द्वन्द्वपीडितलाई राहत

द्वन्द्वको सबैभन्दा ठूलो चपेटामा परेको क्षेत्र हो कर्णाली । यहाँ द्वन्द्वपीडितहरूको संख्या पनि ठूलो छ । मुलुक शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि द्वन्द्वपीडितहरू भने राज्यले आफ्ना सवाल सम्बोधन नगरेको गुनासो गर्ने गर्दछन् । पछिल्लो समय कर्णाली प्रदेश सरकारले द्वन्द्व पीडितका सवाल प्राथमिकतामा राखेको छ । विभिन्न समयमा उनीहरूसँग छलफल गर्ने, समस्या सुन्ने र आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने गरेको छ । यसरी सरकारले आफ्ना समस्या सम्बोधन गर्न थालेपछि द्वन्द्वपीडितहरू पनि सरकारप्रति सकारात्मक देखिन थालेका छन् ।

कर्णाली प्रदेश सरकारले द्वन्द्वपीडितहरूलाई राहत उपलब्ध गराउन थालेको छ । गत आर्थिक वर्षमा मात्रै कर्णालीका चार हजारभन्दा बढी द्वन्द्व पीडितलाई नौ करोड ६९ लाख भत्ता वितरण गरिएको छ । द्वन्द्वपीडित सहिद परिवार र घाइतेहरूलाई सम्मान स्वरूप आर्थिक वर्ष २०८१÷०८२ मा नौ करोड ६९ लाख ८४ हजार रूपैयाँ वितरण गरेको हो । यस कार्यक्रमबाट प्रदेशभरका चार हजार हजार ४१ जना लाभान्वित भएका छन् । जसमा सहिद परिवार र घाइतेहरू समावेश भएको प्रदेश सरकारले जनाएको छ । सहिद परिवारलाई मासिक दुई हजार रूपैयाँका दरले भत्ता वितरण गरिन्छ, जसले उनीहरूको जीवन निर्वाहमा सहयोग पु¥याउँछ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विवरणअनुसार यस कार्यक्रमबाट प्रदेशभरका चार हजार ४१ जना लाभान्वित भएका छन् । मन्त्रालयले सहिदका लागि ‘सहिद स्मृति भत्ता’ र घाइतेका लागि ‘जीवन निर्वाह भत्ता’ वितरण गर्दै आएको छ । तथ्यांक अनुसार प्रदेशभरका दुई हजार एक सय २१ सहिद तथा बेपत्ताका परिवार र एक हजार नौ सय २० घाइतेलाई भत्ता प्रदान गरिएको छ । सहिद तथा बेपत्ता परिवारका लागिमात्रै पाँच करोड नौ लाख चार हजार र घाइतेतर्फ चार करोड ६० लाख ८० हजार गरी कुल नौ करोड ६९ लाख ८४ हजार वितरण गरिएको छ । प्रत्येक लाभान्वितले मासिक दुई हजार रूपैयाँका दरले वार्षिक २४ हजार रूपैयाँ प्राप्त गर्छन् ।

विवरण अनुसार सबैभन्दा बढी लाभान्वित हुनेमा कालिकोट र सल्यान जिल्ला देखिएका छन् । मन्त्रालयको यो कार्यक्रमले सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई सम्मान र घाइते भएका व्यक्तिहरूलाई जीवनयापनमा सहयोग पु¥याउने उद्देश्य राखेको छ । यो जीवन निर्वाह भत्ताले पीडित परिवारलाई सानो भए पनि आर्थिक राहत प्रदान गर्ने अपेक्षा गरिएको प्रदेश सरकारको भनाइ छ । सरकारबाट राहत राहतस्वरूप भत्ता पाएपछि द्वन्द्वपीडितहरू पनि हर्षित छन् । यसले सहज जीवनयापनका लागि केही मात्रामा भएपनि सघाउ पु¥याएको देखिन्छ ।

प्रकाशित मितिः   २५ श्रावण २०८२, आईतवार ०६:०३