पर्यटन प्रवर्द्धन योजना

सुर्खेतका दुई प्रमुख पर्यटकीय स्थल हुन् बुलबुले र काँक्रेविहार । वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ९ मा अवस्थित दुवै स्थल पर्यटकीय गन्तव्य हुन् । यिनै पर्यटकीय गन्तव्यलाई अब जलासयसहितको मदमार्गले जोडिने भएको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ । बुलबुलेदेखि काँक्रेविहार जोड्ने छोटो दुरीको करिडोर निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारले जलासयसहितको करिडोर निर्माण गर्न लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर जलासयसहितको करिडोर निर्माण योजना अघि सारिएको थियो । उक्त योजना कार्यान्वयनका लागि पूर्वसम्भाव्यता अध्ययनको काम भइरहेको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयले यो योजना कार्यान्वयन गर्ने छ ।

अहिले आयोजनाको अध्ययनको काम भइरहेको छ । केही दिनभित्र ठेक्का आह्वान गर्नेगरी आवश्यक काम अघि बढाइएको छ । सरकारले चालु आर्थिक वर्षदेखि प्रदेश राजधानी संरक्षण योजना बनाएको छ । बढ्दो जनसंख्यालाई मध्यनजर गरेर व्यवस्थित राजधानी निर्माण गर्ने योजना सरकारको छ । सोही नीतिअनुरूप बुलबुलेदेखि काँक्रेविहारसम्मको प्रस्तावित जलासयसहितको करिडोर निर्माण गर्न लागिएको हो । बुलबुलेदेखि काँक्रेविहारसम्म सात सय मिटर लम्बाइको करिडोर प्रस्ताव गरिएको छ । जसमा जलासयसहित पदमार्ग निर्माण गरिनेछ । फुटपाथसहितको सडक र सडकसँगै पानी बग्ने जलमार्ग बनाउने बताइएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि सुर्खेतको प्रसिद्ध पर्यटकीय क्षेत्र बुलबुलेदेखि काँक्रेबिहारसम्म संरचना निर्माण गर्न लागिएको हो । यो योजना कार्यान्वयनमा आए बुलबुले ताल हुँदै खुल्ला बगेको पानीलाई व्यवस्थित गरिनेछ भने पदमार्ग निर्माण र पर्खाल निर्माणलगाएतका काम गरिने छ । सकेसम्म पैदल यात्राबाटै बुलबुलेदेखि काँक्रेबिहासम्म पुग्नका लागि उक्त करिडोर निर्माण गर्न लागिएको हो । त्यसका लागि करिब ३० करोडको लागत अनुमान गरिएको निर्देशनालयले जनाएको छ । तर चालु आर्थिक वर्षमा भने प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेको छ । करिडोर निर्माणका लागि यो वर्ष आठ करोड मात्रै बजेट विनियोजन गरिएको छ ।

प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत बुलबुलेदेखि काँक्रेबिहारसम्मको दुरी सहज बनाउने गरी सडकलाई व्यवस्थित गरी जलासयसहितको करिडोर निर्माण गर्ने योजना सरकारको छ । जलासयस र फुटपाथहितको पैदलमार्ग निर्माण गरेर बुलबुलेबाट काँक्रेविहारसम्म सहज रूपमा आउँजाउँ गर्न सकिने मात्रै होइन यसले स्थानीय पर्यटन प्रवद्र्धनमा पनि ठूलो सघाउ पुग्ने अपेक्षा गरिएको छ । एउटा पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थलसम्म पुग्नका लागि दुरी लामो हुँदा पर्यटकहरू अलमलमा पर्ने र व्यवधान भोग्नुपर्ने अवस्था छ । त्यसैले पर्यटन प्रवद्र्धन गर्ने र प्रदेश राजधानीलाई व्यवस्थित गर्ने योजनाअनुरूप संरचनाहरू निर्माण थालिएको हो ।

प्रकाशित मितिः   ४ भाद्र २०८२, बुधबार १३:३९