‘अपाङ्गता भएका महिलाको अधिकार सुनिश्चित गर’
सुर्खेत: अपाङ्गता भएका महिलाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । अपाङ्गता भएका महिलाहरूको नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी वीरेन्द्रनगरमा भएको कार्यशालाका सहभागिहरूले यस्तो बताएका हुन् ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा कार्यक्रम गरिएको थियो । राजनीतिक प्रतिनिधित्वका हिसाबले अपाङ्गता भएका महिला भूमिकामा नदेखिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेलले बताए । आगामी २०८४ को निर्वाचनमा प्रतिनिधित्व हुनेगरी तयारी अवस्थामा रहन उनले आग्रहसमेत गरे । क्षमता, दक्षता हुँदाहँुदै पनि राजनीतिमा अपाङ्गता भएका महिलाको सहभागिता न्यून रहेको उनले जानकारी दिए । अबका दिनमा सहभागिता गराउँदा सम्मानजनक हुनेगरी सहभागिता गराउन लागि परेको उनको भनाइ छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विशेष योजना बनाएर राजनीतिमा महिला सहभागिता बढाउने लक्ष्य लिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वर्तमान अध्यक्ष देविदत्त आचार्यले बताए । उनले कर्णालीमा समेत यो अभियानको थालनी गरिएको जानकारी दिए । राष्ट्रिय अपाङ्ग महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले मिसन–२०८४ मा अपाङ्गता भएका महिलाको सहभागिताको विषयमा चर्चा सुरु भएको बताए ।
अपाङ्गता भएका महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता र सम्मानित जीवनका लागि नीति तथा कानुनमा अन्तरविविधतासहितको दृष्टिकोण अपनाउनुपर्नेमा उनीहरूको जोड थियो । दृष्टीविहीन मेनुका कोइरालाले अपाङ्गता भएका महिलाको राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सुनिश्चित नगरेसम्म आफूहरूले समान अवसर प्राप्त गर्न नसक्ने बताइन् ।
प्रकाशित मितिः ४ भाद्र २०८२, बुधबार १३:३७
साझा बिसौनी ।