कथा

झरनाको छेउ

दैलेखको त्यो सुन्दर गाउँमा पुग्दा मलाई लाग्यो, मानौँ म कुनै चित्रकलाभित्र पसेको छु । हरियालीले भरिएको डाँडाकाँडा, कोइलीको भाका अनि झरझर बगिरहेको झरनाको स्वर ।

यी सबैले मलाई सहरको धुलो र कोलाहलबाट मुक्ति दिएको अनुभव भयो । यो मेरो अनुसन्धानको सुरुवात मात्र थिएन, जीवनको नयाँ अध्याय पनि हुनसक्थ्यो भन्ने मैले त्योबेला सोचेको पनि थिइनँ ।

म काठमाडौंबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरिसकेपछि ग्रामीण पानी स्रोत, जैविक विविधता र स्थानीय जीवनशैलीबारे अध्ययन गर्न यहाँ आएको थिएँ । नोटबुक, क्यामेरा, केही मापन यन्त्र र तीव्र उत्साह– यही मेरो साथ थियो ।

त्यस गाउँको एक होमस्टेमा म बस्न थालेँ । त्यसै होमस्टेमा माया काम गर्थिन् शान्त, सौम्य र आफ्नै संसारमा रमाउने युवती । उनी बिहानै उठेर पाहुनाका लागि चिया पकाउँथिन्, दिउँसो बगैँचामा फूल टिप्थिन् र बेलुका झरनाको छेउमा बसेर चुपचाप पानीको गर्जन सुन्थिन् ।

मेरो पनि त्यही झरनातर्फ जाने बानी प¥यो । पहिलोपटक मैले उनलाई झरनातिर घाँस काट्दै देखेको थिएँ । बिहानको घामले उनको कपाल झल्काएको थियो, अनि उनले मलाई हेरिन्आँखा एकछिन अडिए, त्यसपछि फेरि झुके ।

‘सहरबाट आउनु भएको ?’ उनले सानो स्वरमा सोधिन् ।
‘हो’ मैले भनेँ, ‘यहाँको झरनाबारे अनुसन्धान गर्न आएको हुँ ।’

त्यसपछिका दिनहरू झरना र मायाबीच बित्न थाले । उनी मेरो अध्ययनको सहायक थिइन् भन्नु ठीकै होला तर उनीभन्दा धेरै उनी मेरो दिनको सान्त्वना बनिन् ।
उनले झरनालाई बाँच्ने साथी ठानेकी थिइन् । मलाई बताएकी थिइन्,‘बाल्यकालदेखि यहाँ आइरहन्थेँ । आमाको मृत्यु अघि यै झरनामा पानी चढाउनु भनेर भनेकी थिइन् । त्यसपछि म कहिल्यै टाढा हुन सकिनँ ।’

म उनको आँखामा दुःखको थुनिएको नदी देख्थेँ । माया गहिरो थिइन् शब्दभन्दा, भावभन्दा ।
एक साँझ हामी झरनाको छेउमा बसेका थियौँ । मौनता थियो, हावा चलिरहेको थियो ।

‘तपाईं सधैँ यहाँ बस्नुहुन्छ ?’ उनले सोधिन् ।
‘छोटो समयका लागि आएको हुँ’ मैले उत्तर दिएँ, ‘तर म बारम्बार फर्कन चाहन्छु ।’

त्यसै दिन मैले उनलाई एउटा चित्र देखाएँ । झरनाको तस्विर, जसमा उनी पनि उभिएकी थिइन् । उनले हल्का मुस्कान दिइन् ।
‘यो त हामी दुईको कथाजस्तो लाग्छ’ उनले भनिन् ।

 

समय बित्दै गयो । माया र म प्रगाढ भयौँ । उनी मेरै लागि पर्खिन थालिन्, र म उनको आँखाको मौन आह्वान बुझ्न थालेँ । तर समय क्रूर हुन्छ । मेरो अनुसन्धान सकियो, फर्किनुपर्ने बेला आयो । फर्किनु अगाडि मैले उनलाई भनेँ, ‘म फर्किन्छु, विश्वास गर ।’

 

समय बित्दै गयो । माया र म प्रगाढ भयौँ । उनी मेरै लागि पर्खिन थालिन् र म उनको आँखाको मौन आह्वान बुझ्न थालेँ । तर समय क्रूर हुन्छ । मेरो अनुसन्धान सकियो, फर्किनुपर्ने बेला आयो । फर्किनु अगाडि मैले उनलाई भनेँ, ‘म फर्किन्छु, विश्वास गर ।’
उनले केही नबोली टाउको हल्लाइन् । त्यो मौन सहमतिमा म थिइनँ, तर बाँकी सबै थियो ।

