असमझदारी हटाउन कांग्रेस–एमाले बैठक

सुर्खेत: कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच असमझदारी बढेको चर्चाकाबीच दुई दलबीच छलफल भएको छ । शनिवार दुई दल सम्मिलित प्रदेशस्तरीय सत्ता संयन्त्रको बैठक बसेको हो ।

बैठकमा प्रदेश सरकारको एक वर्षे अवधिको समीक्षा गरिएको छ । त्यसैगरी सरकारका कामकारबाहीलाई अझै प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ । यसका साथै प्रदेश सरकार मातहत विभिन्न निकायमा रिक्त पदहरूमा गर्नुपर्ने नियुक्ति तत्कालै गर्ने सहमति पनि भएको छ ।

बैठकले सरकार सञ्चालनमा गठबन्धनको मर्मअनुरूप अघि बढ्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेकपा एमालेका प्रदेश अध्यक्ष गुलावजंग शाहले दुई दलबीच बनेको सरकारलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताए । उनले एक वर्षमा सरकारले गरेका कामकारबाहीको समिक्षासँगै सरकारलाई अझ प्रभावकारी बनाउने विषयमा साझा धारणा तय भएको बताए ।

कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा खटपट भएको भनि गरिएको प्रचारमा सत्यता नरहेको समेत अध्यक्ष शाहले बताए । ‘प्रदेशका विभिन्न निकायमा खालि रहेका पदाधिकारी तत्काल नियुक्त गर्ने, सरकारलाई अझ प्रभावकारी बनाउन साझा धारणा तय गर्ने तथा सरकार सञ्चालनको एक वर्षलाई समिक्षा गर्ने दुई दलबीच सहमति भएको छ,’ अध्यक्ष शाहले भने ।

यद्यपि, पछिल्ला दिनहरूमा एमाले र कांग्रेसबीच असमझदारी बढेको चर्चा चलेको थियो । सरकारको नेतृत्व गरिरहेको एमालेले गठबन्धन संस्कृतिको मर्मअनुरूप कांग्रेस नचलेको निष्कर्ष निकालेपछि पहिलो पटक दुई दलका शीर्ष नेताहरूबीच बैठक बसेको हो ।

बैठकमा मुख्यमन्त्री यामलाल कँडेलसहित कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह र प्रदेश इन्चार्ज गोरख बोगटी सहभागी भएका थिए ।

प्रकाशित मितिः   २५ श्रावण २०८२, आईतवार ०६:०१