घरभित्रै असुरक्षित
महिलामाथि हुने हिंसाका घटना दिनप्रति दिन बढ्दै गएका छन् । न्यूनीकरण हुनुपर्नेमा बढ्दै जानु चिन्ताको विषय हो । विभेदकारी सामाजिक संरचना र चिन्तनले आज पनि महिलालाई दोस्रो दर्जाको नागरिकसरह बनाएको छ । त्यसमाथि घरेलु हिंसाको सिकार भइरहनु परेको छ । कतिसम्म भने घरपरिवारभित्रै हिंसा भइरहेको छ । श्रीमानबाटै महिलाहरूको हत्या भइरहेका घटना धमाधम सार्वजनिक भइरहेका छन् । यसले हिंस्रक समाज र व्यवहारको तस्विर उदांगो बनाइरहेको छ । एकपछि अर्को गर्दै महिलमाथि भइरहेका हिंसा र जघन्य अपराधका घटनाले महिलाहरू आफन्त र घरभित्रै पनि सुरक्षित छैनन् भन्ने देखाइरहेको छ ।
महिलाहरू घरभित्रका अर्थात् पुरुषले गरेका साधारण कुटपिट, अत्याचार र गालीगलौजलाई दैनिक रूपमा लिने गरेको र प्रतिकार गर्दा मृत्युको सिकार भइरहेका छन् । आइतवार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले श्रीमतीको हत्या गरे । ४२ वर्षीय ठाडाले चिर्पटले हानेर ४१ वर्षीय रविना थापाको हत्या गरेका हुन् । हत्या लगत्तै आफैले प्रहरीलाई खबर गरेका उनलाई पक्राउ गरिएको छ । यस्तै गत असार १७ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले पनि आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका थिए । घरेलु विवादकै कारण देविका बुढाथोकीको श्रीमानबाट हत्या भएको हो । खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका चन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसअघि गत वैशाखमा सुर्खेतकै छिञ्चुमा श्रीमानबाटै प्रेमा ओलीको हत्या भयो । भेरीगंगा नगरपालिका– १२ को डम्पिङ साइट नजिक खोल्सामा डुबेको अवस्थामा ओलीको शव भेटिएको थियो । प्रेमाको हत्या उनका श्रीमान जक्सन खत्रीले गरेका हुन् । श्रीमानले पठाएको सामान लिन भन्दै गुर्भाकोटबाट छिञ्चु पुगेकी प्रेमाको शव फेला परेको थियो । पछिल्लो चार महिना नबित्दै कर्णालीका तीनजना महिलाले आफ्नै श्रीमानबाट ज्यान गुमाए । पारिवारिक विवाद वा झैझगडा घरेलु हिंसा हुँदै हत्याजस्ता जघन्य अपराधसम्म पुग्ने गरेका प्रतिनिधि घटना हुन्, यी ।
विगतदेखि नै कर्णाली प्रदेशमा महिलामाथि हुने हिंसाका घटना उल्लेख्य छन् । हिंसाका घटना बढ्दै जाँदा हत्या समेत हुने गरेका छन्, जसको सिकार महिलाहरू भइरहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा २४ जना महिलाले आफ्नै श्रीमानको हातबाट ज्यान गुमाएका छन् । विगत चार वर्षको तथ्यांक विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको छ । घरभित्रैबाट हुने महिलामाथिको हिंसाको अन्त्य अपरिहार्य छ । यसका लागि कानुनको कार्यान्वयनसँगसँगै सचेतनाको अभिवृद्धि पनि उत्तिकै जरुरी देखिन्छ ।
प्रकाशित मितिः १५ श्रावण २०८२, बिहीबार ०५:०३
सम्पादकीय ।