सहर फर्किएपछि केही समय पत्र लेखेँ । तर व्यस्तता, दुविधा अनि सम्भावनाहरूको दबाबमा ती पत्रहरू कम हुँदै गए । म मायालाई भुल्न सकिनँ, तर टाढिएर गएकी थिइन् उनी ।
तर उनी भने त्यही थिइन्–झरनाको छेउमा ।
गाउँका मानिसहरू भन्थे, ‘सहरका मान्छे त बदलिन्छन् ।’ तर माया तिनै छन् । उनले मेरो लागि झरनाको किनारमा आसन जमाइराखेकी थिइन्—आशा र प्रतीक्षामा ।

लगभग दुई वर्षपछि, असार १५ को दिन, म फेरी फर्किएँ । त्यो झरी परेको साँझमा म जब गाउँको झरनातिर लागेँ, झरनाले मलाई चिनेझैं लाग्यो । माया उस्तै थिइन्–उनी अझ सुगन्धित, अझ शान्त थिइन् ।
मैले उनलाई भनेँ, ‘म फर्किएको छु, सधैँका लागि ।’
उनले केही नबोली, मात्र मलाई हेरेकी थिइन् । त्यसै मौनतामा मैले औंठी अघि बढाएँ । उनी मुस्काइन् । त्यो दिन हामी झरनाको छेउमा मात्र उभिएका थिएनौँ, भविष्यको थालनी गर्दै थियौँ ।
हामीले सानो झुप्रो बनायौँ–झरनाको छेउमै । म गाउँमा वातावरण केन्द्र सञ्चालन गर्न थालेँ । माया गाउँकी महिलालाई हस्तकला र आयमूलक सीप सिकाउँथिन् ।

समयको चक्र फेरि घुम्यो ।
‘म गर्भवती छु’ उनले एक दिन भनिन् ।
मैले उनको हात समाएँ, ‘यो झरना अब हाम्रो तीनौँ जीवन सुन्नेछ ।’

हाम्रो छोरी जन्मिइन्, सन्ध्या । उनले आफ्नी आमा जस्तै मौनताबाट भाव बोल्थिन् र म जस्तै झरनाको लयमा रमाउँथिन् । उनी फूल टिप्थिन्, माटो सुँघ्थिन्, र पानीसँग कुरा गर्थिन् ।

सन्ध्या हुर्किइन् । उनले झरनाबाट पढाइ सुरू गरिन्, आमा–बुबाको कदम पछ्याइन् । उनलाई शिक्षाको मोह थियो, तर प्रकृतिप्रतिको जिम्मेवारी पनि ।

‘म पनि तपाईंहरू जस्तै बन्न चाहन्छु’, उनले एक साँझ झरनाको किनारमा भनेकी थिइन् ।
‘हामीजस्तै होइन, अझ अग्लो सपना देख् छोरी’ मैले भनेको थिएँ ।

समय बित्यो । सन्ध्या गाउँकै विद्यालयमा शिक्षिका भइन् । उनले बालबालिकालाई नयाँ ढंगमा पढाउन थालिन्, कक्षा कोठाभन्दा बाहिर, खेतबारी, खोल्सामा, बोटबिरुवाबीच ।

उनले एक दिन हामीसँग भनिन्, ‘तपाईंहरूझैं झरनाको छेउबाट कथा लेख्न चाहन्छु म पनि तर अब त्यो कथा भविष्यको हो ।’
मायाले हाँस्दै भनिन्, ‘हाम्रो प्रेम झरनाको जस्तै हो, शान्त, नरोकिने, तर कहिल्यै दम्भ नगर्ने । सन्ध्या, तिमी त्यसलाई चेतनामा रूप दिँदैछ्यौँ ।’

आज पनि म कहिलेकाहीँ झरनाको छेउमा बस्छु । माया बगैँचामा फूल टिपिरहेकी हुन्छिन् । सन्ध्या स्कुलबाट फर्किएर झरनाको आवाजमा गीत गाइरहेकी हुन्छिन् ।
मलाई लाग्छ, झरना हाम्रो इतिहासको साक्षी हो । हाम्रो प्रेम, संघर्ष, पर्खाइ, र पुनर्मिलनको गीत उसले सधैँ बगाइरहेको छ ।

झरनाको छेउमा तिमी थियौ माया, अनि म थिएँ—र अब हाम्रो छोरी सन्ध्या पनि ।

जीवन झरना जस्तै हो, बगिरहने, बाटो काट्ने तर अन्त्यमा गन्तव्यमा पुग्ने । समयले सन्ध्यालाई हुर्कायो न आत्मामा मात्र, सोच र कर्ममा पनि । उनी अब गाउँकी सबैभन्दा मनपर्ने शिक्षिका थिइन् । उनमा आमाको शान्ति थियो, बुवाको आदर्श । तर ती सबैभन्दा माथि थियो, आफ्नै सोच, आफ्नै सपना ।

