आन्तरिक आम्दानीमा कमजोर स्थानीय सरकार

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ३६ करोड ५८ लाख आन्तरिक आम्दानीको लक्ष्य राखेको थियो । तर आर्थिक वर्ष सकिदासम्म पालिकाले जम्मा १९ करोड ३२ लाख मात्र आम्दानी गरेको छ । अर्थात् लक्ष्यभन्दा करिब आधा मात्रै आम्दानी भएको छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नै आन्तरिक आम्दानीमा निकै कमजोर देखिएको छ । वीरेन्द्रनगर प्रदेश राजधानीका साथसाथै कर्णालीको सबैभन्दा ठूलो पालिका हो, मुख्य सहर पनि हो । सबैभन्दा धेरै जनसंख्या रहेको वीरेन्द्रनगरमा आर्थिक गतिविधि पनि अन्य पालिकाहरूको तुलनामा बढी नै हुन्छ । तर उपमहानगरपालिका बन्न अग्रसर पालिका नै आफ्नै स्रोतमा कमजोर छ ।

संविधानले स्थानीय सरकारलाई केही एकल र केही साझा अधिकार तोकेको छ । जसमा राजश्व संकलन पनि पर्दछ । यही राजश्व नै स्थानीय सरकारको आन्तरिक आम्दानीको स्रोत हो । यातायात, योजना, आवास, आर्थिक र सामुदायिक विकास, वातावरण, मनोरञ्जन र सुविधाहरू साथै जीविकोपार्जनका लागि स्थानीय स्रोत पहिचान गरेर कर उठाउने गरिएको छ । नगरपालिकाले सबैभन्दा बढी घरबहाल र नक्सापासबाट आम्दानी गर्ने गरेको नगरपालिकाका सूचना अधिकारी टंकप्रकाश लामिछानेले बताए । यद्यपि, ठूलो लक्ष्य राखेर आन्तरिक आम्दानीको योजना बनाएको उनको भनाइ छ । विगतमा लक्ष्यअनुसार राजश्व संकलन गर्न असमर्थ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा ५१ करोड ३५ लाख आन्तरिक आम्दानीको लक्ष्य निर्धारण गरेको छ ।

वीरेन्द्रनगर मात्रै होइन कर्णालीका सबैजसो स्थानीय सरकारको आन्तरिक आम्दानी विगतभन्दा केही सुधार भएपनि उल्लेख्य सुधार नभएको पाइएको छ । आन्तरिक आम्दानी कमजोर हुँदा स्थानीय सरकार संघ र प्रदेश सरकारको अनुदानको भरमा सञ्चालन भइरहेका छन् । आन्तरिक आम्दानीका स्रोत नहुँदा स्थानीय सरकारले लक्ष्यभन्दा कम मात्र आम्दानी गर्ने गरेका हुन् । राखिएको लक्ष्यमा सरकार सधै असफल भइरहेको देखिन्छ ।

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाले पनि आफ्नो क्षेत्राधिकारभित्र रहेर विभिन्न शीर्षकमा कर उठाउने गरेको छ । गत आर्थिक वर्षमा राखिएको लक्ष्य भेटाउनै लागेको पालिकाले अपेक्षित रूपमा आम्दानी गर्न नसकेको जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा चार करोड ७८ लाख आम्दानीको लक्ष्य थियो । उक्त वर्ष चार करोड ५० लाख आम्दानी ग¥यो । करका दायरा बढाएर राजश्व संकलन गर्ने योजना बनाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलले बताए । खानी रोयल्टी कर, तिरो, घर बहाल कर, व्यवसाय दर्ता नवीरकणलगायतका शीर्षकमा अलि धेरै राजश्व संकलन हुने गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा चार करोड ८२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ । उठेको करबाट पालिकाको विकास निर्माणमा लगाउने गरिएको छ ।

यस्तै पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले पनि आन्तरिक आम्दानीको लक्ष्य राखेर राजश्व उठाउने गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ४९ लाख ७९ हजार राजश्व संकलनको लक्ष्य थियो । उक्त वर्ष निर्धारित लक्ष्यको नजिक पुगे पनि पूरा गर्न भने असफल रह्यो । पालिकाले गत वर्ष ४४ लाख ७४ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा ७० प्रतिशत आन्तरिक आम्दानीको लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।

स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानुनी व्यवस्था भएपनि पालिकाहरूले आय संकलनमा चासो नदिएको पाइएको छ । झन्झटिलो प्रक्रियाका कारण राजश्व संकलन गर्नबाट स्थानीय सरकार पन्छिने गरेको नागरिक समाजका प्रतिनिधि तिर्थबहादुर थापाले बताए । ढुङ्गा, गिट्टी, बालुवाबाट कर उठाउन सरकारले आनाकानी गरिरहेको उनको भनाइ छ । आम्दानी कम हुँदा स्थानीय सरकार संघ र प्रदेश सरकारको अनुदानमा निर्भर छन् ।

प्रकाशित मितिः   ४ भाद्र २०८२, बुधबार १३:३६