प्रदेश अस्पतालको निर्देशकमा डा. थापा

सुर्खेत: कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. गणेश थापा नियुक्त भएका छन् । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले थापालाई निर्देश नियुक्त गरेको हो । निवर्तमान निर्देशक डा. डम्मर खड्का अवकाश भएपछि थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो । सरकारले उनैलाई निर्देशकमा नियुक्त गरेको छ ।
यसैबीच बुधवारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको पदस्थापन र सरुवासम्बन्धी अधिकार मुख्यमन्त्रीलाई प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार नेपाल सरकारले प्रदेशमा खटाएका सचिवहरूलाई आवश्यकताअनुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र त्यसको जानकारी राजपत्रमा प्रकाशित गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको हो । यसअघि सचिवहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर भएपछि मन्त्रिपरिषद् बैठकले नै पदस्थापन गर्ने व्यवस्था थियो ।
त्यसैगरी, बैठकले कृषि क्षेत्रको विकासका लागि सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमको अस्थायी सांगठनिक संरचनालाई पनि स्वीकृति प्रदान गरेको छ । प्रवक्ता शाहका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, आईफाड र एसियाली विकास बैंकको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी पारित गरिएको हो ।
यो कार्यक्रमअन्तर्गत सुर्खेतमा एउटा मुख्य कार्यालय तथा जाजरकोट र जुम्लामा ‘करिडोर कार्यक्रम’ स्थापना गरी काम अघि बढाइनेछ ।
प्रकाशित मितिः ५ भाद्र २०८२, बिहीबार ०५:०२
साझा बिसौनी ।