेटियो भने हामीले खाना पकाउने एलपीजी ग्यासका रूपमा समेत प्रयोग गर्न सक्छौँ । अहिले जुन परिमाणमा भेटिएको भनिएको छ, त्यो निकै उत्साहजनक कुरा हो । यसबाट नेपालको अर्थतन्त्र उकास्न निकै सहयोग पुग्नेछ ।

चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले विभिन्न चरणमा सर्भे गरेको थियो भने चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि झन्डै डेढ वर्ष ड्रिलिङ गरेर अध्ययन गरेको हो । चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तरलगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको थियो ।

दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्का लागि २०७२ चैतमा चीन र नेपालका प्रधानमन्त्रीबीच द्विपक्षीय समझदारी भएको थियो । त्यस आधारमा २०७६ असोजबाट झन्डै ६ महिना खानी विभाग र चिनियाँ प्राविधिकको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो भने २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओजिकल सर्भे कम्पनीबीच अन्वेषण तथा उत्खनन्का लागि दुई अर्ब ४० करोड रूपैयाँमा सम्झौता भएको थियो । तर कोरोना महामारी, उत्खनन् र अन्वेषणका ठूला उपकरण ल्याउन ढिलाइ, सडक समस्या, जग्गा प्राप्तिलगायत कारण काम धकेलिएको विभागका सूचना अधिकारी मुकुन्द भट्टराईले बताए । उनका अनुसार सन् २०१९ फेब्रुअरीमा ३ वर्षका लागि गरिएको सम्झौताको म्याद सकिएपछि फेरि २०२२ मा आयोजनाले म्याद थपेको थियो ।

विभागका अनुसार २०८० वैशाख २८ देखि २०८१ पुससम्म ड्रिलिङसहित दोस्रो चरणको अन्वेषण सकेपछि चिनियाँ प्राविधिकको टोली नमुना लिएर फर्किएको थियो । उनका अनुसार पहिलो चरणमा सेस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेको काम गरिएको थियो भने दोस्रो चरणमा जमिन खनेर नमुना निकाल्ने (ड्रिलिङ) को काम भएको हो । ड्रिलिङका लागि जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

दैलेखमा ग्यास उत्पादनको काम भए मुलुक नै आत्मनिर्भर बन्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही बताउँछन् । व्यावसायिक उत्पादन सुरु भएपछि ठूलो संख्यामा स्थानीयलाई रोजगारी उपलव्ध हुने र पूर्वाधार विकासमा पनि टेवा पुग्ने उनले जानकारी दिए । विभागका अनुसार अहिलेसम्म दैलेखको शिरस्थान, नाभीस्थान र पादुकाका करिब तीन किलोमिटर आसपासका क्षेत्रमा मात्र ड्रिलिङ गरिएको छ ।

प्रकाशित मितिः   १३ भाद्र २०८२, शुक्रबार ११:२५