स्याउले बदल्दै जुम्लाको भविष्य

सुर्खेत: वारीपारीका ज्युलोमा मार्सीको बयली । बिचमा तिला नदिको उलर्दो भेल । अनि डाँडापाखामा लोभलाग्दो गरी फलेका स्याउ बगैँचा । तिला नदिको सुसेलीसँगै खेतमा मार्सी धान हुर्किदै छ । पाखाका स्याउ बगैँचामा भने किसानको चहलपहल बढिरहेको छ । यो दृष्य हो, जुम्लाको ।

यतिबेला जुम्लाका स्याउ बगैँचाहरूमा बेग्लै रौनक छ । फुर्सदिला बनेका जुम्ली किसानलाई स्याउ टिप्ने चटारो छ । वर्षभरीको लगानी र मेहनतबाट हुने आम्दानीको जोड–घटाउमा किसान जुटिसकेका छन् । स्याउ परिपक्क भइसकेकोले बेच्न सुरु गरिएको तातोपानी–७ सर्मीका मुनबहादुर कुँवरले बताए । ‘स्याउ जुम्लाको परिचय बनिसकेको छ, नेपाली बजारमा जुम्लाको स्याउले छुट्टै पहिचान बनाएको छ’ उनले भने । जुम्लाको स्याउ विषादीरहित अर्गानिक हुने भएकोले सबैको रोजाइ बनिरहेको स्थानीय जनक रावत बताउँछन् ।

जुम्लाको स्याउको माग नेपालका ठूला शहर काठमाडौं, पोखरा, सुर्खेत, नेपालगञ्ज, विराटनगरमा समेत हुने गरेको छ । जुम्लामा गोल्डेन, रेड, रोयल डेलिसियस जातका स्याउ फलिरहेका छन् । बजार बढ्दै गएपछि स्याउ खेती गर्ने कृषक पनि बनेका छन् । स्याउ रोपेका हरेक घरले सिजनमा न्युनतम पाँच हजारदेखि लाखौं आम्दानी गर्ने गरेका छन् । त्यसैले जुम्लामा स्याउ मात्रै होइन, कर्णालीको भविष्य पनि फलिरहेको भन्ने गरिएको छ । जुम्ला कर्णाली राजमार्गमा जोडिएपछि अभूतपूर्व रूपमा स्याउ खेती फस्टाएको छ ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर चार हजार चार सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । जसमध्ये दुई हजार हेक्टरको स्याउ उत्पादनशील छ । गत वर्ष जुम्लाबाट १८ हजार आठ सय मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । ‘गत वर्ष स्याउबाटै जुम्लामा ६१ करोड रूपैंया भित्रिएको थियो, यो वर्ष उत्पादन घटेको अनुमान छ । रोग–किरा, असिना र खडेरीले उत्पादनमा कमि ल्याएको छ तर उत्पादन कम भएता पनि स्याउको आकार र स्वादमा निकै राम्रो छ’ अधिकारीले भने ।

भदौ पहिलो साताबाट स्याउ टिप्न दिने निर्णय गरिएको समेत उनले बताए । यसअघि यो वर्ष भदौ १५ गतेपछि मात्रै बिक्री–वितरणको अनुमति दिने निर्णय गरिएता पनि स्याउ परिपक्क भइसकेकाले भदौको पहिलो साताबाट टिप्न दिने निर्णय गरिएको प्रमुख अधिकारीले जानकारी दिए ।

 

एउटै बगैँचामा ३८ हजार विरुवा

स्याउ खेति कतिसम्म फस्टाउँदै गएको छ भने जुम्लाको एउटै बगैँचामा ३८ हजार स्याउका विरुवा रोपिएको छ । गुठिचौर–५ जलजला विशाल स्याउ बगैंचा छ । नेपालकै ठुलो दावी गरिएको यो बगैँचाले ठूलो मात्रामा इटालियन फुजी स्याउ उत्पादन गर्नुका साथसाथै गाउँघरमै सयौंलाई रोजगारी पनि दिएको छ ।

उक्त बगैँचामा २२ जना नियमित काम गर्ने कर्मचारी छन् । स्याउको सिजनमा दुई सय जनासम्मले काम पाउँछन् । परिवारको रेखदेख गर्दै आफ्नै ठाउँमा रोजगारी पाउँदा खुसी लागेको स्थानीय सोमन सार्कीले बताए । ‘सँगैका साथीभाई परिवार पाल्नका लागि कोही भारतमा छन्, कोही खाडी मुलुक पुगेका छन्, मैले गाउँघरमै बसेर परिवारलाई रेखदेख गर्दै काम गर्न पाएको छु, घरमा कोही बिरामी पर्दा वा अन्य कुनै समस्या आइलाग्दा आत्तिनुपर्ने स्थिति छैन’ उनले भने ।

जलजलाको स्याउ बगैंचाले रोजगारीसँगै कृषि पर्यटनलाई समेत जोडेको छ । पर्यटकहरू फूल फुल्ने समय र स्याउ फलेका बेला बगैँचा अवलोकनका लागि पुग्ने गर्छन् । विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणको शिलाशिलामा समेत यहाँ पुग्छन् ।

केही वर्षअघिसम्म गाउँगाउँमा सानादेखि मझौला स्याउ बगैँचा मात्रै थिए, अहिले उच्च घनत्वका स्याउ बगैँचासमेत थपिएका छन् । जसले रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनमा नयाँ आयाम थपेको बचैँचाका व्यवस्थापक केसीबहादुर भण्डारीले बताए । २०७७ सालबाट बगैँचा विस्तारको काम सुरु भएको थियो । हालसम्म आइपुग्दा झण्डै २५ करोड बराबरको लगानी भइसकेको उनले जनाए ।

 

उच्च क्षमताको कोल्ड स्टोर तयार

स्याउ उत्पादन वृद्धिसँगै जुम्लामा १५ लाख किलो स्याउ भण्डारण गर्ने कोल्ड स्टोर तयार भएको छ । कोल्डस्टोर बनेसँगै जुम्लाको स्याउ अब केवल भदौ÷असोजमा मात्र होइन, संकलन गरेर वर्षभरी खान पाइने भएको छ ।

चुकेनी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि कोल्डस्टोर सञ्चालन सम्भव बनेको हो । जुम्लामा कैलाश कोल्ड स्टोरले किसानको स्याउ भण्डारण गरेर अन्य समयमा पनि बिक्री गर्न सकिने बनाउन थालेको छ । कोल्डस्टोरले किसानको आम्दानी बढाउन मद्दत गर्ने सञ्चालक देउऋषि चौंलागाईले बताए । ६ वर्ष लगाएर निर्माण भएको कोल्डस्टोरमा विद्युतको विकल्पको रूपमा सोलारसमेत जडान गरिएको छ । कोल्डस्टोरले किसानबाट स्याउ खरिदसमेत गर्ने गरेको छ । यसबाहेक किसानले आफै स्याउ भण्डारणसमेत गर्न सक्नेछन, त्यसबापत कोल्डस्टोरलाई केही शुल्क बुझाउनुपर्नेछ ।

प्रकाशित मितिः   ५ भाद्र २०८२, बिहीबार ०५:०५