उनी बिहानै उठ्थिन्, झरनाको छेउमा पुग्थिन् र त्यहाँ बसेर बालबालिकालाई कविता पढाउँथिन्, वृक्षहरूको कथा सुनाउँथिन् । कहिलेकाहीँ, उनी आफ्नी आमा मायासँग बगैँचामा काम गर्थिन्, त कहिले बुबाको वातावरण केन्द्रमा युवालाई तालिम दिन्थिन् ।
तर सन्ध्याको भित्रैदेखि बलिरहेको चिन्ता, कि झरनाको पानी बिस्तारै सुक्दै थियो ।

उनले देखिन् माथिल्लो डाँडामा बाटो खन्न थालिएको थियो, बिस्तारै जंगल काटिन थालेका थिए । मानिसहरू पानीका स्रोत उपयोग गर्न थालेका थिए, तर पुनःभरणबारे चासो थिएन । झरनाले उस्तै स्वर निकाल्थ्यो, तर सन्ध्याले सुनिन् त्यो स्वरमा थकान मिसिएको थियो ।
‘बाबा, हामीले केही गर्नुपर्छ’ उनले एक साँझ भनेकी थिइन् ।
मैले उजलाई हेरेँ, ‘सन्ध्या, झरनाले तिमीलाई बोलायो जस्तो लाग्छ ?’
‘हो, बाबा’ उनले दृढ आवाजमा भनिन्, ‘झरना रोइरहेछ । हामीले सुन्नु जरुरी छ ।’

त्यही रात उनी गाउँका युवाहरूको एउटा भेला बोलाइन् । विद्यालयका छात्रा–छात्र, किसान, महिला समूह—सबैलाई बोलाइन् । उनले चित्र देखाइन्, पानीको सतहका तथ्यांक प्रस्तुत गरिन्, अनि आफ्नै बाल्यकालका सम्झना सुनाइन् ।
‘यो झरना केवल पानीको धारा होइन’ उनले भनिन्, ‘यो हाम्रो प्रेमको साक्षी हो, हाम्रो संस्कृतिको आधार हो । यदि हामीले आज केही गरेनौँ भने भोलिको पुस्ताले केवल कथा मात्र पढ्नेछ–झरनाको, हामीजस्तै मानिसहरूको ।’

उनीहरू सक्रिय भए । युवाहरूले पानीका मुहान खोज्न थाले, नयाँ रेखा तान्न थाले । सन्ध्याले स्कुलका बच्चाहरूलाई झरनाको संरक्षणबारे चित्र बनाउने, नाटक खेल्ने, गीत लेख्ने प्रेरणा दिइन् ।
माया गर्वले मुस्काइन् । ‘छोरीले हामीले रोपेको बीउ स्याहार्दैछे ।’

एक दिन, सन्ध्या जिल्ला कार्यालय पुगिन्–अधिकार माग्न, सहयोग खोज्न । उनले भन्न सकिन्, तथ्य दिइन्, उदाहरण सुनाइन् ।

उनको नाउँ ‘झरना संरक्षण अभियन्ता’को रूपमा फैलिन थाल्यो । पत्रकारहरू आए, कहिल्यै भाषण नगरेकी महिला आमालाई बोल्न लगाए । माया बोलिन् ‘हामीले झरनाबाट प्रेम पायौँ, मेरी छोरी झरनालाई जीवन दिइरहेकी छ ।’

एक वर्षपछि झरनाको पानी पुनः बढ्न थाल्यो । संरक्षण अभियानले जंगलको पुनःरोपण ग¥यो, जल पुनःभरण संरचना निर्माण गरियो ।

त्यही बेलामा सन्ध्याको जीवनमा कोही नयाँ आइपुगे,आदित्य । उनी जल सम्पदामा स्नातकोत्तर गर्दै गाउँमा अनुसन्धान गर्न आएका थिए । सुरुमा त सन्ध्या उनको कुरामा गम्भीर थिइनन्, तर आदित्यको सादगी, लगनशीलता, अनि प्रकृतिप्रतिको सम्मानले उनलाई प्रभावित ग यो ।

‘झरना तिमीहरूको मात्र होइन रहेछ, मलाई पनि बोलाइरहेछ’ आदित्यले भनेका थिए ।
प्रेम फेरि झरनाको छेउबाटै सुरु भयो, बुबा–आमाको कथा दोहोरियो, तर नयाँ स्वाद र चेतनासहित ।

एक साँझ, सन्ध्याले आमाबुबाको अनुहार हेरिन् र भनिन्, ‘झरनाले हामीलाई फेरि जीवन दिएको छ । अब यो हाम्रो जिम्मेवारी हो, यसको लय कहिल्यै रोकिँदैन भनेर सुनिश्चित गर्ने ।’
आज पनि झरना बगिरहेछ तर अब त्यसको बग्ने लयमा सन्ध्याको चेतना मिसिएको छ, युवा पुस्ताको प्रयास मिसिएको छ, र भविष्यको भरोसा मिसिएको छ ।

–सिर्जना पोखरेल

प्रकाशित मितिः   २१ असार २०८२, शनिबार ०८:५०